
जोमसोम ।
मुस्ताङमा यो वर्ष ९ हजार ६ सय ३ मेट्रिक टन आलु उत्पादन भएको छ । जिल्लाका ५ वटै स्थानीय तहको ३ सय १२ हेक्टरमा उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रले जिल्लाका ५ वटै स्थानीय तहसँग समन्वय गरी कृषि ज्ञान केन्द्र मुस्ताङले आलुको क्रप कटिङ गरेको थियो ।
केन्द्रका अनुसार जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको छ । २० प्रतिशत आलु बिउँका लागि खपत हुन्छ भने १० प्रतिशत जिल्लामै खपत हुने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।
मुस्ताङमा प्रति हेक्टर औसत ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । चालु आर्थिक वर्षमा कुल उत्पादनको ७० प्रतिशत अर्थात ६ हजार ७२२ मेट्रिक टन आलु जिल्ला बाहिर निर्यात हुँदा करिब ३३ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको ज्ञान केन्द्रले जनाएको छ ।
बर्सेनि कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाको औसत आलु उत्पादनको तथ्यांक संकलन गर्ने गरेको छ । केन्द्रका कृषि प्राविधिक, स्थानीय तह र सम्बन्धित कृषकको आलुबारीमा पुगेर तथ्यांक संकलन गर्ने गरिएको कार्यालय प्रमुख बस्ताकोटीले उल्लेख गरे । फरक फरक स्थानमा पुगेर प्रति १० वर्गमिटर क्षेत्रफलमा उत्पादन भएको आलुलाई क्रप कटिङ विधिबाट आलुको उत्पाकत्व मापन गरिने उनले बताए ।
हिमाली क्षेत्र, उच्च उचाइ र चिसो हावापानीमा उत्पादित मुस्ताङी आलु अन्य स्थानको भन्दा फरक हुन्छ । मुस्ताङमा चालु वर्ष प्रति पाथी १ सय ५० रुपैयाँ देखि २ सय १० रुपैयाँसम्ममा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमा पाथीको हिसाबले आलु बिक्री गर्ने चलन छ । १ पाथीमा ३ केजी र १ मुरीमा सरदर ६० केजी आलु हुन्छ ।
मुस्ताङमा स्याउ जस्तै, फापर र आलु मुख्य बाली हुन् । पछिल्लो समय आलु उत्पादनबाट राम्रो फाइदा लिने सकिने भएकाले कृषकको आर्कषण बढ्दो रहेको स्थानीय किसान अजित थकालीले बताए । मुस्ताङमा आलु किन्न जिल्ला बाहिर र स्थानीय व्यापारीले कृषकसँग समन्वय गर्ने गर्छन् । मुस्ताङमा सडक यातायात सहज भएसँगै आलुको दरभाउ समेत बर्सेनि वृद्धि भइरहेको छ ।
गत वर्षको मंसिरदेखि फागुन महिनामा लगाएको आलु चालु वर्षको भदौ र असोज महिनाका निकालिएको हो । अहिले फेरि यहाँका किसान नयाँ आलु लगाउने तयारीमा जुटेका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङसँग आलुको यकीन तथ्यांक नरहे पनि जिल्लाको लोघेकर दामोदरकुण्डमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । त्यसपछि वारागुङ, लोमान्थाङ, घरपझोङ र थासाङमा आलु उत्पादन हुने गर्छ ।
मुस्ताङका किसानले बर्सेनि मंसिरदेखि फागुन महिनासम्म खेतबारीमा आलु रोप्छन् । यसरी रोपिएको आलु भदौ र असोज महिनामा खनिन्छ । हिमपातको चिस्यानले रोग र किटाणु नष्ट गर्ने र भेडा—च्यांग्रा र गोरु—झोपाको मल प्रयोग गरिने भएकाले मुस्ताङको आलु स्वादिलो हुन्छ ।
चिसो मौसमका साथै हिउँले सिञ्चित मुस्ताङको आलुबारीमा विभिन्न रोग संक्रमणसमेत हिउँ पानीले नियन्त्रण गर्ने भएकाले विषादीको प्रयोग गर्नु पर्दैन । मुस्ताङमा उत्पादित आलु कोसेलीको रुपमा पनि पर्यटकले लैजाने गर्छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया