पोखरा आएर प्रचण्डले भने, अर्कोपालिको निर्वाचन क्षेत्र कास्की हुन सक्छ

समाधान संवाददाता २०७९ मंसिर २८ गते १५:०३

पोखरा ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्काे पटकको निर्वाचनमा कास्कीबाट उठ्न सक्ने बताएका छन् । बुधबार आफ्नो जन्म ठाउँको आफूले पढेको कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित श्री महेन्द्र आधारभूत विद्यायलयको हीरक जयन्ती महोत्सवमा बोल्दै प्रचण्डले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका हुन् । अहिलेसम्मका निर्वाचनमा हरेक पटक फरकफरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्कोपटक कास्कीबाट लड्ने सक्ने सुनाए ।

Advertisement

‘मैले पहिलो पटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडें । दोस्रो पटक मधेशबाट लडें । यसपछि फेरि चितवनबाट लडें अहिले गोरखाबाट चुनाव जितेर आएको छु,’ प्रचण्डले भने, ‘मलाई लाग्छ समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’

कार्यक्रममा बोल्दै प्रचण्डले गठबन्धको सरकार बन्ने बताएका छन् । ‘सरकार गठबन्धनकै हुन्छ,’ उनले भने, ‘अहिले सरकार गठनको विषय चलिरहेको छ ।’ अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने उनले बताए ।

प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताएका छन् । प्रचण्डले भने,’ देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त छ ।’

प्रचण्डले अब कसरी अगाडि बढ्ने भनेर घनिभूतरुपमा गृहकार्य गरिरहेको बताए । प्रचण्डले भने, ‘यो पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दललाई अवसर र चुनौती दिएका छन् । सुशासन र समृद्धिको दृष्टिकोणले जनतालाई केहि दिन आवश्यक छ । यो निर्वाचनबाट केहि नयाँ राजनीतिक दल जन्मिएका छन् । नयाँ दललाई नकारात्मक होइन सकारात्मक रुपमा लिनुपर्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया