खेलकुद महोत्सवमा १९ खेल

समाधान संवाददाता २०७९ मंसिर १९ गते १०:५४

पोखरा ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कास्कीको आयोजनामा आइतबार पोखरामा पहिलो तथा दोस्रो चरणका गरी सिनियर फुटबलतर्फ १० खेल भएका छन् ।

खेलकुद महोत्सव अन्तर्गत अनौपचारिक रुपमा जारी रहेको खेलमा सिनियर छात्रतर्फ फुटबल प्रतियोगिता अन्तर्गत आइतबार पहिलो तथा दोस्रो चरणका १० र जुनियर सेभेन ए साइड फुटबल तर्फका ९ खेल भएको फुटवल खेल संयोजक राजु केसीले बताए ।

आइतबार भएको खेलमा सिद्धिविनायकले अक्सफोर्ड, अर्को खेलमा साइनिङ स्टारले कान्तिपुर बोर्डिङ स्कुललाई पराजित गर्दा न्यु ग्यालेक्सीले युनिभर्सल स्कुललाई पराजित गरे । नेसनल क्रियसनले हेमजा बोर्डिङ, वीरेन्द्र मेमोरियलले एलपी देवकोटा र ज्ञान ज्योतिले डाइमन्ड एकेडेमीलाई, हराएका छन् ।

Advertisement

यस्तै, हिल साइडले मनिङ ग्लोरी, कास्की मोडनाइजले ग्यालेक्सी, इम्यानुअल स्कुलले रत्न ज्योतिलाई हराएका छन् । आइतबारको अन्तिम खेलमा राइजिङ स्टारले सिद्धि विनायक स्कुललाई पराजित गरेको छ ।

आइतबार जुनियर तर्फको सेभेन ए साइड फुटबल खेल अन्र्तगत पहिलो तथा दोस्रो चरणका गरी ९ खेल भएको जुनियर तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताका संयोजक हिमाल गुरुङले बताए । आइतबार बिहान भएको पहिलो खेलमा ज्ञान ज्योतिले वीरेन्द्र मेमोरियललाई पराजित गरे पनि दोस्रो चरणको खेलमा पुष्प सदनले ज्ञान ज्योतिलाई हरायो ।

Advertisement

अर्को खेलमा एलपी देवकोटाले रत्न ज्योति, इम्यानुअल स्कुलले रिलायन्स पब्लिक स्कुल, युनिभर्सल स्कुलले वड्र्स एकेडेमी, न्यु लेखनाथले मनिङ ग्लोरी, साइनिङ स्टारले लिभिन रिसिडेन्टल र अक्सफोर्ड स्कुलले अल्फा एकेडेमीलाई हराएका छन् ।

पोखरा रंगशालाको वैकल्पिक फुटबल मैदान र गण्डकी प्रदेश प्रहरी गण ड्यामसाइडमा सिनियर तर्फको फुटबल खेल भयो भने जुनियर तर्फको सेभेन ए साइड फुटबल खेल भद्रकालीको माछापोखरी खेल मैदानमा भएको थियो ।

प्रतियोगितामा छात्र सिनियरतर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटबलमा ३३ टिमको सहभागिता छ । मंसिर २३ गतेसम्म चल्ने महोत्सवमा एनप्याब्सनमा आबद्ध ४६ स्कुलका करिब ७ हजार विद्यार्थी सहभागी हुने भएको एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया