मुस्ताङको लोघेकरमा सार्वजनिक सुनुवाई

प्रतिकुल मौसममा समेत आफ्नो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम २०७९ मंसिर २० गते १९:१५

जोमसोम–उत्तरी चिनसंग सीमाना जोडिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले प्रतिकुल मौसमका बावजुद सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको अध्यक्षतामा पालिका कार्यालय चराङमा सार्वजनिक सुनुवाई गरेको हो ।

Advertisement

गाउँपालिका र पालिकाबासीबीचको दोहोरो सम्वाद स्थापित गर्दै जनतालाई पालिका विकासको रचनात्मक प्रक्रियाको प्रतिनिधित्व गराउन लोघेकर दामोदरकुण्ड गाउँपालिकाले बर्सेनि चौमासिक सार्वजनिक सुनुवाई गर्दैआईरहेको छ । पालिकाले हिउँदयामको अत्यधिक चिसो र प्रतिकुल मौसममा समेत आफ्नो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले जानकारी दिए ।‘जनता र पालिकाबीचको अन्तर सम्वन्ध स्थापित गर्दै दिगो विकास र सुशासन मैत्री गाउँपालिका बनाउने हाम्रो ध्येय हो,’प्रशासकीय अधिकृत घिमिरेले भने,‘ जनआवाज र जनआकांक्षालाई नजिकबाट बुझ्ने र पालिका गर्ने विकास र सेवाका बिषयमा जनतालाई सुसुचित गराउन सार्वजनिक सुनुवाई गरिएको हो ।’ उनले चालु वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाई आयोजना गरिएको जानकारी दिए ।
लोघेकर दामोदरकुण्डले सार्वजनिक सुनुवाईमा पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र नागरिकका प्रत्यक्ष सेवा प्रभावमा जोडिने बिषयमा पालिकाबासीलाई जानकारी गराईएको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।‘पालिकाको बजेट,विकास कार्यक्रम ,आर्थिक सुशासन, पारदर्शीता र जनमैत्री सेवाका बिषयमा गतवर्षको कार्यसम्पादनका साथै चालु वर्षको भावी योजनाका बारेमा जनतालाई बताएका छौं, जनस्तरबाट पालिकाको काम ,कर्तव्य र जनउत्तरदायी बिषयमा खासै प्रश्न उठेको छैन,हामीले गरेको कामबाट पालिकाबासी सन्तुष्ट रहेको पाईयो ।’
लोघेकरको सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष र उपाध्यक्षसहित ५ वटै वडाका वडाध्यक्ष, गाउँमुखिया, आमा समुह,क्लव र विभिन्न विद्यालयका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
भौगोलिक रुपले विकट मानिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा यसअघि प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनको कार्यसम्पादन मूल्यांकनमा नेपालकै दोश्रो गाउँपालिकाको सुचिमा परेको थियो ।
अत्यधिक चिसोका बावजुत कर्मचारी पालिकाको सेवामा :
हिउँदयामको अत्यधिक चिसोको बावजुद लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कार्यरत कर्मचारी गाउँपालिकाकै सेवामा समर्पित रहेका छन् ।अधिकाँश स्थानीय नागरिक जाडो छल्न बेसी झरेसकेको भएपनि पालिकाका कर्मचारी आफ्नै स्थानमा रहेर सेवा प्रभाव गरिरहेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले जानकारी दिए । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अहिले पनि ३० जना कर्मचारी रहेको जानकारी दिए ।गाउँपालिका प्रशासन,विभिन्न बिषयगत शाखा र ५ वटै वडाका वडासचिव कार्यस्थलमै बसेर काम गरिहेको प्रशासकीय अधिकृत घिमिरेको भनाई छ ।‘ उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ, धारा,कुलो र शाखा नदी सबै जमेर बसेको हुन्छ,’उनले भने,‘ यद्यपी चिसोको परवाह नगरी पालिकाका कर्मचारी काम खटिएका छन्।’ उनले सेवाग्राही कम हुँदै गईरहेको र पूर्वाधार विकासका काम समेत ठप्प हुने हुँदा पुसको पहिलो हप्तादेखि पालिकाका कर्मचारी आलोपालो गरेर काममा परिचालन गर्ने तैयारी भईरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया