कास्कीबाट रास्वपाबाट श्रेष्ठकाे सम्भावना

समाधान संवाददाता २०७९ मंसिर २३ गते ११:२१

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीअनुसार कास्कीका १ जना सांसद बन्ने सम्भावना देखिएको छ । उक्त पार्टीको बन्द सूचीको पहिलो नम्बरमा रास्वपा गण्डकी प्रदेश समिति सभापति डा ढाकाकुमार श्रेष्ठ छन् । उनी कास्कीका हुन् ।

Advertisement

श्रेष्ठ आदिवासी जनजातितर्फ प्राथमिकताको पहिलो नम्बरमा छन् । आदिवासी जनजाति समुदायबाट ३ जनाको कोटा रहेकोमा बन्द सूचीको पहिलो नम्बरमा रहेका श्रेष्ठको सांसद बन्ने सम्भावना बलियो देखिन्छ ।

रवि लामिछाने नेतृत्वको उक्त पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २१ सिट प्राप्त गरेको छ । स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची पठाइसकेको छ । समानुपातिक बन्द सूची र कोटाअनुसार नाम पठाउन निर्वाचन आयोगले पत्र पठाएको छ । पत्रअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद छान्नेछ ।

रास्वपाले महिला ५ जना, आदिवासी जनजाति ३ जना, खस आर्य ४ जना, थारु १ जना, दलित र मधेसी २/२ जना र मुस्लिम समुदायको १ जनाको नाम बन्द सूची अनुसार पठाउनुपर्ने हुन्छ ।

संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ मा व्यवस्था छ । प्रत्यक्षतर्फ रास्वपामा २ महिला निर्वाचित भएका छन् । यस अनुसार संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन उक्त पार्टीले समानुपातिकबाट कम्तीमा ५ जना निर्वाचित गर्नुपर्नेछ ।

Advertisement

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा १३ को उपदफा ४ र दफा ३३ को उपदफा ७ अनुसार समानुपातिकतर्फ १३ जना छान्दा महिलासहित आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी, मुस्लिम सबैको प्रतिनिधित्व हुने गरी सांसद छान्नुपर्ने हुन्छ ।

समानुपातिक पद्दतिमार्फत नेपाली कांग्रेस र नेकपा एमालेबाट कास्कीका १ जना पनि सांसद बन्ने देखिँदैन । किनभने ती पार्टीले बुझाएको समानुपातिक बन्द सूचीमा यी क्षेत्रका नेता परेका छैनन् ।

तपाईको प्रतिक्रिया