सम्पादकीयः सत्ता होइन, जनतालाई केन्द्रमा राख

आम निर्वाचन करिब सकिएको छ । परिणाम अनुसार एउटा दलको बहुमतको सरकार बन्न सम्भव छैन । अब बन्ने सरकार दुई वा सो भन्दा बढी दलको मिलीजुली सरकार नै हो । मुलुक अब त्यसै दिशातर्फ अग्रसर भएको छ । नेपाली जनताले निर्वाचनमार्फत् दिएको जनादेश नै त्यही भएकाले त्यसलाई स्वीकार्दै बलियो र स्थिर संयुक्त सरकार निर्माण गर्ने दिशातर्फ अगाडि बढ्नु जरुरी छ ।
हाम्रो निर्वाचन प्रणाली वा संवैधानिक व्यवस्था अनुरुप एउटै दलको पूर्ण बहुमतको सरकार बन्ने सम्भावना न्यून हुन्छ । प्रतिनिधिसभाका चालिस प्रतिशत सांसद समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने भएकाले आउँदा दिनमा देश स्थिरतातर्फ जाने सम्भावना कमजोर बनेको छ ।
एकातिर समानुपातिक निर्वाचन प्रणालीको चरम दुरुपयोग भइरहेको छ भने समानुपातिककै कारण मत धेरै विभाजित भएको देखिन्छ । समानुपातिक निर्वाचन प्रणालीको भावना र मर्मलाई दलहरु र नेतृत्व तहले आत्मसात गर्न नसक्दा यो धेरै आलोचित हुँदै आएको छ । तर यसको विकल्प के भन्ने प्रश्न पनि अनुत्तरित छ ।
अहिलेसम्मको स्थितिमा मिलेर चुनाव लडेको सत्तारुढ गठबन्धनले करिब सामान्य बहुमत हासिल गर्ने देखिएको छ । तर सरकार बनाउने विषयमा अहिलेसम्म गठबन्धनभित्र स्पष्ट मार्गचित्र छैन । प्रमुख सत्तारुढ र संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र संसदीय दलको नेता बन्ने आकांक्षी धेरै देखिएका छन् ।
मुख्य सत्ता साझेदारबीच शक्ति बाँडफाँडका विषयमा कुरा मिलेको छैन । अहिलेको निर्वाचन परिणामले प्रमुख राजनीतिक दलहरुलाई राम्रै चुनौती दिए पनि यसलाई ठीक ढंगले बुझ्ने, विश्लेषण गर्ने काम भएकै छैन । राजनीतिक दलहरुको सत्ता केन्द्रित सोच एवं व्यवहारका कारण जनतामा असन्तुष्टि बढेको छ ।
अबको ५ वर्ष मुलुकलाई नयाँ ढंगबाट अगाडि बढाउने सोच र इच्छाशक्ति नेतृत्व तहमा आउने हो भने मुलुक बन्न धेरै समय कुर्नु पर्दैन । तर सत्ता स्वार्थ बढ्दै जाँदा कुनै पनि दलले अहिलेसम्म आफू प्रतिपक्षमा बस्ने घोषणा गर्न सकेका छैनन् । बरु सरकारमा जाने विभिन्न विकल्प खुला गरेको जनाएका छन् ।
जसरी पनि सत्तामा पुग्नैपर्ने र सत्तामा पुगेर पनि देश र जनताको पक्षमा काम गर्न नचाहने मानसिकता दलहरुमा देखिन्छ । ०४६ को राजनीतिक परिवर्तनपछि सधैजसो अहिलेकै दल सत्तामा छन् । ३ दशकभन्दा बढी सत्तामा हुँदा पनि जनताको जीवन र विकासको रुपरेखामा परिवर्तन गर्न सकेका छैनन् ।
अब दल र नेताहरुले राजा, महाराजालाई दोष लगाएर उम्किने ठाउँ छैन । शाब्दिक जालमा जनतालाई भुलाएर सत्ता टिकाउने उपाय पनि अब कामयावी नहुने देखिन्छ । अब पनि जनतालाई केन्द्रमा नराख्ने र सत्ता केन्द्रीतमात्र हुने हो भने अबको ५ वर्षपछि अहिलेका दलको विकल्पमा नयाँ दलहरु आउनेछन्, नयाँ नेतृत्व तयार हुनेछ ।
तपाईको प्रतिक्रिया