पत्रकार र प्रहरीबिच सकारात्मक सहकार्य हुनुपर्ने

पोखरा ।
पोखरामा बिहीबार सञ्चार क्षेत्रमा पत्रकार माथि हुने दुव्र्यवहारका बारेमा छलफल गरिएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा सुरक्षाकर्मी तथा नागरिकबाट हुने दुव्र्यहारका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा पत्रकार र प्रहरीबिच सकारात्मक सहकार्य हुनुपर्ने माग गरिएको थियो । प्रहरीले पत्रकारलाई आवश्यक सूचना उपलब्ध गराइदिएर वा पत्रकारको काममा हस्तक्षेप नगर्न पत्रकारले माग गरेका थिए । संवेदनशिल परिस्थितिमा पत्रकारलाई रोक्नुपर्ने दायित्व रहेको प्रहरी निरक्षक श्रीप्रसाद तिमिल्सिनाले बताए । ‘सुरक्षा सबै भन्दा ठूलो कुरा हो, घटनाको प्रकृती हेरेर हामीले पत्रकारलाई छुट दिने गर्छौं’ उनले भने, ‘पत्रकारलाई कति सम्म सहयोग गर्ने भनेर सीमा टोकिएको हुन्छ, तपाईंहरु (पत्रकार) ले आफ्नो कर्तव्य पालना गर्दा हामीले पनि हाम्रो कर्तव्य पालना गरिरहेका हुन्छौं, त्यो कुरा पनि बुझ्दिनु पर्यो ।’
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना शर्मा ‘वर्षा’ ले पत्रकारले शुद्धता, सन्तुलन र विश्वसनीय ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् । पत्रकारमाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि नीतिगत व्यवस्था गरी त्यसको कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन् ।
पत्रकारले समाचार लेख्दा हतार नगरी तथ्य कुरा मात्र लेख्न दलित महिला संघ (फेडो) कास्कीका जिल्ला परियोजना कार्यक्रम संयोजकका इश्वरी विकले आग्रह गरिन् । ‘समाचारमा कहिले गलत कुरा लेखिएको हुन्छ त कहिले नाम पद गलत लेखिएको हुन्छ,’ उनले भनिन् ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) कास्कीका सहजकर्ता सुमित्रा आचार्यले समाचारले समाजमा ठूलो असर पार्ने बताइन् । ९८ प्रतिशत राम्रो काम गर्दा पनि सञ्चारमाध्यमले लेखेको २ प्रतिशत नराम्रो काम भारी पर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया