पोखरा भूगर्भविज्ञान अध्ययनको केन्द्र

यही कात्तिक १६ देखि १८ सम्म पोखरामा एउटा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न भयो । भूगर्भ विज्ञानमा खोज, अनुसन्धान गरेका विश्वका १८ भन्दा बढी मुलुकका भू वैज्ञानिकको उपस्थितिमा नेपाल भौगर्भिक समाजले पहिलो पटक काठमाडौं बाहिर उक्त कार्यक्रम सम्पन्न गरेको थियो । हिमालयन तिब्बतियन काराकोरम नामको उक्त सम्मेलनले पोखरामा भूगर्भ विज्ञानको भविष्य सुनौलो रहेकोसमेत इंगित गर्यो ।
भूगर्भ विज्ञान बिशेषगरी जमिन र जमिनको सतहमुनि रहेका वस्तुको समग्र अध्ययन गर्ने विज्ञान बिषयको शाखा हो । पृथ्वीको सतह र सतहमुनि पाइने चट्टानसग रहेर ती चट्टानको बनोट, संरचना र प्रयोगको गुणात्मक अध्ययन यस विज्ञानले गर्दछ ।
भूगर्भ विज्ञानले खनिज पदार्थको उत्खनन्, जमिनको सतहमा हुने कुनै पनि भूविपदसँगै देश विकासका लागि गरिने सम्पूर्ण कार्य जस्तै भवन निर्माण, सडक तथा पुलदेखि सुरुङसम्मको प्रारम्भिक र पूर्ण अध्ययन गर्दछ । भूगर्भ विज्ञानसग सम्बन्धित रही नवीनतम खोज, अनुसन्धानमा लाग्ने वैज्ञानिकहरुलाई हामी भूवैज्ञानिक वा भूगर्भविद भन्दछौं ।
देशको आर्थिक मेरुदण्डको प्रमुख हिस्सा खनिज स्रोत सँगै विकासका लागि नभई नहुने भूभर्ग विज्ञानको अध्यापन विद्यालयबाट नै हुनुपर्ने र सोका लागि जनशक्ति उत्पादन हुने निकायलाई स्रोत र साधनले युक्त बनाउनुपर्ने उहाँ उल्लेख गर्नुहुन्छ
कुनै पनि देशको सम्पूर्ण भूगर्भ उक्त देशको भौगर्भिक संरचनालाई ध्यानमा राखी भूगर्भविदहरुले बिभिन्न भागमा बिभाजन गरेका हुन्छन् । भौगर्भिक नवीनतम खोज र अध्ययनका हिसाबले महत्वपूर्ण रहेको नेपाललाई भूवैज्ञानिकहरुले चट्टानको संरचना, बनोट, जीवावशेष, भौगोलिक अवस्था आदिका आधारमा तराइ, चुरे, लेसर हिमालय, हायर हिमालय र टेथिस हिमालय गरी ५ भागमा छुट्याएका छन् । त्यसबाहेक नेपालभित्र रहेका उपत्यकामा पाइने चट्टानका आधारमा पोखरा तथा काठमाडौं बेसिनको रुपमा भूवैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् ।
तिब्बतियन र इन्डियन प्लेटको आपसी ठोक्काइबाट टेथिस सागरमाथि पहाडहरुको निर्माण पृथ्वीको निकै पछिल्लो समयमा नेपाल रहेको स्थानमा भएकाले हिमालयको भौगर्भिक अध्ययनका हिसाबले नेपाल महत्वपूर्ण रहेको छ । पोखरा र यसको आसपासको भूगर्भ पछिल्लो समय धेरै भूवैज्ञानिकहरुको अध्ययनको क्षेत्र बनेको छ । पोखरा उपत्यकाभित्र बिशेषगरी हिम नदीले ल्याएका ग्रेगरसहित ठूला बोल्डर चट्टान पाइन्छन् ।
जुन पृथ्वीनारायण क्याम्पसमा रहेको भीमढुंगा नामले चिनिने नाइसको बोल्डर तथा चिप्लेढुंगामा रहेको चिप्लेढुंगा नामले चिनिने ग्रेनाइटको बोल्डरसहित पोखरामा पाइने ग्रेगर संरचनाको भौगर्भिक अध्ययनबाट भूवैज्ञानिकहरुले पत्ता लगाएका छन् । पोखरासहित गण्डकी प्रदेशभित्र तराइमा ग्रेगरदेखि उत्तर टेथिस हिमालयसम्म बिभिन्न पत्रे, परिवर्तित र कहिँकतै आग्नेय चट्टान पाइन्छन् ।
यसलाई भूवैज्ञानिकहरुले बिभिन्न समूह, उपसमूहमा तहगत अध्ययन गरेर बिभाजन गरेका छन् । जसबाट चट्टानमा पाइने खनिज पदार्थ, जमिनमुनि रहेको खनिज पदार्थको अन्वेषण गर्न सहज हुने गर्दछ । गण्डकी प्रदेशका सबै जिल्लामा सुन, तामा, फलाम, टुर्मालिन, चुनढुंगा, स्लेट, गार्नेट, जस्ता खनिज पदार्थ भौगर्भिक नियन्त्रणको आधारमा प्राप्त छन् ।
धौवादी फलाम खानी यति बेला परीक्षणका क्रममा खानी तथा भूगर्भ बिभागले काम गरिरहको छ । तनहुँका बिभिन्न स्थानमा चुनढुंगा खानी सञ्चालनमा आएका छन् । लमजुङका अधिकांश खोला तथा नदीमा जलविद्युत् आयोजना सञ्चालित छन् । पर्वत तथा बाग्लुङमा खानी सम्भाबना अन्वेषण गर्ने काम बिभिन्न चरणमा भइरहेका छन् ।
तामाका लागि तनहुँको भुतखोला, म्याग्दीको रुमाखानी; सुनका लागि मादी, मस्र्याङ्दी र कालीगण्डकी नदी; टुर्मालिनका लागि नाजे मनाङ; तातोपानीका लागि जोमसोम, म्याग्दी, कास्की; लिडका लागि सिसाखानी बागलुङ, बर्छ्याङ तनहुँ; पाइराटका लागि आँधीखोला स्याङ्जा; सायनाइटका लागि आँपपीपल गोरखा लगायत धेरै स्थानमा खानी तथा भूगर्भ बिभागले सम्भावना रहेको भनी प्रतिवेदनमा समाबेश गरेको छ ।
भौगर्भिक रुपमा निकै चाखलाग्दो रहेको पोखरा र यसको प्रदेश गण्डकीमा यस बिषयसग सम्बन्धित अध्ययन पोखरा बगर स्थित पृथ्वीनारायण क्याम्पसमा स्नातक तहसम्म मात्र हुने गरेको छ । २०७३ सालबाट सुरु गरेको सो क्याम्पसबाट २ ब्याच स्नातक तह उत्तीर्ण भइसकेका छन् । क्याम्पस भित्रको भूगर्भ नै भौगर्भिक हिसाबले अनुसन्धानमूलक रहेकाले पृथ्वीनारायण क्याम्पसमा भूगर्भ बिज्ञान बिषयको अध्ययन अध्यापन पछिल्लो समयको महत्वपूर्ण आवश्यकता बनेको हो ।
बिशेषगरि गण्डकी प्रदेश भित्रका जिल्लाबाट विद्यार्थी उक्त क्याम्पसमा अध्ययन गर्न जाने भएकाले यसले स्थानीय स्तरसम्म भूगर्भ विज्ञानलाई परिचित बनाउन र स्थानीय उपयोगितामा भूगर्भ विज्ञानलाई जोड्न सहज हुने देखिन्छ । गण्डकी प्रदेश आफंैमा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । जिओ टुरिजमलाई भविष्यसँग जोडेर यहाँभित्र रहेका स्रोतमा लगानी भित्र्याउन सकिने प्रशस्त सम्भावना देखिन्छ ।
पृथ्वीनारायण क्याम्पसमा भूगर्भ विज्ञान बिषय अध्यापन गराइरहनु भएका भूगर्भविद ईश्वर अधिकारी पोखरा तथा गण्डकी प्रदेशको भौगर्भिक अबस्थाबारे भन्नुहुन्छः विश्वका कुनै पनि मुलुकका भूवैज्ञानिकहरुका लागि पोखरा उर्वर भूमी हो । सानो ठाउँमा धेरै अनुसन्धान गर्न सकिने भएकाले पोखरा अब भूविज्ञान अध्ययनको केन्द्र बन्न सक्छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहेर पृथ्वीनारायण क्याम्पसले भूगर्भ विज्ञान बिभाग स्थापना गरिसकेको छ । सो बिभागको विभागीय प्रमुख उपप्राध्यापक दुर्गा खतिवडा पोखरा भूविज्ञान अध्ययन गर्ने सबैभन्दा राम्रो ठाउँ रहेको बताउनु हुन्छ । यस उपत्यकालाई विभिन्न जिओ– हाजार्ड समस्या, जमिन घट्ने, सिंकहोल, कास्र्ट टोपोग्राफी र अन्य धेरै जान्नका लागि उत्तम भूवैज्ञानिक प्रयोगशाला मान्न सकिने उहाँ बताउनुहुन्छ ।
पृथ्वीनारायण क्याम्पस, विज्ञान तथा प्रविधि संकायका सहायक क्याम्पस प्रमुख मीनराज लम्साल पोखरालाइ भूविज्ञानको हब बनाउन क्याम्पसले अन्य निकायसँग समन्वय गरिरहेको बताउनुहुन्छ । गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान र पृथ्वीनारायण क्याम्पसबीच अनुसन्धान सहकार्य र शैक्षिक आदानप्रदानका लागि एमओयुमा हस्ताक्षर भएको उहाँले जानकारी दिनुभयो ।
प्रयोगशालामा खनिज चट्टानहरुको सूक्ष्म अध्ययनका लागि चाहिने पेट्लोजिकल माइक्रोस्कोपदेखि लिएर माटोको इन्जिनियरिङ गुणहरुको अध्ययनका लागि आवश्यक प्लास्टिक तथा लिक्विड लिमिट टेस्ट जस्ता प्रयोग विद्यार्थीले सिक्न र गर्न सक्ने अवस्था रहेको र जसबाट रक एन्ड टनेल इन्जिनियरिङ बिषयका लागि समेत प्रयोगात्मक कक्षा सञ्चालन गर्न सकिने अवस्था सिर्जना भएको उहाँ बताउनु हुन्छ ।
भूगर्भ विज्ञानको स्नातक र स्नाकोत्तर तह अध्ययन गरिसकेपछिको उत्पादित जनशक्ति खपत गर्नका लागि पोखरा वा गण्डकी प्रदेशमा सँगै देशका बिभिन्न निकायमा केही पहल गर्नुपर्ने देखिन्छ । यसबारे भूगर्भविद् नवराज सापकोटा गण्डकी प्रदेशको सम्भाबना प्रबल देख्नुहुन्छ ।
देशको आर्थिक मेरुदण्डको प्रमुख हिस्सा खनिज स्रोत सँगै विकासका लागि नभई नहुने भूगर्भ विज्ञानको अध्यापन विद्यालयबाट नै हुनुपर्ने र सोका लागि जनशक्ति उत्पादन हुने निकायलाई स्रोत र साधनले युक्त बनाइनुपर्ने उहाँ उल्लेख गर्नुहुन्छ । स्रोतले भरिपूर्ण तर लगानी र जनशक्तिको अभावले पछि परेको यो स्थानलाई उपयोगितामा ल्याउनु वर्तमान समयको पहिलो आवश्यकता हो । यो आधारमा गण्डकी प्रदेश र यसको राजधानी पोखरा भूगर्भ विज्ञानको केन्द्र बन्ने निश्चित देखिन्छ ।
ढकाल त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागमा अध्ययनरत छन्
तपाईको प्रतिक्रिया