सम्पादकीयः सिक्ने र सुध्रिने अवसर

समाधान संवाददाता २०७९ मंसिर १९ गते १२:००

अहिलेको चुनावमा फरक खालको परिदृश्य देखियो । विगतमा निर्वाचनमा अलिअलि देखिने यस्तो रुझान यसपटक प्रष्टसँग देखियो । जनताले पार्टी, नेता, पदमा रहेकाहरु भन्दा इमान्दारलाई हेरेको देखियो । जो परीक्षण भएका छैनन् र नैतिकता, सुशासन र जनताको पक्षमा बोल्छन्, उनीहरुलाई मत दिएको देखियो ।

पूर्व प्रधानमन्त्रीदेखि बारम्बार सांसद् भएकाहरूलाई सामान्य कार्यकर्तासम्मले हराए । यो उल्लेखनीय परिवर्तन हो । इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पराजित भए । एमाले महासचिव र माओवादी महासचिव दुवैले जित्न सकेनन् । संघ सरकारका गृहमन्त्रीले समेत चुनाव हारे । अब राजनीतिक दलका पाका नेताले सोच्ने बेला आएको छ ।

अब पुस्तान्तरण जरुरी देखिएको छ । त्यो पुस्तान्तरण हरेक राजनीतिक दलमा आवश्यक छ । अहिलेको चुनावले पाका नेताहरुले अब आफू अभिभावकीय जिम्मेवारीमा रहेर युवा पुस्तालाई अघि बढाउनुपर्ने शिक्षा दिएको छ । यसबाट पनि पाठ नसिक्ने हो भने भोलि नयाँ पुस्ता हस्तक्षेप गरेर अगाडि बढ्नेछ ।

Advertisement

अहिले मनग्गे दाम र नाम कमाएका उमेश श्रेष्ठलाई रवि लामिछानेले हराए । सरकारकी ऊर्जामन्त्री पम्फा भुसाल स्वतन्त्रकी डा तोसिमा कार्कीसँग हारिन् । नेपालको राजनीतिमा सधै त्यो पुस्ता हाबी भइरह्यो, जुन पुस्ताबाट परिवर्तनको अपेक्षा गर्न सकिँदैन । त्यो पुस्ताले पाँचौं पटकसम्म जित्दै आफूलाई विभिन्न पदमा पुग्दा पनि जनताको अपेक्षा पूरा गर्न सकेन । विकास र समृद्धिको अगुवाइ गर्न सकेन ।

पद र शक्ति सुनिश्चित गर्नमै पूरा ध्यान र जीवन लगायो । जनता भोट बैंक जस्तामात्र भए । यसले नागरिकमा चरम नैराश्य पैदा गरेको हो । जनतालाई जे डेलिभर गर्नुपर्ने थियो, त्यो गरेनन् । आफ्नै नातागोता र आफन्तलाई मात्रै डेलिभर गरे । जसको परिणाम आज हामी भोग्दै छौँ ।

Advertisement

नेतालाई मतदाताले यसपटक केही चेतावनी स्वरूप पाखा लगाएका छन् । अहिले पराजित भएकाहरू यसले, उसले भन्दै दोषारोपण गरिरहेका छन् । आफ्नो गल्ती रत्तिभर महसुस गरेका छैनन् । मानौं, यो हार अरूकै कारण भएको हो । यस मानेमा पनि नेताहरू सुध्रिने संकेत छैन ।

२१ औं शताब्दीमा बल्ल नेपालीमा एक खालको जागरण आएको देखिन्छ । एउटै पार्टी जीवनभर मतदान गर्ने जनता परिवर्तन भएका छन् । एजेन्डा, उम्मेदवारको नियत, पहिलाको काम र भावी योजना बुझ्न सक्ने भएका छन् । दल र नेताहरुले जनताले गरेको छनोटलाई सम्मान गर्नुपर्छ । विजेताहरुले मालिक होइन कि सेवक वा जनताको प्रतिनिधि हुँ भन्ने बुझ्न जरुरी छ भने पराजित भएकाहरुले आत्मसमीक्षा गरी भावी रणनीति बनाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया