पहिलो प्रयासमै सफलता

समाधान संवाददाता २०७९ मंसिर १८ गते १०:४१

पोखरा ।
धेरै पटक मन्त्री भइसकेका गोपालमान श्रेष्ठको नेपाली कांग्रेस स्याङ्जामा लामो समय दबदबा रहिरह्यो । कांग्रेसभित्र जिल्लामा कसलाई जिताउनेदेखि संसदीय निर्वाचनमा टिकट कसलाई दिने भन्नेसम्मको निर्णयमा नेता श्रेष्ठ हावी हुन्थ्ये । २०४८ मा भएको निर्वाचनमा उनी पहिलो पटक स्याङ्जा १ बाट निर्वाचित भए ।

२०७० को निर्वाचनमा समानुपातिक सांसद बनेका श्रेष्ठले २०७४ मा भने पराजय भोगे । उनलाई नेकपा एमालेकी सचिव पद्मा अर्यालले करिब ४ हजार मतान्तरले पराजित गरिन् । अर्यालले ३५ हजार १ सय ४२ मत पाउँदा श्रेष्ठले ३१ हजार ४ सय ३६ मत ल्याएका थिए ।

अर्यालसँग पराजित भएका श्रेष्ठ पछिल्लो समय जिल्लाकै नेताबाट पत्याइन छोडे । १४ औं महाधिवेशनबाट केन्द्रमा संस्थापन पक्ष निकट रहेका राजु थापा जिल्ला सभापतिमा निर्वाचित भए । यो परिणम श्रेष्ठ अनुकूल थिएन । जिल्लाको नेतृत्व नै आफू अनुकूल नदेखेपछि श्रेष्ठले प्रत्यक्ष निर्वाचन लड्ने इच्छा देखाएनन् । समानुपातिक सूचीमा बसे ।

Advertisement

यसले कांग्रेसका उपसभापति धनराज गुरुङको बाटो खुल्यो । उपसभापतिमा धमकेदार उपस्थिति जनाएका धनराजको गृह क्षेत्र हो स्याङ्जा १ । जहाँबाट भए पनि उठ्न चाहन्थे उनी । तर क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष राजु थापाले टिकट पाउँदा र स्याङ्जा २ बाट चुनाव लडेका गोपालमान श्रेष्ठ समानुपातिकमा बस्दा धनराजले स्याङ्जा २ बाट टिकट पाए ।

पहिलो पटक टिकट पाएका धनराज पहिलो पटकमै सफल बनेका छन् । उनले एमालेकी सचिव पद्या अर्याललाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा अर्यालले भने २५ हजार ८ सय ३९ मत पाएकी छन् ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् । उपसभापति पदमा निर्वाचित भएपछि उनलाई स्याङ्जामा प्रत्यक्ष चुनाव लड्न पार्टीले सिफारिस गरेको थियो । गुरुङ क्षेत्र नम्बर १ का भए पनि पार्टीले २ बाट उठाएको हो ।

अर्यालको भने यससहित तेस्रो प्रतिस्पर्धा हो । यसअघि २०७४ मा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेकी अर्यालले तत्कालीन उपप्रधान एवं शिक्षामन्त्री नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी थिइन् ।

पूर्वमन्त्रीसमेत रहेकी अर्याल २०७४ अघि समानुपातिक सांसद भइसकेकी छन् । स्याङ्जा–२ मा मतदान भएको १० दिनपछि मतगणना भएको थियो । अब गण्डकी प्रदेशमा मतगणना सम्पन्न भई चुनावी परिणम सार्वजनिक भइसकेको छ ।

विजयी भएका धनराज केही समयदेखि भ्रष्टाचारको विरोधमा खरो रूपमा उत्रिने गरेका छन् । आदर्श र मूल्यका कुरा गरिरहने धनराजले अघिल्ला निर्वाचनमा प्रत्यक्ष चुनाव भने लड्ने अवसर पाएका थिएनन् । २०६४ र २०७० मा समानुपातिक सांसद बनेका धनराज जहिल्यै पूर्वमन्त्री श्रेष्ठको छाँयामा पर्दथे ।

स्याङ्जाको अर्जुन चौपारीमा २०२२ सालमा जन्मिएका गुुरुङ १४ वर्षकै उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् । उनी १६ वर्षको उमेरमा नेविसंघ इकाइ सभापति भए । २०४० सालमा नेविसंघ स्याङ्जा जिल्ला सचिव बने । २०४८ सालमा नेविसंघको केन्द्रीय उपसभापतिमा निर्वाचित भए । सोही वर्ष पार्टीको महाधिवेशन प्रतिनिधि पनि भए ।

२०५३ सालमा नेविसंघको केन्द्रीय सभापति र २०५४ मा नेपाल तरुण दलको महासचिव बने । पार्टीको १२ औं र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका धनराज १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापति चुनिएका हुन् ।

प्रदेश १ मा कांग्रेसका भोजराज अर्याल निर्वाचित भइसकेका छन् । अर्यालले नेकपा एमालेका उम्मेदवार मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् । अर्याल २ हजार ७ सय ३० मतान्तरले विजयी भएका हुन् ।

अर्यालले १५ हजार १ सय ६१ र रेग्मीले १२ हजार ४ सय ३१ मत प्राप्त गरे । प्रदेशसभा २ मा पनि कांग्रेसकै महेश भट्टराई विजयी भएका छन् । भट्टराईले एमालेका बुद्धिमान श्रेष्ठलाई हराएका हुन् । भट्टराईले १८ हजार ८ सय ८ मत पाउँदा श्रेष्ठले १६ हजार ९ सय ९९ मत पाएका छन् ।

चापाकोटमा ‘बुथ क्याप्चर’को झल्को
स्याङ्जा २ मा मत गणना सकिएको छ । जसमा चापाकोट नगरपालिका वडा नम्बर ३ को मत गणना सकिँदा मत रोचक देखियो ।यो वडामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १ हजार ४ सय २६ मत पाएका छन् । प्रदेश सभातर्फ पनि सो वडाबाट कांग्रेसका उम्मेदवार महेश भट्टराईले १ हजार ४ सय २६ मत नै पाएका छन् ।

एमालेकी पद्मा अर्यालले १ सय ३ मत पाएकी छन् । प्रदेश सभातर्फ एमालेका बुद्धिमान श्रेष्ठले पद्माकै बराबरी पाएका छन् । यो वडामा कांग्रेसका उम्मेदवार एमाले उम्मेदवारभन्दा १ हजार ३ सय २३ मतले अगाडि रहे ।

चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ मा बुथ क्याप्चर भएको भन्दै एमालेले पुनः मतदान माग गरे पनि निर्वाचन आयोगले पुनः मतदान नगर्ने निर्णय गरेको थियो । तर मत परिणामले ‘बुथ क्याप्चर’को झल्को दिएको छ ।

तपाईको प्रतिक्रिया