गण्डकीमा कांग्रेस ०७४ भन्दा तेब्बर सिटमा विजयी

सञ्जय रानाभाट २०७९ मंसिर १९ गते १०:४९

सञ्जय रानाभाट, पोखरा ।
गण्डकीमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेशसभाको सबै मत परिणाम सार्वजनिक भइसकेको छ । गण्डकीमा कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ सिट जितेर पहिलो दल बन्न सफल भएको छ ।

Advertisement

प्रतिनिधिसभा तर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा कांग्रेसले ०७४ भन्दा तेब्बर सिट जितेको हो । ०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ र गण्डकी प्रदेशसभातर्फ ६ सिट जितेको थियो । यस पटक कांग्रेसले प्रतिनिधिसभामा दश गुणा र प्रदेश सभामा तेब्बर सिट सुरक्षित राख्न सफल भएको हो ।

पहिला ६ सिट जितेको कांग्रेसले यसपालि प्रदेश सभाका १८ सिट जितेको छ

कांग्रेसले एमाले किल्ला भत्काउँदै धेरै ठाउँमा जित हात पारेको छ । गठबन्धनमा सामेल नेकपा माओवादी केन्द्रले भने विगतको सिट गुमाएको छ । समग्रमा गठबन्धनको फाइदा कांग्रेसलाई भएको देखिन्छ ।

कांग्रेसले ०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष ६ र समानुपातिबाट ९ गरी १५ सिट जितेको थियो । कांग्रेसले अहिले निकै बलियो उपस्थिति बनाएको छ । अहिले प्रत्यक्षमै १८ जितिसकेको छ भने समानुपातिकतर्फ एमालेले भन्दा केही हजार कम मत पाएर दोस्रो स्थानमा छ ।

Advertisement

यो हिसाबले समानुपातिकतर्फ एमाले र कांग्रेसको १ सिटको तलमाथि पर्न सक्ने देखिन्छ । समानुपातिकमा कांग्रेसले ९ सिट पाउने नेताहरु बताउँछन् । कांग्रेस नेताहरुले भने झै समानुपातिकमा ९ सिट पाए ०७४ सालमा एमाले जत्रो दल बन्न कांग्रेस सफल भएको हुन्छ । ०७४ सालको निर्वाचनबाट गण्डकीमा एमालेका २७ सांसद थिए ।

प्रदेशसभाका २ सिटबाहेक सबै क्षेत्रमा उम्मेदवारी दिएको एमाले समानुपातिकमा पहिलो देखिए पनि विगतका धेरै सिट गुमायो । ०७४ सालमा एमालेले प्रतिनिधिसभा सभा तर्फ १४ र प्रदेशसभातर्फ १७ ठाउँमा निर्वाचन जितेको थियो ।

०७४ सालमा बहुमत नजिक पुगेको नेकपा एमाले यस पटक खम्चिएको छ । निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभातर्फ एमाले ५ र प्रदेशसभातर्फ १२ सिटमा खुम्चिएको हो । समानुपातिकतर्फ भने एमाले संघ र प्रदेशसभा दुवैतिर पहिलो नम्बरमा छ ।

एमाले नेताहरु गण्डकीमा यस पटक समानुपातिकमा १० सिट पाउने दाबी गर्छन् । यद्यपि समानुपातिकको मतगणना अझै जारी छ । समानुपातिकमा १० सिट पाए एमाले २२ सिटमा खुम्चिनेछ ।

०७४ मा वाम तालमेल गर्दा माओवादीले प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभातर्फ ९ सिट जितेको थियो । समानुपातिकको ३ सिट गरेर माओवादीले १२ सिट जितेको थियो । तर, यसपालि प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ५ सिटमात्र जितेको छ । समानुपातिकमा माओवादीले ३ सिट पाउन सक्ने नेताहरु बताउँछन् । यसो गर्दा माओवादीको गण्डकीमा ८ सिट पुग्नेछ ।

यस्तै, गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ बाट विजयी भएका छन् भने मनाङ २ बाट स्वतन्त्र सांसद दीपक मनाङे निर्वाचित भएका छन् । गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी भने प्रदेशमा निल भएको छ । प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ नवलपुर १ (२) मा उम्मेदवारी दिएको एकीकृत समाजवादीले दुवै सिटमा गुमाएको हो ।

०७४ सालमा राष्ट्रिय जनमोर्चाका गण्डकीमा प्रत्यक्ष २ र १ समानुपातिक गरेर ३ सांसद थिए । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिले प्रत्यक्ष १ र समानुपातिक १ गरेर २ सांसद जितेको थियो । मनाङ २ बाट स्वतन्त्र दीपक मनाङे नै प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

कांग्रेसले जितेका प्रदेश निर्वाचन क्षेत्र
१ बिन्दुकुमार थापा कास्की २ (२)
२ प्रकाश बराल कास्की ३ (२)
३ जितप्रकाश आले तनहुँ २ (२)
४ अशोक श्रेष्ठ तनहुँ १ (१)
५ नन्दप्रसाद न्यौपाने गोरखा १ (२)
६ भेषबहादुर पौडेल लमजुङ (२)
७ टकराज गुरुङ लमजुङ (१)
८ सुरेन्द्रराज पाण्डे गोरखा २ (२)
९ डिल्लीराम सुवेदी बागलुङ १ (२)
१० जितबहादुर शेरचन बागलुङ २ (१)
११ द्रोणकुमार कुँवर बागलुङ २ (२)
१२ दीपेन्द्रबहादुर थापा बागलुङ १ (१)
१३ नम्डु गुरुङ मुस्ताङ (१)
१४ विकल शेरचन मुस्ताङ (२)
१५ मुनिन्द्रजंग गुरुङ मनाङ (१)
१६ महेन्द्रध्वज जिसी नवलपुर १(१)
१७. भोजराज अर्याल स्याङ्जा २(१)
१८. महेश भट्टराई स्याङ्जा २(२)
….
एमालेले जितेका प्रदेश निर्वाचन क्षेत्र
१ खगराज अधिकारी कास्की १ (१)
२ श्याम गुरुङ कास्की १ (२)
३ भीम कार्की कास्की २ (१)
४ गणेशमान गुरुङ कास्की ३ (१)
५ श्यामराजा महत तनहुँ २ (१)
६ सीता सुन्दास स्याङ्जा १ (१)
७ सुधीरकुमार पौडेल स्याङ्जा १ (२)
८ भक्तबहादुर कुँवर पर्वत (१)
९ मित्रलाल बस्याल पर्वत (२)
१० पदमा जिसी नवलपुर २ (१)
११ लक्ष्मणबहादुर पाण्डे नवलपुर २ (२)
१२ रोशनबहादुर गाहा थापा नवलपुर १ (२)
….
माओवादीले जितेका प्रदेश निर्वाचन क्षेत्र
१ हरिबहादुर चुमान तनहुँ १ (२)
२ रेशम जुग्जाली मगर म्याग्दी (२)
३ हरि भण्डारी म्याग्दी (१)
४ फणीन्द्र देवकोटा (नेसपा) गोरखा २ (१)
५ कृष्णप्रसाद धिताल गोरखा १ (१)
….
स्वतन्त्र
१ राजीव गुरुङ मनाङे (२)

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया