माओवादीः सच्चिने कि सिद्धिने ?

रामराज रेग्मी २०७९ मंसिर १६ गते १३:४६

यतिखेर यो लेख लेख्न बस्दा प्रतिनिधिसभा र प्रदेशसभाको झण्डै ९० प्रतिसत मत परिणाम प्राप्त भइसकेको छ । हालसम्मको परिणामलाई हेर्दा यस पटकको निर्वाचनमा गठबन्धनका दुई सहयात्री वाम दल नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकिृत समाजवादी) लाई ठूलो धक्का लागेको छ ।

विगतको राष्ट्रिय निर्वाचनमा ३६ सिट ल्याएको माओवादी अहिले त्यसको आधामा खुम्चिएको छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टीको सूचीमा आउन धौ धौ परेको छ । विशेष गरी नेकपा (माओवादी केन्द्र) प्रतिको धक्का आफू संलग्न भएको पार्टीको नाताले मेरो निम्ति बढी चिन्ताको विषय हुनु स्वभाविक हो ।

म व्यक्तिगत रुपमा पार्टी कार्यकर्ता र नेताहरूलाई निर्वाचनको गम्भीर समीक्षा गरी निर्वाचनका क्रममा भएका कमी, कमजोरी हटाएरअघि बढ्न अनुरोध गर्दछु । हुन त पार्टीले प्रत्येक घटनामा समीक्षा गर्ने गरेको छ । तर मेरो अनुभूतिमा अहिलेसम्मका समीक्षाहरू केवल समीक्षाका लागि मात्र गरिएका छन्, सच्चिनका लागि गरिएजस्तो लाग्दैन ।

Advertisement

गल्ती भएछ भन्ने तर गल्ती नसपार्ने एक किसिमको रोग पार्टीलाई लागेको छ । अब यो अवस्था कुनै हालतमा दोहोरिन हुन्न । कि हामी सच्चिनु पर्दछ, कि सत्यानासको बाटो रोज्नु पर्दछ, हाम्रा सामु यी दुईभन्दा अरू विकल्प छँदा पनि छैनन् ।

अहिलेसम्मका समीक्षाहरू केवल समीक्षाका लागि मात्र गरिएका छन्, सच्चिनका लागि गरिएजस्तो लाग्दैन

Advertisement

निर्वाचनका सवालमा हामी कहाँनेर चुक्यौँ त ? मेरो विचारमा हामी धेरै ठाउँमा चुकेका छौँ । हामीले निर्वाचनपूर्वका गल्ती पनि केलाउनु पर्दछ । शृङलाबद्ध धेरै घटनाको परिणाम कुनै एक घटनापछि विस्फोटन हुन सक्छ । पहिलो चुकाइ त पार्टी जनताबाट टाढा हुनु नै हो । माओवादी नाम पार्टीले भिरेको छ, तर वास्तविक जनाधार मजदूर, किसान र उत्पीडित दलित समुदायबीच पार्टी छैन । यो यथार्थ तस्वीर हो ।

गाउँमै जन्मे हुर्केका अत्यधिक नेता आज गाउँमा छैनन्, कि तिनीहरू जिल्लाका सदरमुकाममा छन् कि राजधानीमा केन्द्रित छन् । गाउँमा त केवल भोट माग्ने समयमा मात्र पुग्ने गरिएको छ । जति पार्टी सदस्य छन्, त्यतिभन्दा भोट नआउनुको मतलव जनताबाट नपत्याइनु हो ।

दोस्रो हामी चुकेको ठाउँ संगठन निर्माणमा हो । पार्टीले केही समयअघि राजधानीमा महाधिवेशन गरी नेतृत्व चुन्यो । तर उक्त कार्य केवल निर्वाचन आयोगबाट पार्टीलाई नवीकरण गर्ने कार्यमा मात्र सीमित भयो ।

अध्यक्षको चयनपछि लामो समयसम्म पार्टीका माथिल्लो तहका कमिटीहरू स्थायी समिति, पोलिटब्युरो, विभागहरू जनवर्गीय संगठनहरू बनाइएन । पार्टीका अध्यक्षपछिका पदहरूमा आकांक्षी धेरै भए भनी पार्टी केही समयसम्म अनिर्णयको बन्दी बन्यो र आखिरमा एउटा पदमा धेरै जनालाई राखेर केवल औपचारिकता पूरा गरियो ।

धेरै बिराला एक ठाउँमा जम्मा भएपछि मुसा मार्न सक्ने सवाल थिएन । यो रोग तलका कमिटीहरूमा पनि देखियो । निर्वाचन आयोगले निर्वाचनको घोषणा गरिसक्दा पनि स्थानीय तहका कमिटीहरूले पूर्णता पाइनसकेको अवस्था रह्यो । यसरी माओवादी केन्द्र संगठन निर्माण गर्ने कार्यमा उल्झनमा फँस्दा जनताका बीचमा प्रचारप्रसारका कामहरू हुन सकेनन् । चुनाव जित्नका लागि त्यसलाई जिल्ला र गाउँ हाँक्ने बलियो पार्टी निर्माण गर्न सकिएन ।

तेस्रो हामी चुकेको गठबन्धन सरकारमा छँदा संसदबाट एमसिसीलाई पारित गराउने विषय हो । सुरुमा त पार्टीले अडान पनि लियो र आपत्तिजनक बुँदाहरू नसच्याई कुनै हालमा पनि एमसिसि पारित गरिन्न भनी अङ्डी पनि लियो ।

तर जब अमेरिकी दबाबबाट शेरबहादुर देउवा जसरी पनि पारित गर्न भनी अघि सरे, तब नेकपा (माओवादी केन्द्र) को नेतृत्वले पनि अडान लिन सकेन । आखिर साम्राज्यवादी दबाबलाई सामना गर्न नसकी जनता र कार्यकर्तालाई १२ बुँदे सङ्कल्प प्रस्तावको लालीपप देखाएर पारित गरियो ।

प्रमुख विषय पारित भइसकेपछि तपसिलका बेहोराको कुनै अर्थ रहँदैनथ्यो । स्थायी समितिको बैठकमा एमसिसीको सवालमा फरक मत राखिएकोमा स्थानीय निर्वाचनपछि समीक्षा गर्ने भनियो, तर न त नेतृत्वले त्यसबारे एजेन्डा राख्यो, न त फरक मत राख्नेले त्यसको खोजी नै गरे । त्यतिमात्र होइन, एमसिसीको विपक्षमा आवाज उठाउने केही हस्तीलाई निर्वाचनमा टिकट दिनबाट समेत बन्चित गरियो अथवा टिकट दिए पनि बलियो प्रतिद्वन्दी भएका ठाउँमा दिइयो ।

एमसिसीका साथै देशको राष्ट्रियतामा सिधै घात पुग्ने खालको नागरिकता विधेयक पारित गर्ने कार्यमा माओवादी सांसदहरू कस्सिएर लागे । विदेशी हस्तक्षेपको विरोध गर्ने कार्यमा माओवादीले जुन छवि कायम गरेको थियो, त्यसमा एमसिसी र नागरिकता विधेयकका कारण दाग लाग्दा देशप्रेमी जनता चिढिनु स्वभाविक हो । राष्ट्रवादी नागरिकको भोट यस कारणले पनि गठबन्धनका वाम दलहरूले पाउन सकेनन् ।

निर्वाचनमा माओवादीले धक्का खानुको चौथो तर महत्वपूर्ण कारण नेपाली कांग्रेससँगको चुनावी गठबन्धन हो । निश्चय नै ओलीले संविधानमा अधिकार नहुँदा नहुँदै आफ्नो पक्षको राष्ट्रपति छ भनेर संसद बिघटन गरेर इतिहासमा अक्षम्य अपराध गरे ।

उनले एक पटकमात्र होइन, दुई दुई पटकसम्म पनि जानाजान संविधानमाथि हस्तक्षेप गरे । उनको सिंगो पार्टीसमेत उनले गरेको काममा सती गयो । त्यसका विरुद्ध गठबन्धन कायम गर्नु र अदालतमा जानु स्वभाविक थियो । गठबन्धन सरकारमा जाने कार्यलाई पनि स्वभाविक नै मान्नु पर्छ ।

तर निर्वाचनको सवालमा गठबन्धन गर्नु कुनै हालतमा उपयुक्त थिएन । नेपाली कंग्रेस र नेकपा (माओवादी केन्द्र) बिलकुल फरक सिद्धान्त र दृष्टिकोणमा आधारित दल हुन् । विचारका आधारमा चुनावमा गइन्छ र जनताले पनि विचार बुझेर मत हाल्छन् । आआफ्ना प्रतिवद्धतापत्र आउनुको कारण यही हो ।

तर सँगै गठबन्धन गरेर जाँदा जनताले जितेमा कुन प्रतिवद्धता पत्र अनुसार काम गछौँ भनी प्रश्न गरे । तिनीहरूको प्रश्न जायज थियो र त्यसमा चित्तबुझ्दो जवाफ दिन सकिएन र दिने ठाउँ पनि थिएन । नेपाली कांग्रेस शान्तिवार्ता र संविधान निर्माणको सहयात्री भएकाले संविधानको रक्षाका खातिर गठबन्धन उपयुक्त छ भन्ने तर्क माओवादी नेतृत्वले अघि सार्‍यो । तर गिरिजाको भूमिका जे थियो त्यही भूमिका शेरबहादुरको हुन्छ भन्ने हुँदैन ।

ओलीले संसद बिघटन गर्दा सुरुमा देउवा निर्वाचनको पक्षमा थिए । उनी ओलीकै कित्तामा उभिएर संसद विघटन सही छ भन्नसम्म पुगेका थिए । तर पछि रामचन्द्र लगायतले सम्झाएपछि जब प्रधानमन्त्री हुने सम्भावना देखे, तब नै संसद बिघटनको विपक्षमा उभिएका हुन् ।

स्पष्ट छ, उनले ओलीका गलत कार्यको विरोध सत्ताको लोभका कारणले मात्र गरेका हुन् । निर्वाचन हुनुभन्दा अघि नेकपा (माओवादी केन्द्र) का कतिपय कार्यकर्ताले विजातीय गठबन्धनमा जान हुँदैन भनी सुझाव दिएका थिए । तर त्यसमा सुनुवाइ भएन । आखिर परिणाम जे हुन्छ भनी सोचिएको थियो, त्यही भयो ।

नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेसभित्र गठबन्धनको सवालमा अन्तर्विरोध छ भन्ने कुरालाई नजरअन्दाज गर्‍यो । नेपाली कांग्रेसको गगन–शेखर पक्ष एक्लै निर्वाचन लड्नुपर्छ भनी पार्टीमा लडिरहेको थियो । नेपाली काङग्रेसभित्रको अन्तर्विरोध सतहमा छरपष्ट भएर उत्रिएको थियो । तर माओवादी नेतृत्व त्यसमा गम्भीर भएन र नेपाली कांग्रेससँग गठबन्धन गरेपछि काङ्ग्रेसहरू एकमत भएर मत दिन्छन् भनी विश्वास गर्‍यो । यो गम्भीर भूल थियो ।

निश्चय नै निर्वाचनमा माओवादीका सोझा कार्यकर्ता इमान्दार देखिए र मत हालेर नेपाली काङ्ग्रेसलाई जिताए पनि । नेपाली काङ्ग्रेस माओवादीकै काँधमा टेकेर रुख चढ्यो । तर त्यसका केही नेता र कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) का उमेद्वारलाई मत दिएनन् । प्राय जसो ठाउँमा घण्टीमा हाले, केही ठाउँमा हलोमा हाले त कहीँ सूर्य चिन्हमा पनि मत हाले ।

जुन रवि लामिछानेको दल छ, त्यससँग गगन थापा समूहको साँठगाँठ पनि देखियो । रविले सुरुमा काठमाडौँको जुन क्षेत्रबाट उम्मेद्वारी दिन्छु भनेका थिए, त्यहाँ गगन उठ्ने भनेपछि उनी चितवन गए । काठमाडौँका सबै निर्वाचन क्षेत्रमा उमेद्वारी दिने रविको पार्टीले आखिर गगन उठेको क्षेत्रमा मैदान खाली गरिदियो । कुरा प्रष्ट छ, रविको घण्टीको उभार ल्याइदिने र माओवादी ताछ्ने त्यही कांग्रेसको गगन समूह हो ।

उखानै छ, बुढी मरी भनेर नरुनू, काल पल्कियो भनी रुनू । अब यी घटनाबाट माओवादी पार्टीले पाठ सिक्न जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरो पार्टीको जग निर्माण गर्नु हो । पार्टीले त्यस कार्यलाई बढी महत्व दिनु पर्दछ ।

सरकारमा सहभागी हुने सम्बन्धमा अहिलेको निर्वाचनको परिणाम हेर्दा वाम एकतामा जोड दिनु आवश्यक छ । निर्वाचनको तीतो परिणाम आखिर एमालेले पनि भोगेको छ । साख जोगाए पनि त्यसका धेरैजसो हस्ती पल्टिएका छन् । राजनीतिमा प्रतिशोधभन्दा पनि आफ्नो शक्ति कसरी बलियो बनाउन सकिन्छ भनी सोच्नु पर्दछ ।

तपाईको प्रतिक्रिया