गम्भीर नभए श्रीलंकाको बाटोमा पुगिन्छः बराल

समाधान संवाददाता २०७९ मंसिर १९ गते ११:२९

पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा गम्भीर हुन नसके नेपाल पनि श्रीलंकाको बाटोमा पुग्न सक्ने चेतावनी दिएका छन् । पोखरा १० को श्रीपृद्धि बचत तथा ऋण सहकारीको शनिबार भएको १४ औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।

नेपालमा उत्पादन कम, उपभोक्तावादले गर्दा हाल बैंक तथा सहकारीमा समेत पैसा अभाव भएकाले यसलाई समयमै व्यवस्थापन गर्न राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रबाट गम्भीर रुपमा सुधार गर्नुपर्ने उनले औंल्याए । सहकारी लक्ष्य र उद्देश्य केन्द्रित हुनुपर्ने बताउँदै मन्त्री बरालले सहकारीमा पनि हाल धेरै समस्या आएको दाबी गरे । एक सहकारी एक उत्पादन व्यवहारमा लागू हुन नसकेकोमा उनले चिन्ता जनाए ।

हरेक नागरिकले राजनीति बुझ्नुपर्ने बताउँदै मन्त्री बरालले राजनीति नबुझ्दा मुलुक दुर्घटनामा समेत जानसक्ने जनाए । यसपालिको निर्वाचनले राजनीति स्थायीत्वभन्दा राजनीतिक तरलता हुने जस्तो देखिएको मन्त्री बरालको भनाइ छ ।

Advertisement

सहकारीका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान प्रदेश सांसद गायत्री गुरुङ, सहकारीका सल्लाहकार टीका कार्की, संस्थापक अध्यक्ष प्राडा कृष्ण केसी, उपाध्यक्ष कृष्णप्रसाद गौतम लगायतले बोलेका थिए । यो सहकारीमा ६ सय ९३ जना सेयर सदस्य रहेको सचिव रामचन्द्र अधिकारीले बताए ।

आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तरसम्म संस्थाको सेयर पुँजी ३ करोड ७ लाख ९९ हजार छ भने निक्षेप १७ करोड ७१ लाख ९६ हजार ७ सय ८० रुपैयाँ छ । सहकारीले १९ करोड ५७ लाख ८६ हजार ६ सय ९६ रुपैयाँ ऋण लगानी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया