भलिबल र बास्केटबल सुरु

समाधान संवाददाता २०७९ मंसिर २५ गते ११:३२

पोखरा ।
‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिता जारी छ भने प्लस–टु (कक्षा ११–१२)तर्फ छात्रा भलिबल र छात्र बास्केटबल प्रतियोगिता सुरु भएका छन् । प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत शनिबार चौथो दिन पनि सिनियर र जुनियर फुटबलतर्फका २० खेल भएका हुन् ।

Advertisement

स्पोर्टस मिट अन्तर्गत बास्केटबल छात्रतर्फको खेल शनिबारबाट सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भएको बास्केटबलमा ६ खेल भएको प्लस टु बास्केटबल संयोजक खिम गुरुङले बताए ।

उद्घाटन खेलमा गोल्डेन नेचरले प्रतिष्पर्धात्मक खेलमा टप्स माविलाई ३६–३३ ले पराजित गरेको छ । बाल कल्याणले भाष्करलाई ५२–३० ले, मेरी गोल्डले धौलागिरीलाई ५२–२७ ले, माउन्ट अन्नपूर्ण माविले प्रगतीलाई ५६–११ ले, सोसियल पब्लिकले बेथानीलाई प्रतिष्पर्धात्मक खेलमा २९–२५ ले पराजित गर्दा अन्तिम खेलमा पश्चिमाञ्चलले केफलाई २०–१८ ले पराजित गरेका छन् ।

प्लस–टु (कक्षा ११–१२) र मावि तह कक्षा १–१० तर्फ छात्रा भलिबल खेल शनिबारबाट पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरु भएको छ । प्लस टु छात्रातर्फ भलिबलमा ८ टिम मावितर्फ २४ टिमको सहभागिता रहेको भलिबल प्रतियोगिता संयोजक नवीन बरालले जानकारी दिएका छन् ।

प्लस टु छात्रातर्फको खेलमा प्रतिभाले माउन्ट अन्नपूर्णलाई २५–७, २५–९ ले, करुणानिधीले मदर ल्याण्डलाई २५–१३, २५–१२ ले, पश्चिमाञ्चलले भाष्करलाई २५–१८, २५–१८ ले र गुरुकुलले टप्सलाई २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका छन् ।

Advertisement

मावि कक्षा ११–१२ तर्फ सम्पन्न खेलमा रेन्बो एकेडेमी, टप्स मावि, नेपाल आदर्श आज नै सम्पन्न आ–आफ्नो २–२ खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । त्यस्तै एक खेलमा जित एक खेलमा पराजित हुँदै न्यू मोडल बाहिरिएको छ भने डायमन्ड, स्टेप बाई स्टेप र तारा कुञ्ज, धौलागिरी र नेसनल इन्भेन्टिभले एक–एक खेल जित्दै दोस्रो चरणको यात्रा सुरक्षित गरेका छन् ।

प्याब्सन स्पोर्टस मिटको उद्घाटन आइतबार पोखरा रंगशालामा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गर्ने तय छ । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीबीच छात्र÷छात्रा भलिबल, छात्र/छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टमा ७ हजार ७ सय १२ भन्दा बढी विद्यार्थीले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र दर्शकले अवलोकन गर्ने प्याब्सन कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया