डाक्टरले भने–तपाईं ११० वर्ष बाँच्नुहुन्छ

पोखराको भैरवटोल निवासी १ सय ३ वर्षका गोपाल वैद्यलाई पोखराका शताब्दी पुरुष भनिन्छ । उनको साहित्यिक उपनाम हो किञ्जल्क । उनी नेपाली र संस्कृतमा छन्दवद्ध मीठा कविता लेख्छन् । उनलाई धेरैले बाग्लुङे वैद्य भन्ने गर्छन् ।
विसं. २००९ मा बागलुङबाट पोखरा आएका गोपाल वैद्यका बुवा मेघकुमार नामुद वैद्य थिए । गोपालको सुरुवाती पढाइ बागलुङको भाषा पाठशालामा भएको थियो । पछि पोखरामा पं. शिवकुमार रेग्मीसँग पढेका उनी थप अध्ययनका लागि रानीपोखरी, काठमाडौंमा पुगे ।
गोपालले पिताले गरिआएको परम्परागत पेशालाई परिमार्जन र युगानुकूल बनाउन बनारसमा गई संस्कृत भाषा अध्ययन गरे । यसअघि उनको पढाइ महोत्तरीको मटिहानी गुरुकुलमा भएको थियो ।
उनले संस्कृत साहित्यमा मध्यमा पास गरी औषधी विज्ञानमा स्नातक गरेका छन् । महेन्द्र संस्कृत विश्वविद्यालयले उनले लेखेका पुस्तकलाई हालै पाठ्यक्रममा सामेल गरेको छ । नेवारको छोरा कसरी संस्कृत पढ्नु भयो भन्ने प्रश्नमा उनी भन्दछन्–आयुर्वेद संस्कृत भाषामा भएको हुँदा संस्कृत नपढी नहुने भन्ठानेर बनारसमा पढेँ ।
‘मैले समाजका लागि केही गरेको छैन, तसर्थ मान, सम्मान, पदक ग्रहण गर्न सक्दिनँ । जीवन सेवाका निम्ति हो, प्रचारका निम्ति होइन ।’
आजन्म शाकाहारी कविराज गोपाल वैद्य ‘किञ्जल्क’ ईश्वरमा गहिरो आस्था राख्छन् । उनी सरल छन् । मानसम्मान लिने कुरामा ४ हात पर सर्छन् र उनी विनम्रतापूर्वक भन्ने गर्दछन्, ‘मैले समाजका लागि केही गरेको छैन, तसर्थ म यस्ता मान, सम्मान, पदक ग्रहण गर्न सक्दिनँ । जीवन सेवाको निम्ति हो, प्रचारका निम्ति होइन ।’
१ सय ३ वर्षका भएर पनि उनी आरोग्य छन्, निरोगी छन् । भोजनमा ध्यान दिन्छन् । पोखरामा उनी दीर्घायु जीवनका प्रतीक बनेका छन् । आफ्नो दीर्घजीवनबारे उनी भन्छन्, ‘यो सबै यहाँहरुको आशीर्वादले सम्भव भएको हो । १०० वर्ष हुँदा आँखाको अपे्रसन गरेँ । सफल पनि भयो । डाक्टर सापले खुसी हुँदै भन्नुभयो । अब तपाईं १ सय १० वर्ष बाँच्नुहुनेछ ।
अहिले त्यो बेलाको कुरा सम्झदै वैद्य भन्छन्, ‘डाक्टरले दिएको आशीर्वाद कसरी नलाग्ला र ?’ उनका बुवा मेघकुमार बागलुङका एक हस्ती थिए । जसले समाजसेवी ओमप्रसाद गौचनसँग मिलेर बाल मन्दिर विद्यालय स्थापना गरे, पुस्तकालय खोले । उनका हजुरबुबा वैद्य भेषज्यकुमार ।
मेघकुमार १९९१ मा बाग्लुङ आएका थिए । मेघकुमार विद्वान, दूरदर्शी र साधु प्रकृतिका थिए । गानाबजानामा रुचि राख्थे । सितार र हार्मोनियम बजाएर भजन गाउँथे । हजुरबुबा भैषज्य र बुबा मेघकुमार वैद्यले प्राप्त गरेको बाग्लुङे वैद्यको ख्याति जेठो छोरा गोपाल वैद्यले थाम्दा बाग्लुङे वैद्य कहलिए ।
किञ्जल्क नामबारे उनको स्पस्टिकरण छ, ‘संस्कृत भाषामा पुष्पकेशरलाई किञ्जल्क भनिन्छ ।’ आयुर्वेदमा आरोग्य प्रदान गर्ने स्थललाई भैषज्य भनिन्छ । त्यसैले आफ्नो गृहको नाम भैषज्य सदन उनले राखे । उनका पुर्खा राजधानीबाट प्युठान, नेपालगञ्ज हुँदै पछि बाग्लुङ आएका थिए । राजनीतिमा रुचि नराखे पनि उनी कुनै बेला बाग्लुङ जनसरकारमा स्वास्थ्मन्त्री पनि भए । २००७ सालको क्रान्तिमा बाग्लुङमा जनसरकार बन्यो ।
ओमप्रसाद गौचनको नेतृत्वमा मन्त्री मण्डल बन्यो । नामुद वैद्य भएका कारण गोपाल वैद्यसँग सोध्दै नसोधी स्वास्थ्यमन्त्री बनाइयो । उनलाई यो पद पटक्कै मन परेन । उनले सपथ पनि लिएनन् । उनले मन्त्री पद अस्वीकार गरेपछि अर्का वैद्य टेकनारायण भारीलाई स्वास्थ्यमन्त्री बनाइयो । उनी मानसम्मान, अभिनन्दन, तक्मा आदि बाह्य आडम्बर मन पराउँदैनन् ।
नियमित ब्रह्ममुहर्तमा उही स्नान, ध्यान, पूजा, ब्रह्म चिन्तनमा मस्त हुँदै नियमित पत्रिका पढ्ने, रेडियो सुन्ने गर्छन् । दीर्घायु जीवनका प्रतीक किञ्जल्क पोखराका गौरव पनि हुन् ।
उनले धेरै वर्ष आयुर्वेदिक औषधी बेचे । गाउँघरमा गई सेवा गरे । त्यस बेला बिरामीले औषधीमूलो गरेवापत अनाज दिन्थे ।
त्यही अनाजले परिवार पाल्नु पर्दथ्यो । धेरैको औषधोपचार गरे । बिरामीलाई चाहिने मात्रामा मात्र औषधी बेच्थे । बढी औषधि किन्न खोज्नेलाई सम्झाउँथे–औषधि आवश्यक भएमात्रै सेवन गर्ने हो, बढी खाए अमृत पनि विष बन्छ ।
पुरानो लामाचौतरा (हाल भैरवटोल) मा आनन्दमय जीवन बिताइरहेका वैद्य भन्दछन्– भगवान मलाई बिरामी नबनाई दिनुस् । परमात्माको चिन्तन गर्दै यो जीवन बितोस् । प्युठानमा जन्मेका वैद्यले ८२ वर्षको उमेरसम्म आयुर्वेदको क्षेत्रमा काम गरे । अझै पनि उनलाई भेट्न आउनेहरूको संख्या कम छैन । सबैलाई आदर सत्कार गर्छन्, सबैसँग भलाकुसारी गर्छन् । उनका प्रमुख कृतिमा सुक्ति–मुक्ताहरु, हिमाद्रि–महिमा पद्याऽमृतम छन् ।
विस १९७७ वैशाखमा दिन जन्मिएका वैद्यको २००७ मा गणेशकुमारी श्रेष्ठसँग विवाह भएको थियो । उनी २०१५ मा बागलुङको घरलाई शून्य पारेर काली भगवतीलाई वन्दना गर्दै ३ दिन हिँडेर गौमातासहित पोखरा आएका थिए । वैद्यले सामाजिक, शैक्षिक क्षेत्रमा पनि हात हाले । उनी कन्या स्कुल नदीपुरमा सञ्चालक समिति सदस्य पनि भएका थिए ।
तपाईको प्रतिक्रिया