सेतीलाई पर्यटकीय गन्तव्य बनाउँदै युनाइटेड क्लब

पोखरा ।
युनाइटेड क्लबले ११ औं पोखरा महोत्सवबाट सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउन पहलकदमी लिने भएको छ । महोत्सवकै आयोजना गरी प्रति टिकट १ रुपैयाँ छुट्याउँदै आएको क्लबले आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा गर्ने महोत्सवबाट बचत भएको रकममध्ये केही यसका लागि छुट्याउने भएको हो ।
बिहीबार भएको पोखरा महोत्सवको सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरुको बैठकले महोत्सवबाट सेती नदीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि अग्रसर हुने निर्णय गरेको हो । स्थापना कालदेखि नै पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी गरेको क्लबले दशौं पोखरा महोत्सवसम्म आइपुग्दा ५८ लाख ८५ हजार २ सय ३० रुपैयाँ यसका लागि हस्तान्तरण गरिसकेको छ ।
अहिले चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण भएको छ । हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजना अन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहतमा रही जिल्ला डिभिजन वन कार्यालय कास्कीले लिइसकेकाले क्लबले आगामी दिनमा नयाँ पहलकदमी थाल्न लागेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
क्लबले महोत्सवबाट क्लवको जग्गा भएको स्थान पोखरा २६ अर्चलेमा भौतिक निर्माणका लागि समेत रकम छुट्याउने भएको छ । पोखरा महोत्सवमा ४० देखि ५० स्टल निशुल्क रुपमा प्रदान गरिने भएको छ । जुन गैर नाफामूलक संस्था, पर्यटनसम्बन्धी स्टल, होम स्टेको प्रचारप्रसारका स्टल, सचेतनामूलक स्टलले पाउने प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा २ सय ५८ स्टल रहने छन् ।
महोत्सवमा साधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ टिकट दर कायम गर्ने गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपांग, सुरक्षाकर्मी, पत्रकार र विदेशी पर्यटकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइनेछ ।
महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक गायिकासँगै ख्यातिप्राप्त ब्यान्डहरु, नेपाली संस्कृति झल्कने झांकी तथा नृत्यहरुको समेत प्रस्तुति रहने छन् । बैठकमा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, सल्लाहकारहरु तीर्थलाल श्रेष्ठ, भरत केसी, तेजबहादुर गुरुङ, मेजर हितमान गुरुङ, दीपक थापा, लीलाधर अधिकारी, रमेशबहादुर कार्की, पवित्रादेवी गुरुङ, महोत्सव हस्तकला उपसमिति संयोजक सविता श्रेष्ठ रञ्जित लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया