उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

पोखरा ।
विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिना यसअघि क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन् ।
१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो । अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
१९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो । त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन । १९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो ।
यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो । फ्रान्स भने यसअघि फाइनलमा एक पटक मात्रै पराजित भएको छ । २००६ मा इटलीसँग पराजित भएको थियो । यो उसको चौथो फाइनल हो ।
विश्वकप फुटबलमा यी दुई टोली तेस्रो पटक भेट भएका हुन्। पहिलो पटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो । गएको विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए । जसमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो ।
फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक एक खेलमा पराजित भएका छन् । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेवियासँग पराजित भएको थियो । समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको थियो ।
अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेको थियो । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई हराएको थियो ।
सेमिफाइनलमा भने दुवै टोलीले एउटै समूहबाट आएका राष्ट्रसँग पराजित गरेका हुन् । समूह ‘एफ’मा रहेका मोरक्को र क्रोएसियाले समूह चरणको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए ।
गोल्डेन बुटको दौडमा मेस्सी र एम्बाप्पे
फ्रान्सका केलियन एम्बाप्पेले लगातार २ खेलमा गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीले अग्रता लिएका छन् । क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध गोल नगरेका एम्बाप्पेले सेमिफाइनलमा मोरक्कोविरुद्ध पनि गोल र असिस्ट दुवै गर्न सकेनन् ।
असिस्टका कारण गोल बराबरी भएपनि एम्बाप्पेलाई मेस्सीले पछि पारेका हुन् । एम्बाप्पे र मेस्सीले समान ५ गोल गरेका छन् । मेस्सीले ३ गोलमा असिस्ट गर्दा एम्बाप्पेले २ गोलमा असिस्ट गरेका छन् ।
गोल संख्या बराबरी भएमा असिस्ट जसको बढी छ उसैलाई गोल्डेनबुट प्रदान गरिनेछ । असिस्ट पनि बराबरी भएको अवस्थामा मात्रै दुई खेलाडीले खेलेको समयका आधारमा निर्णय गरिनेछ । खेल समय भने एम्बाप्पेको कम छ ।
सबै खेलमा मेस्सीले पूरै समय मैदानमा बिताएका छन् । तर एम्बाप्पले केही खेल पूरै समय खेलेका छैनन् । गोल र असिस्ट बराबरी भएको अवस्थामा कम खेल खेल्नेलाई गोल्डेन बुट प्रदान गरिन्छ ।
यस्तै फ्रान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजको पनि गोल्डेनबुट जित्ने सम्भावना कायम छ । यी दुवैले समान ४ गोल गरेका छन् । आइतबार राती फाइनल खेलबाट मात्रै गोल्डेन बुटको विजेताको टुंगो लाग्ने छ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शनिबार राति भिड्नेछन् ।
तपाईको प्रतिक्रिया