सम्पादकीयः फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोज

समाधान संवाददाता २०७९ मंसिर १८ गते ११:५६

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भइसकको छ । आउँदो पुस १७ गते अर्थात् अंग्रेजी नयाँ वर्षबाट विमानस्थलबाट नियमित उडान सुरु गर्ने तयारी नागरिक उड्डयन प्राधिकरणले गरेको छ । नियमित उडानका लागि अझै केही समस्या सल्झाउन बाँकी छ । त्योमध्येको एक हो, ल्यान्डफिल्ड साइट ।

पोखरा महानगरपालिका १४ बाच्छेबुडुवामा रहेको ल्यान्डफिल्ड साइट विमानस्थल सञ्चालनको बाधक हुने विमानस्थल प्राविधिक टिमले निष्कर्ष निकालिसकेको छ । सोही बमोजिम विमानस्थलले पोखरा महानगरपालिकालाई ल्यान्डफिल्ट साइट सार्न निर्देशन दिइसकेको छ ।

महानगरपालिकाले आइतबारदेखि सो ठाउँमा फोहोर नफाल्ने पत्र विमानस्थल प्रशासनलाई पठाइसकेको छ । यससँगै महानगरलाई फोहोर व्यवस्थापनका लागि नयाँ चुनौती खडा भएको छ । तर त्यो चुनौतीमात्रै होइन नयाँ प्रविधि प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने अवसर पनि हो ।

Advertisement

विकसित देशहरुमा फोहोरलाई प्रयोग गरी ग्यास उत्पादन गर्ने, मल उत्पादन गर्ने खालका प्रविधि विकास भइसकेका छन् । विकसित देशले फोहोर व्यवस्थापनका सम्बन्धमा अवलम्बन गर्दै आएका प्रविधिलाई पनि लागु गर्नेतर्फ सोच्ने मौका महानगरलाई छ । महानगरपालिकाका धनराज आचार्य सहितको टोली भारत, धरान लगायतका ठाउँमा पुगेर आधुनिक फोहोर व्यवस्थापनका बारेमा अनुगमन गरिसकेको छ ।

आधुनिक फोहोर व्यवस्थापन गर्न सक्ने ग्यास र मलसमेत उत्पादन हुने गरी प्लान्ट ल्याउने तयारी महानगरले गरेको जनाएको छ । फोहोर व्यवस्थापनका लागि नेपालमै नयाँनयाँ प्रविधिको विकास भइसकेको छ ।

Advertisement

धरान उपमहानगरपालिकामा फोहोरबाट ग्यास निकाल्ने प्रविधिको प्रयोग भइसकेको छ । जसको पोखरा महानगरपालिकासहितको टोलीले अनुगमन गरेको थियो । साथै अन्य ठाउँमा पनि फोहोर व्यवस्थापनका लागि सहज प्रविधिको प्रयोग हुँदै आइरहेको छ ।

निजी क्षेत्र, सामाजिक संघ संस्था लगायत सरोकारवालासँगको समन्वयमा फोहोर व्यवस्थापनमा पोखरा महानगरपालिकाले पनि नयाँ प्रविधि अपनाउनुपर्छ । वर्गीकरणको व्यवस्था गर्न सके फोहोर मैलालाई मुहानमा नै व्यवस्थापन गर्न सकिन्छ । कुहिने फोहोरबाट प्रांगारिक मल बनाउन सकेमा नकुहिने थोरै फोहोरमैलाको व्यवस्थापन गर्न सहज हुन्छ ।

फोहोर व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोग गर्दा मल उत्पादन गर्न र रिसाइकल गर्न मद्दत पुग्नुका साथै कुहिने फोहोरबाट मल उत्पादन गरे तरकारी खेती तथा कौसीखेतीका लागि उपयोगी हुन्छ र वातावरण पनि दुर्गन्धित हुन पाउँदैन ।

कुहिने वस्तुबाट ग्यास निकालेर प्लास्टिक जन्य वस्तुको रिसाइकलिङ गर्ने प्लान्टसहितको मेसिन प्रयोग गर्न तर्फ महानगर लाग्नुपर्छ । फोहोर व्यवस्थापनमा नयाँ प्रविधिले मात्र पुग्ने छैन । फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधिको विकाससँगै प्रवृत्तिमा सुधार पनि अत्यावश्यक छ । यसतर्फ पनि महानगरपालिकाले ध्यान दिन जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया