पर्वतीय संग्रहालयमा महोत्सव

पोखरा ।
पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा शनिबारदेखि पर्वतीय महोत्सवसुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सव उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सुरुआत गरे ।
उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ ।
‘विश्वसामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना आवश्यक देखिन्छ ।’
पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राखेका पुनले विशेषगरी पर्वतीय पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पर्वतीय पर्यटनले हिमाली क्षेत्रमा बसोबास गर्ने भाषा, संस्कार, संस्कृति बुझाउन पनि भूमिका खेल्ने विचार उपराष्ट्रपति पुनले राखे ।
‘यसमा पनि हाम्रो पर्यटनको मेरुदण्डको रुपमा रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ । पर्वतीय पर्यटन केवल आरोहणमात्रै होइन, यो पर्वतीय क्षेत्रमा बसोबास गर्नेहरुको भाषा, संस्कार, संस्कृति तथा जीवन बुझ्ने र उनीहरुको आर्थिक–सामाजिक जीवनमा रुपान्तरण ल्याउन योगदान पुर्याउने माध्यम पनि हो,’ उनले भने ।
‘डिसेम्बर ११’ लाई लक्षित गरी प्रत्येक वर्ष आयोजना हुने यस महोत्सव २ दिन चल्नेछ । शनिबार महोत्सवको पहिलो दिन विभिन्न खेल तथा कार्यक्रम भएका छन् । छेलो हान्ने प्रतियोगितादेखि धनुषवाणको खेल भएको छ ।
‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ र पोखरामा ३ वर्षमा दोब्बर पर्यटनक भित्र्याउने विषयमा छलफल कार्यक्रम पनि भएको थियो । ‘पर्वतीय वातावरण संरक्षणमा महिलाको भूमिका’ विषयक कार्यक्रममा ४ जना महिला आरोही वक्ता थिए ।
आरोही लाक्पा फुटी शेर्पा, पूर्णिमा श्रेष्ठ, फुन्जो लामा र फुरदिकी शेर्पाले कार्यक्रममा बोले । विषयमाथि छलफल गर्दै चारै आरोहीको एकै स्वर थियो–वातावरण र हिमाल संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।
आफूले चढिसकेको हिमाल चढ्न पुनः पुगेकी पूर्णिमाले ४ वर्षयता जलवायु परिर्वतनका कारण हिमाल हिउँविहीन हुन लागेको बताइन् । उनका अनुसार समयमै यसविषयमा गम्भीर नबने सेताम्मे हिमाल कालो पत्थरको रुपमा परिणत हुनेछन् ।
‘हिमाल पहिलाभन्दा पग्लिराखेको छ । ४ वर्ष धेरै परिवर्तन देखेँ । विशेषगरी खुम्बु क्षेत्रमा धेरै परिवर्तन देखेँ । यसलाई सिरियस इस्युका रुपमा लिएन भने दिन प्रतिदिन हिमाल कालो पथर बन्दै जानेछ,’ आरोही पूर्णिमाले भनिन् ।
यस्तै विलासिन पूर्ण एक्सपेडेसन कम्पनीको सेवाले पनि हिमालको वातावरणमा असर पुर्याएको बताउँछिन्, अर्की आरोही फुरदिकी शेर्पा । ‘आइसफल हटाएर चउर बनाएर एजेन्सीहरुले सुविधा दिएछ । ठूलो ठूलो कम्पनीहरुले त्यस्तो नगरे हुन्थ्यो । काठमाडौँको ट्याक्सीले त्यति काम पाउँदैन, जति हाम्रो क्षेत्रमा हेलीले पाउँछ,’ उनले भनिन् ।
पहिलो कार्यक्रमपछि पोखरामा ३ वर्षभित्र कसरी दोब्बर पर्यटन भित्रयाउन सकिन्छ विषयमा छलफल भएको थियो । छलफलमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डको निर्देशक धनञ्जय रेग्मी सहभागी थिए । छलफलमा प्रमुख आचार्यले सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटक भित्रयाउन ठूलो भूमिका खेल्ने विचार राखे ।
संयुक्त राष्ट्र संघले यस वर्षको पर्वतीय दिवस ‘वुमन मुभ माउन्टेन्स्’को नारासहित मनाउने निर्णय गरेको छ । उद्घाटन समारोहमा अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । आइतबार महोत्सवको अन्तिम दिन यसै विषयमा छलफल कार्यक्रम हुँदै छ ।
तपाईको प्रतिक्रिया