मुस्ताङका ३ उम्मेदवारले बुझाए खर्च विवरण

सुन्दरकुमार थकाली २०७९ मंसिर २३ गते १२:५२

जोमसोम ।
मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत मुस्ताङमा उम्मेदवारी दिएका ९ जनामध्ये ३ जनाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभातर्फ नेकपा(एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचन, प्रदेश(१)तर्फ नेकपा(एमाले)का उम्मेदवार ईन्द्र ढाडु बिष्ट र प्रदेश(२)तर्फ राप्रपाकी कर्म डोल्कर गुरुङले निर्वाचन खर्च विवरण बुझाएका हुन् ।

मुस्ताङको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १४ लाख ९२ हजार २ सय रुपैयाँ खर्च गरेका छन् । उनले मतदाता नामावली खरिद, सवारी साधन व्यवस्थापन, इन्धन, प्रचारप्रसार सामाग्री, गोष्ठी तथा अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन ,ढुवानी र विविध शीर्षकमा खर्च गरेको विवरण कार्यालयलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समीर थापाले जानकारी दिए ।

एमालेबाटै प्रदेश(१)मा उम्मेदवारी दिएका ईन्द्रधाडु बिष्टले ९ लाख ८२ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् । उनले पनि निर्वाचनको लागि प्रचारप्रसार र व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको विवरण पेश गरेको सूचना अधिकारी थापाले बताए ।

Advertisement

मुस्ताङ प्रदेश(२)बाट उम्मेदवारी दिएकी राप्रपा नेपालकी कर्म डोल्कर गुरुङको निर्वाचन खर्च २ लाख ७९ हजार छ । उनले मुस्ताङबाट एक्ली महिला उम्मेदवारको रुपमा प्रदेश निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन् ।

मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ जना उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए । नेपाली कांग्रेससहितको सत्ता गठबन्धनबाट ३ जना, एमालेबाट ३ जना, रास्वपाबाट १ जना, राप्रपा नेपालबाट २ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये कांग्रेससहित ६ जना उम्मेदवारले निर्वाचन खर्च बुझाउन बाँकी छ ।

Advertisement

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचन ऐन २०७४ को उपदफा ७२ तथा निर्वाचन आचारसहिंता बमोजिम निर्वाचन मतपरिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन आहवान गरेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया