अनुशासनका लागि खेलकुद अपरिहार्यः पौडेल

पोखरा ।
प्याब्सन कास्कीद्वारा आयोजित १७ औं प्याब्सन स्पोर्टस मिट औपचारिक सुरुमा सुरु भएको छ । पोखरा रंगशालामा आइतबार आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मिट उद्घाटन गरेका छन् ।
मन्त्री पौडेलले समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य भएकोमा जोड दिए । उनले भने, ‘जसरी शिक्षा बिना समाज विकासको परिकल्पना गर्न सकिँदैन त्यसरी नै समाजमा अनुशासन कायम गर्ने सँगै स्वास्थ्यका लागि समेत खेलकुदको विकास आवश्यक छ ।’
मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै उनले विशेष गरी उच्च तहका शिक्षण संस्थाले थप जिम्मेवारी बहन गर्न आवश्यक रहेको उनले औंल्याए ।
शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने बताउँदै मन्त्री पौडेलले भोलिका कर्णधारहरुको भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए । शिक्षण संस्थामा तालाबन्दी गर्ने र बन्द गर्ने जस्ता कुरालाई रोक्न आग्रह गर्दै उनले कानुनमा कुनै अवरोध भए त्यसको समाधान गर्न सरकार गम्भीर भएर अघि बढ्ने बताए ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद वेदबहादुर गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेम नारायण अर्याल, प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी लगायतले अुनशासन र कृयाशिलताका लागि खेलकुद अपरिहार्य हुने बताए ।
उद्घाटनमा कास्की प्याब्सनमा आवद्ध ५२ विद्यालयले मार्च पास गरेका थिए । मार्च पासमा रेन्बो एकेडेमी होम्स पहिलो भएको छ । मेरी गोल्ड दोस्रो, पोखरा लनर्सले तेस्रो स्थान हात पार्दा हाभर्ड मावि, हिल पोइन्ट मावि, ढुंगेसाँघु मावि तथा विन्ध्येश्वरी माविले सान्त्वना स्थान प्राप्त गरे ।
आइतबार नै भएका एथलेटिक्स प्लस टु छात्र १ हजार ५ सय मिटर दौडमा करुणानिधिका विवेक परियार प्रथम, प्रतिभा सेकेन्डरीका होमबहादुर अधिकारी द्वितीय र सृजना सेकेन्डरीका सन्दीप श्रेष्ठ तृतीय भए । प्लस टु ८ सय मिटर छात्रातर्फको दौडमा स्नो भ्यु माविकी पार्वती श्रेष्ठ प्रथम, बेथानीकी रोमिना गुरुङ द्वितीय र प्रतिभा सेकेन्डरीकी ऐरिना पुर्जा तृतीय हुन सफल भए ।
प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र भलिबलतर्फ आइतबार ८ खेल भएको भलिबल संयोजक नवीन बरालले जानकारी दिए । गुरुकुलले प्रतिभालाई २–० को सोझो सेटमा पराजित गर्दा पोखरा पब्लिकले एक्स आर्मीलाई २–० ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २–० ले, सृजनाले कुमुदिनीलाई, माउन्ट अन्नपूर्णले बेथानीलाई, टप्सले सबलाइमलाई, केफले गोल्डन नेचरलाई २–० को सोझो सेटमा पराजित गरेका छन् भने हाभर्डले भास्करलाई २–१ को सेटमा पराजित गर्न सफल बने ।
प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीबीच छात्र/छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टमा ७ हजार ७ सयभन्दा बढी प्रतिश्पर्धामा छन् ।
तपाईको प्रतिक्रिया