रुपामा लैंगिक हिंसाविरुद्ध अभियान

समाधान संवाददाता २०७९ मंसिर २२ गते १६:२९

पोखरा ।
लैंगिक हिंसा विरुद्ध सचेतना जगाउने उद्देश्यले कास्कीका रुपा गाउँपालिका सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलाप भएका छन् । विद्यार्थीबीच वक्तृत्व कला, कविता तथा वादविवाद प्रतियोगिता भएको असल छिमेकी सहयोग संघ (गोनेसा)का कार्यसमिति सदस्य केशु भुजेलले जानकारी दिइन् ।

Advertisement

रुपाको जटेश्वर माध्यमिक विद्यालयमा महिला हिंसा निवारणको सम्बन्धमा वक्तृत्व कला, विश्व शान्ति माध्यमिक विद्यालयमा कविता र गाउँफर्क माध्यमिक विद्यालयमा वाद विवाद प्रतियोगिता भएको छ । लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत रुपा गाउँपालिकामा सचेतनामुलक र्‍यालीसमेत निकालिएको छ ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले विद्यालय तहमा भएका अतिरिक्त क्रियाकलापले सबै खालका लैंगिक हिंसा रोक्न सहयोग पुग्ने बताइन् । ‘लैंगिक हिंसाका बारेमा विद्यार्थी सचेत र सजक भएमा घर परिवारमा समेत सकारात्मक प्रभाव पर्छ,’ उनले भनिन्, ‘विद्यालय तह हुँदै समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम आवश्यक छ ।’ उनले लैंगिक हिंसालाई निवारण गर्न समुदाय स्तरमा कार्यक्रम लैजानको लागि पालिकाले ध्यान दिने बताइन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गोनेसा पोखराले शिक्षक अभिमुखीकरण कार्यक्रम गरेको छ । पोखरा महानगरभित्र सञ्चालित २० बाल विकास केन्द्रका शिक्षकको सहभागिता रहेको कार्यक्रममा संस्थाका कार्यसमितिका सदस्य केशु भुजेलले सहजीकरण गरेकी छिन् ।

उनले घर, परिवारदेखि कार्यस्थलमा हुने हिंसा रोक्नका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन् । संस्थाका कार्यक्रम संयोजक शिवराज शर्मा, सुपरभाइजरहरु कमलबहादुर पुन र रवीन्द्र खनाल, शिक्षकहरु दिलु पराजुली, कमला थापा र मञ्जु कार्कीले बोलेका थिए ।

Advertisement

‘सभ्य समाजको पहिचानः लैगिंक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ यही नोभेम्बर २५देखि डिसेम्बर १० तारिख तदनुसार मंसिर ९ देखि २४ गतेसम्म अभियान सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया