प्रदेश खेलकुद परिषदमा अभिमुखीकरण

समाधान संवाददाता २०७९ मंसिर १८ गते १७:३१

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीमा एक दिने अभिमुखीकरण तालिम भएको छ । प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीलाई लक्ष्य गरी तालिम आयोजना गरिएको हो ।

तालिममा जिल्ला जिल्लामा खेलकुदको सक्रियता र चलायमान बनाउनेसँगै नवौंमा प्राप्त सफलताले खेलाडीमा नयाँ जागरण आएको सहभागीले बताएका छन् । प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिए ।

खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने विचार राखे । जिल्ला खेलकुदहरुको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमात्र खेलकुदको जग बलियो बन्ने उनको भनाइ छ ।

Advertisement

प्रदेश खेलकुदका कार्यकारी सदस्य दिलबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले प्राप्त गरेको सफलताले गौरवको अनुभूति भएको उल्लेख गरे । परिषदका लेखा प्रमुख नीलकण्ठ ढकालले जिन्सी र लेखा प्रणालीलाई व्यवस्थित बनाउन तरिकाबारे प्रकाश पारे ।

परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई आइतबार पोखरा रंगशालामा नगदसहित सम्मान गर्ने भएको छ । एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिनेछ । टिमतर्फ स्वर्ण पदक विजेतालाई जनही नगद ९ हजार। रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार प्रदान गरिनेछ ।

Advertisement

स्वर्ण, रजत र काश्य पदक विजेताका प्रशिक्षकलाई क्रमश १०, ८ र ६ हजार रव्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिनेछ । खेल संघहरुलाई भने क्रमश ४०, ३० र २० हजार प्रदान गरिने भएको छ ।

गण्डकी प्रदेशबाट पदक विजेतामध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने ७२ जना, रजत पदक विजेता ९२ जना र कास्य पदक विजेता १ सय ६० गरी ३ सय २४ जना सम्मानित हुन लागेका हुन् ।

खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेल संघसमेत नगदसहित सम्मानित हुनेछन् । नवौं राष्ट्रियमा रेकर्ड ब्रेक गर्ने आर्चरीका जागृत गुरुङलाई थप नगद १० हजारसहित सम्मान गरिनेछ ।

तपाईको प्रतिक्रिया