पदक विजेतालाई पाेखरा ९ काे सम्मान

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालयले नवौं खेलकुद प्रतियोगितामा पदक ल्याउने खेलाडीलाई नगदसहित सम्मान गरेको छ । पोखरा महानगरपालिका ९ मा स्थायी बसोबास गरेका तथा पोखरा ९ बाट खेलेका १२ खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सोमबार एक समारोहबीच नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीमा ४५ केजी तौल समस्हको फुल कन्ट्याक कराँते महिलातर्फ स्वर्ण पदक विजेता पुष्पा कुँवर, सोही इभेन्टको ५० केजी तौल समूह पुरुषतर्फको स्वर्ण पदक विजेता अनिश बुढामगर, स्क्वास एकल तथा टिम इभेन्टमा स्वर्ण पदक विजेता दीपक थापा, स्क्वासमा स्वर्ण पदक विजेता हिराकाजी श्रेष्ठ र बक्सिङतर्फ स्वर्ण पदक विजेता दीपक सुनार छन् ।
स्वर्ण पदक दिलाउन अहोरात्र खटिएकी बक्सिङ प्रशिक्षक प्रियन्का बर्मा सम्मानित भएकी छन् । फुल कन्ट्याक कराँते खुलातर्फ रजत पदक विजेता रुपक नेपाली, सोही इभेन्टको पुरुष ६५ केजी तौल समूहमा रजत पदक विजेता शिव भुजेल, उसु ७० केजी तौल समूहमा रजत पदक विजेता अनिश आलेमगर, टेबल टेनिस मिक्स डबलमा कास्य पदक विजेता मुना थापा, फुटबल तर्फको कास्य पदक विजेता खेलाडीहरु मानबहादुर तामाङ र विजय श्रेष्ठ सम्मानित भएका हुन् ।
टेबुल टेनिस प्रशिक्षक उत्तम जोशी र पोखरा ९ का व्यवस्थापक अमन केसीलाई पनि सम्मान गरिएको थियो । स्वर्ण पदक विजेतालाई नगद १० हजार, रजत पदक विजेतालाई ५ हजार र कास्य पदक विजेतालाई ३ हजार साथमा प्रशंसा पत्र प्रदान गरिएको हो ।
खेलाडीको हौसला र प्रोत्साहनका लागि पोखरा ९ ले खेलाडी सम्मान गरेको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । आफ्नो परिवार खेलकुदसँग आबद्ध भएको हुनाले पनि आफूले खेलाडीहरुको सम्मान गर्ने एउटा सानो अभियानमात्र सुरु गरेको अध्यक्ष मर्सानीले बताए ।
खेलाडी एवं प्रशिक्षक तथा व्यवस्थापकलाई वडा अध्यक्ष मर्सानीको साथमा वडा सदस्य भावना श्रेष्ठ, गीता ताम्राकार पोखरा ९ का खेल संयोजक राजेन्द्र पहारी, पोखरा ९ का वडा सचिव कुलराज पौडेल लगायतले सम्मान गरेका हुन् ।
तपाईको प्रतिक्रिया