बांगेचौर खेलमैदानलाई रंगशाला बनाइने

राष्ट्रिय समाचार समिति (रासस) २०७९ मंसिर २१ गते ११:४१

गलकोट ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बागलुङकै बांगेचौर खेलमैदान अब रंगशालामा परिणत हुनेभएको छ । बागलुङ नगरपालिकाले बांगेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपुरक योजना स्वीकृत गरी ठेक्का प्रक्रियाको तयारी गरिरहेको छ ।

बागलुङ बजारमा रहेको बांगेचौर खेलमैदानलाई रंगशाला बनाउने योजना अघिल्लो नगरकार्यपालिकाको भए पनि अझै कार्यान्वयनमा आउन सकेको थिएन । हाल २ महिनाभित्रै ठेक्का प्रक्रियामा लैजाने गरी वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार यो वर्ष रंगशाला निर्माणमा करिब ४ करोड खर्च गरिने र ३ वर्षभित्र पूरा गर्ने गरी बहुवर्षे योजनामा यसलाई समावेश गरिएको छ । बागलुङ नगरपालिका र राष्ट्रिय योजना आयोगले छनोट गरेको विशेष योजना अन्तर्गत चालु आवदेखि काम सुरु हुने श्रेष्ठको भनाइ छ । रंगशाला निर्माण गर्नका ८ करोड २२ लाख खर्च हुनेछ । जसमध्ये संघीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लगानी व्यहोर्ने छन् ।

Advertisement

रंगशालामा ३ हजार दर्शक अट्नेछन् । तत्कालीन खेलकूद विकास समिति अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा ४ वर्षअघि रंगशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो ।

डिपिआर तयारपछि छलफलका क्रममा केही संरचना थप भएका कारण डिपिआरमा उल्लेख भएभन्दा बढी लागत लाग्ने डिपिआरमा उल्लेख गरिए पनि पछिल्लो समय डिपिआर अनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएको भाग छोडेर पूर्वबाट मात्रै काम गर्ने गरी ठेक्कामा जान थालेको छ ।

Advertisement

बागलुङ नगरपालिकाका इन्जिनियर शोविन घर्तीका अनुसार डिपिआरमा भएका कमी कमजोरीलाई मिलाइसकेको र अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको बताए । हाल वातवरणीय प्रभाव मूल्यांकनको काम भएको बताउँदै २ महिनाभित्र ठेक्कामा जाने उनको भनाइ छ ।

घर्तीका अनुसार अहिले खेलमैदानको पूर्वतर्फ प्याराफिटलगायतको संरचना निर्माण सुरु गरिनेछ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छोडेर अथवा सडकलाई भूमिगत गरेर मात्रै पश्चिम क्षेत्रका संरचना बनाइनेछ । खैल मैदान, प्याराफिट, शौचालय, पार्किङ लगायतका संरचना बनेपछि खेलकुदका गतिविधि गर्न निकै सहज हुनेछ जिल्ला फुटबल सङ्सघका कोषध्यक्ष सूर्य लामिछानेले बताए ।

यस वर्ष खेल मैदानका लागि नगरपालिकाको १ करोड ७१ लाख र संघीय सरकारको १ करोड ७१ लाख गरी ३ करोड ४२ लाख रकम खर्च हुनेछ । रंगशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया