२५ लाखले रंगशाला पुगेर हेरे विश्वकप

समाधान संवाददाता २०७९ मंसिर २० गते ११:४४

पोखरा ।
कतारमा जारी विश्वकप फुटबलको समूह चरणका ४९ खेलका समग्र दर्शक संख्या २४ लाख ५० हजार रहेको फिफाले जनाएको छ । समूह चरणका दर्शकको संख्या सन् २०१८ को विश्वकपको समूह चरण हेर्ने दर्शकको तुलनामा धेरै हो ।

समूह चरणमा सबैभन्दा धेरै दर्शक उपस्थित भएको खेल लुसेल स्टेडियममा भएको अर्जेन्टिना र मेक्सिकोबीचको खेल थियो । यो खेलमा ८८ हजार ९९६ दर्शक स्टेडियम पुगेका थिए । टेलिभिजनबाट हेर्ने दर्शकको संख्यामा भने जापान र कोस्टारिकाबीचको खेल सबैभन्दा धेरै विश्वभरका ३ करोड ६० लाख मानिसले हेरेका थिए ।

त्यस्तै कतारको मानिसहरु जम्मा भएर लाइभ खेल हेर्नको लागि बनाइएको फिफा फ्यान फेस्टिबल भ्रमण गर्नेको संख्या पनि १० लाखभन्दा धेरै थियो । फिफा फ्यान फेस्टिबल सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा पहिलोपटक प्रयोग गरिएको थियो ।

Advertisement

अहिलेसम्म विश्वकप हेर्न जानेमा सबैभन्दा धेरै दर्शक साउदी अरेबियाका छन् । साउदी अरेबियाका ७७ हजारभन्दा धेरै दर्शक कतार पुगेका छन् । त्यस्तै भारतबाट ५६ हजार ८९३ दर्शक कतार पुगेका छन् ।

कतारमा विश्वकप सुरु हुनुपूर्व आयोजक मुलुकले विश्वकपमा १० लाखभन्दा धेरै पर्यटक आउने अपेक्षा गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया