कास्की मोडनाइजको दबदबा

समाधान संवाददाता २०७९ मंसिर २३ गते ११:२७

पोखरा ।
पोखरामा जारी नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत शुक्रबार विभिन्न खेलका फाइनल हुँदै छन् शुक्रबार बिहानैदेखि विभिन्न खेलको फाइनल खेल सकिएलगत्तै दिउँसो औपचारिक रुपमा महोत्सव समापन हुने भएको एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले बताए ।

प्रतियोगितामा कास्की मोडनाइज एकेडेमी दोहोरो उपाधिनजिक पुगेको छ । कास्की मोडनाइज एकेडेमीको सिनियर छात्र तर्फको टिम फुटबलमा र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।

बिहीबार पहिलो सेमिफाइनलमा कास्की मोडजाइजले इम्यानुएल स्कुललाई २–० ले हरायो । दोस्रो सेमिफाइनल खेलमा लिटिल फ्लावरले चिल्ड्रेन एकेडेमीलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।

Advertisement

जुनियर छात्रतर्फको सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा कास्की मोडनाइज एकेडेमी र गोर्खा बोर्डिङ स्कुलबीच शुक्रबार बिहान ११ः३० बजे खेल हुने भएको सेभेन ए साइड फुटवल प्रतियोगिता संयोजक हिमाल गुरुङले बताए ।

कास्की मोडनाइजले नेसनल क्रियसन स्कुललाई ३–२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनायो । अर्को खेलमा गोर्खा बोर्डिङले युनिर्भसलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।

Advertisement

प्रतियोगितामा छात्र सिनियरतर्फ ३७ र जुनियर छात्रतर्फको सेभेन ए साइडमा ३३ टिमको सहभागिता थियो । महोत्सवमा एनप्याब्सनमा आबद्ध ४६ विद्यालयका करिब ७ हजार विद्यार्थी सहभागी छन् ।

महोत्सव अन्तर्गत टेबलटेनिस प्रतियोगितामा छात्र एकलतर्फ कास्की मोड्नाइज र छात्रातर्फ युनिभर्स इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन् । छात्रतर्फ कास्की मोड्नाइज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितीय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तृतीय भए ।

छात्रा एकलतर्फ युनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुण शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितीय हुँदा नेसनल क्रियसनकी आस्था परियार र अल्फा एकेडेमीकी कृति गुरुङले तृतीय स्थान प्राप्त गरेको प्रतियोगिता संयोजक शिवराज पौडेलले जानकारी दिए ।

कास्की मोडर्नाइजले छात्र बास्केटबलको उपाधिसमेत जितेको छ । बिहीबार भएको फाइनल खेलमा न्यू ग्यालेक्सी बोर्डिङ स्कुललाई २६ स्कोरका बिरुद्ध ४४ स्कोरले पराजित गरी कास्की मोडर्नाइडले उपाधि जितेको हो । न्यू ग्यालेक्सी उपविजेता बनेको छ । त्यस्तै, सेमिफाइनलिस्ट त्रिवेणी बोर्डिङ स्कूल र लिटिल फ्लावर बोर्डिङ स्कूल तेस्रो बनेका छन् ।

महोत्सव अन्तर्गत एथ्लेटिक्सका ८ खेल बिहीबार भएका छन् । ब्याडमिन्टन प्रतियोगितामा कास्की मोडनाइज एकेडेमी विजयी भएको छ । छात्रतर्फ कास्की मोडनाईज एकेडेमीका दीप राना प्रथम, गोर्खा बोर्डिङ स्कुलका लेलिन नेपाली द्वितीय, युनिभर्स बोर्डिङ स्कुलका सिरिष बास्तोला र बड्स एकेडेमीका आयूष पहारी तृतीय भए ।

छात्रातर्फ कास्की मोडनाइजकी सोनिका थापा प्रथम, अञ्जुली सेकेन्डरी बोर्डिङ स्कुलकी मेनुका पुन द्वितीय, त्रिवेणी पब्लिक स्कुलकी परिसा गुरुङ र ज्ञानज्योति विद्याकुञ्ज माविकी अन्सु गुरुङ तृतीय भएको प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया