नवौं खेलकुदका विजेता सम्मानित

समाधान संवाददाता २०७९ मंसिर १९ गते ११:१९

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरुलाई नगदसहित सम्मान गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेशमध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो । समग्रमा विभागीय टिमपश्चात गण्डकी चौथो स्थानमा रह्यो ।

प्रदेश खेलकुदले स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १ सय ६० गरी ३ सय २४ खेलाडीलाई सम्मान गरेको छ । खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघसमेत नगदसहित सम्मानित भएका छन् ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेशमध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो ।

Advertisement

परिषदले एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र कास्य पदक विजेतालाई ८ हजार प्रदान गरेको छ । टिमतर्फ स्वर्ण पदक विजेतालाई जनही नगद ९ हजार, रजततर्फ ६ हजार र काश्य पदक विजेतालाई ४ हजार प्रदान गरेको छ ।

प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद १० हजार, ८ हजार र ६ हजार, व्यवस्थापकलाई जनही नगद ८ हजार, ६ हजार र ४ हजार प्रदान गरेको छ । खेल संघहरुलाई स्वर्ण पदक विजेतालाई नगद ४० हजार, रजत पदक विजेतालाई ३० हजार र कास्य पदक विजेता संघलाई २० हजार प्रदान गरेको छ ।

Advertisement

नवौं राष्ट्रियमा रेकर्ड ब्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजारसहित सम्मान गरिएको छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, मन्त्रालयका सचिव वद्रिनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, नेपाली सेनाका पश्चिम पृतनापति दीपक बानियाँ, प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले नगद, सम्मानपत्र खादा लगाएर विजेतालाई सम्मान गरे ।

सो अवसरमा प्रदेश खेलकुदको सफल नेतृत्व सम्हालेका संस्थापक सदस्य सचिव तेजबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया