‘नेपालको चुनावमा विश्व राजनीतिको प्रभाव’

समाधान संवाददाता २०७९ मंसिर २९ गते १२:५९

पोखरा ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विश्व राजनीतिको उथलपुथलको प्रभाव नेपालको आम निर्वाचनमा परेको दाबी गरेका छन् । उनले विदेशी शक्ति राष्ट्रिय पार्टीबाट सहरिया मध्यम वर्गलाई टाढा राख्न अहिलेको चुनावमार्फत सफल भएको उल्लेख गरे ।

Advertisement

नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बधाई तथा धन्यवाद कार्यक्रममा नेता पोखरेलले अस्थिर मनोविज्ञानलाई नेपाल विरोधी शक्तिले प्रयोग गर्न सफल भएको तर्क गरे ।

‘छिटो छिटो परिवर्तन खोज्ने प्रवृत्तिको सहरिया मध्यम वर्गलाई वैकल्पिक शक्तिका नाममा राष्ट्रिय पार्टीबाट अलग गराइयो,’ उनले भने, ‘मधेसमा परम्परागत क्षेत्रीय शक्ति कमजोर हुँदा राष्ट्रिय पार्टीतर्फ आउने जनमतलाई मधेसकै नयाँ क्षेत्रीय पार्टीतर्फ नियोजित रूपमा ‘डाइभर्ट’ गर्ने काम भयो ।’

उनले राष्ट्रिय पार्टीतर्फ ‘डाइभर्ट’ हुनुपर्ने सहरिया जनमतलाई पनि परम्परावादी र स्वच्छन्दवादी शक्तितर्फ लैजाने प्रयास सफल भएको उल्लेख गरे । उनले जसको कारण नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माणको ऐतिहासिक आवश्यकता पूरा नभएको तर्क गरे ।

उनले अहिलेको निर्वाचनमा शहरिया मध्यमवर्गलाई दुई कित्तामा विभाजन गरे राष्ट्रिय पार्टीलाई टाढा राख्ने काम भएको विश्लेषण गरे । धर्म, संस्कृतिको एजेन्डा बोक्ने परम्परावादी शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अघि सार्ने प्रयास भएको जानकारी दिदै उनले पश्चिमा संस्कृतिको प्रभावमा युवालाई स्वतन्त्र पार्टीतर्फ झुकाव बढाएको चर्चा गरे ।

Advertisement

उनले बहुदलीय व्यवस्थापछि जहाँ राज्यको साधन, स्रोत सबैभन्दा बढी लगानी भएको ठाउँमा वैकल्पिक पार्टीले सफलता पाएको बताए । जसले प्रमुख दलले गर्न नसकेको कारण जनताले विकल्प खोजेको प्रमाणित हुन नसक्ने उनको तर्क छ ।

काठमाडौं, चितवन, पोखरा, रुपन्देही मोरङ झापा, दाङ लगायतका स्थानमा राज्यको अधिकतम साधन, स्रोत, सामाजिक विकास र पूर्वाधार निर्माणका काम भएको उल्लेख गर्दै उनले त्यहाँ प्रमुख दलले काम गरेको भएतापनि स्वतन्त्र तथा राप्रपाको प्रभाव परेको उल्लेख गरे ।

पार्टीका स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य खगराज अधिकारीले आम निर्वाचनमा गठबन्धन वाहेकका लौरो, घण्टी, हलोलाई प्रतिस्पर्धी ठान्न नसक्नु कमजोरी भएको उल्लेख गरे । उनले पार्टीको आन्तरिक विषयलाई सामाजिक सञ्जालमा सार्वजनिक नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापा, प्रतिनिधि सभाका सदस्य विद्या भट्टराई, पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, गण्डकी प्रदेश सभा सदस्य देवका पहारी त्रिपाठी, पार्टी जिल्ला कमिटी कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षत्री, उपसचिव दर्शन लामा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया