मानवसेवालाई दीपकले दिए साढे ५ लाख

समाधान संवाददाता २०७९ मंसिर १६ गते १२:३८

पोखरा ।
पोखराका युवा व्यवसायी दीपक कार्की मानवीय सेवामा पनि उत्तिकै सक्रिय छन् । सिटिजन फर्निचरका सञ्चालक कार्कीले स्थापना कालदेखि मानवसेवा आश्रमका लागि तन, मन, धनले सहयोग गर्दै आएका छन् ।

उनले यस पटक आश्रमको १ कोठा निर्माणका लागि ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका छन् । मानवता प्रवद्र्धन अभियानमा समेत सक्रिय कार्की जन्मदिन होस् या देउसी भैलो आश्रमका हरेक कार्यक्रममा सरिक हुने र सहयोग गर्नै गर्छन् । ‘आश्रमले जुन काम गरिरहेको छ, त्यो हामी कसैले चाहेर पनि गर्न सक्दैन, उहाँहरुको अभियानमा बाहिरबाट सहयोगमात्रै गर्न सक्छौं,’ उनले भने ।

परोपकारी व्यक्तित्वको साथ र सहयोगले पोखराको आश्रम सेवा सञ्चालनमा सहयोग पुगेको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिना बताउँछन् । पोखरा महानगरपालिका २५ हेमजाको बाबियातरामा आश्रमले १० करोडको लागतमा आश्रमको भवन निर्माण थालेको छ ।

Advertisement

सोही भवन निर्माणमा आर्थिक सहयोग जुटाउनुका साथै मानवता प्रवद्र्धन गर्ने उद्देश्यले आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आउँदो पुस १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य लाइभ कन्सर्ट पनि गर्दै छ ।

कन्सर्टका लागि टिकट बिक्री जारी रहेको र सहप्रयोजक तथा प्रायोजकका लागि इच्छा व्यक्त गर्ने संघसंस्थासँग छलफल चलिरहेको आश्रमले जनाएको छ । मानव सेवा आश्रमले यस पटक मानवता प्रवद्र्धनका साथै सहयोगापेक्षी सडक मानवका लागि दीगो आर्थिक व्यवस्थापन गर्न अक्षयकोष निर्माणको लक्ष्यसहित देशका प्रमुख १० सहरमा उक्त कन्सर्ट गर्दै छ ।

Advertisement

कन्सर्टको पहिलो कार्यक्रम शुक्रबार विराटनगरबाट सुरु हुँदै छ । महिनाव्यापी संगीत याताको अभियानअन्तर्गत मंसिर १९ गते वीरगञ्जको आदर्शनगर रंगशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रंगशालामा हुनेछ ।

पुस ३ गते धनगढी रंगशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा १६ गते काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया