
पर्वतकी रामकला थापाको २२ वर्षमा बिहे भयो । स्नातक अध्ययन गर्दै गर्दा पढाइ सकेर सन्तान जन्माउने सोचमा उनीहरुका दम्पत्ती पुगे । त्यसैले उनले डाक्टरको परामर्श नलिई तीन महिने संगिनी सुई लगाइन् ।
सुई लगाएपछि मात्र उनलाई थाहा भयो बच्चा नजन्मदै संगिनी सुई लगाउनु भनेको बाँझोपन निम्त्याउनु सरह हो । अहिले विहे भएको तीन वर्ष वितिसकेको छ । सन्तानको रहर गर्दा पनि गर्भ बसेको छैन । उनी बच्चा बस्दैनकी भन्ने मानसिक तनावमा छिन् ।
उनी भन्छिन् ‘अहिले डाक्टर परामर्श लिइरहेका छौं तर डाक्टरले अस्थायी साधनको असर यति लामो समयसम्म नबस्ने भएकाले अरु कारण हुन सक्ने बताए पछि बाँझोपनको उपचार तिर पनि ध्यान दिएका छौ ।’ रामकला श्रीमानले अस्थायी साधनको प्रयोग गरेको भए यस्तो खालको मानसिक तनाव नहुने उनको भनाइ छ ।
बन्ध्याकरण गराए कमजोर हुने, यौन सुख प्राप्त नहुने जस्ता अफवाहले पनि महिलाले नै स्थायी बन्ध्याकरण र अस्थायी साधन प्रयोग गर्न बाध्य हुने गरेका छन्
रामकलाको भन्दा फरक अवस्था छ सम्झनाको । दुई सन्तानपछि सन्तान नजन्माउने मनस्थितिमा रहेकी सम्झना अहिले महिनावारी रोकिएपछि तनावमा छिन् । यस अघि पनि अनिच्छित गर्भ बसेपछि उनले ७ हप्ताको गर्भ पतन गरिन् ।
अहिले पुनः दोस्रोपल्ट पनि उनको महिनावारी रोकिएपछि उनलाई तनाव भएको छ । श्रीमान्ले अस्थायी साधन प्रयोग गर्न पनि नमान्ने आफूले पिल्सको प्रयोग गर्दा शरिरमा मोटोपन झनै बढेपछि उनले प्रयोग गर्न छाडेको बताइन् ।
सम्झना आफू दुई सन्तानकी आमा हुँदै गर्दा अनइच्छुक गर्भका कारण मानसिक र शारीरिक तनावमा छिन् । एक निजी विद्यालयमा अध्यापन गराउँदै आएकी सम्झना लाई श्रीमानले गर्भनिरोधक अस्थायी साधनको प्रयोग गर्न दबाब दिने तर आफूले प्रयोग गर्न नमान्ने भएपछि झगडा पर्ने गरेको उनले सुनाइन् । ‘मलाई अस्थायी साधनको प्रयोग शरीरलाई फापेन तर उहाँ प्रयोग गर्न मान्नु हुन्न । नत स्थायी बन्ध्याकरणकै लागि राजी हुनुहुन्छ ।’
गर्भनिरोधक अस्थायी साधनको प्रयोगले आफूमा स्वास्थ्य समस्या आएको जुना क्षेत्री बताउँछिन् । कपर टी लामो समय प्रयोगका कारण अहिले महिनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने, अनुहारमा चायाँ पोतो आउने समस्या देखिएको उनले सुनाइन् ।
यसरी हेर्दा विभिन्न कोणबाट परिवारको नियोजनको साधनको प्रयोग महिलाले नै गर्नु पर्ने यदि गरिएन भने पनि त्यसको नतिजा महिलाले नै भोग्नुपर्ने अवस्था देखिन्छ । अर्कोतर्फ नजिक स्वास्थ्यचौकी र क्लिनिकहरुमा जे सहज छ त्यसैको प्रयोग गर्न महिला बाध्य भएका छन् । अस्थायी साधनको छनोटको अधिकारबाट पनि महिला बञ्चित देखिन्छन् ।
परिवार नियोजनको जिम्मेवारी वास्तवमा महिला र पुरुष दुवैको भए पनि पुरुषले शारीरिक सम्बन्धको सुख मात्र खोज्ने तर त्यसले निम्याउन सक्ने नतिजाको भागिदार हुन नखोज्ने अधिवक्ता शर्मिला श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘पित्तृसत्तात्मक समाजमा प्रजनन स्वास्थ्यको अधिकार माथि पनि पुरुषको अधिपत्य चलेको छ ।
यसैका उदाहरण हुन् महिला केन्द्रित गर्भनिरोधक अस्थायी साधन ।’ परिवार नियोजनमा महिला–पुरुष दुवैको समान सहभागिता नहुनु पितृसत्तात्मक सोच र व्यवहारको उपज भएको उनको ठम्याइ छ । श्रेष्ठ परिवार नियोजनको प्रयोगमा समान सहभागिता बढाउन प्रजनन स्वास्थ्य शिक्षाको ब्यापक प्रचार साथै दम्पतीबीचको समझदारी आवश्यक ठान्छिन् ।
गर्भनिरोधक साधनहरू महिला लक्ष्य गरेर उत्पादन गरिएका सोहीअनुसारको बजारीकरण भएको उनको भनाइ छ । परिवार नियोजनको अस्थायी साधन डिपो, पिल्स, कण्डम, आइयुसिडी, इम्प्लान्ट हुन् । यी पाँचमध्ये अस्थायी साधनमध्ये एउटा मात्रै पुरुषका लागि छ ।
‘हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलाले प्रजनन अधिकारको निर्णय आफैँले गर्न सक्ने अवस्था छैन । परिवार नियोजन प्रयोग गर्ने/नगर्ने, आफूले गर्ने वा श्रीमान्लाई गराउने निर्णयको अधिकारबाट महिला बञ्चित छन्,’ श्रेष्ठ भन्छिन् ‘हाम्रो समाजमा कमै पुरुष छन् जो आफूले गर्भनिरोधक साधन प्रयोग गर्छन् । अनिच्छुक गर्भ रहँदाको परिणाम महिलाले नै भोग्नुपर्छ भने त्योसँगै आउने शारीरिक र मानसिक पीडाको भागिदार पनि महिलानै हुनुपर्छ ।’
परिवारको खुसीलाई केन्द्रविन्दुमा राख्न रुचाउने भएकाले महिलाले ‘मेरो शरीरः मेरो मर्जी’ प्रयोग पनि गर्न सकेको उनी बताउँछिन् । श्रेष्ठ भन्छिन् ‘समाजमा केहीको सोच पुरुषले स्थायी बन्ध्याकरण गराउनु हुँदैन भन्ने गलत बुझाइ छ, बन्ध्याकरण गराए कमजोर हुने, यौन सुख प्राप्त नहुने जस्ता अफवाहले पनि महिलाले नै स्थायी बन्ध्याकरण र अस्थायी साधन प्रयोग गर्न बाध्य हुने गरेका छन् ।’
श्रेष्ठका अनुसार गर्भ निरोधकका अस्थायी साधन ६ वटा भएपनि महिलाको सहज पहुँचमा तीन महिने सुई र पिल्स र कण्डम मात्र छन् । आइयुसिडी, इन्प्लान्ट, मिनिल्याप जस्ता साधन महिलाले आफ्नो स्वास्थ्य सुहाँउदो छनोटको अधिकारको रुपमा प्रयोग गर्न पाएका छैनन् । सहज जे उपलब्ध छ, त्यही प्रयोग गर्न बाध्य छन् । सहज उपलब्ध भएका साधन कतिपयको शरीर प्रतिकुल हुने गर्छन् ।
अर्कोतर्फ हर्मोन ब्यालेन्स गर्भनिरोध साधनमा महिलालाई मात्र बढि केन्द्रित गरेर जिम्मेवारी बनाइएको छ । यो देख्दा विश्वमै महिलालाई ‘एक्सपेरिमेन्ट’को रुपमा हेरिएको उनको बुझाइ छ ।
महिलाले प्रयोग गर्ने केही गर्भनिरोधक अस्थायी साधनले हर्मोन डिसब्यालेन्स गर्ने भएकाले पनि महिलाको शरीरमा कहिलेकाही साइड इफेक्ट देखिने सक्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. चन्द्रिका पण्डित बताउँछिन् ।
उनका अनुसार अस्थायी गर्भनिरोधक साधनले प्राकृतिक हर्मोनलाई औषधि वा सुईको माध्यमबाट प्रतिकुल बनाइराखिने भएकाले नै गर्भ बस्न नसक्ने हो र यसको असर प्रयोग गरिरहँदासम्म मात्र हुन्छ । महिला लक्षित अस्थायी साधन धेरै छन् ।
अस्थायी साधनको प्रयोगकर्ता पनि महिला बढी छन् । यो छुट्टै बहसको विषय हो । डा. पण्डितका अनुसार कतिपय अवस्थामा महिलाले अस्थायी गर्भनिरोधक साधनको प्रयोग छोडेको केही महिनाभित्रै गर्भ बसेन अब बाँझोपनको हुन्छ कि भन्ने चिन्ता लिने गरेको पनि पाइन्छ तर यो सत्य होइन ।
अस्थायी गर्भनिरोधक साधन प्रयोग गर्न छोडेको १ वर्षभित्र नै सामन्य भइसकेको हुन्छ । आकस्मिक गर्भनिरोधक साधन असुरक्षित यौन सम्पर्कबाट गर्भ बस्न नदिन महिलाले प्रयोग गर्ने खाने चक्की हो ।
केही अस्थायी साधनको प्रयोगले हर्मोनमा डिसब्यालेन्स हुँदा अनुहारमामा चायाँ पोतो आउने, महिनवारीमा गडबडी हुने, शरीर मोटाउने हुन सक्छ तर यसको प्रयोग गर्नु अघि सम्बन्धित विशेषज्ञको परामर्श लिन जरुरी भएको उनी बताउँछिन् ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी ऐन २०७५ को दफा ११ मा बलपूर्वक परिवार नियोजनका साधन गराउन नहुने उल्लेख छ । दफा १२ मा बलपूर्वक गर्भनिरोधकका साधन प्रयोग गराउन नहुने सोही ऐनको दफा १२ मा व्यवस्था गरिएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालय महाशाखाको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०७७÷७८ मा ३८ प्रतिशत महिलाले बन्ध्याकरण गरेका छन् भने र पुरुषको संख्या ११ प्रतिशत छ । त्यसैगरी इन्प्लान्ट १८ प्रतिशत, डिपो १४ प्रतिशत र पिल्स ७ प्रतिशत कपर टि (इयुसिडी) ६ प्रतिशत छ भने पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको प्रयोग जम्मा ६ प्रतिशत छ ।
यी कतिपय अवस्थालाई हेर्दा महिलाहरु आफ्नो प्रजनन स्वास्थ्यको अधिकारलाई समुचित प्रयोग गर्नबाट बञ्चित भएका छन् । जसले गर्दा अनइच्छुक गर्भधारणा साथसाथै असुरक्षित गर्भपतको जोखिम पनि निम्त्याउने चुनौती बढ्दै गएको देखिन्छ ।

जमुना वर्षा शर्मा
डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन्
तपाईको प्रतिक्रिया