गण्डकीकी कान्छी सांसद: टीकाकुमारी बस्याल
निर्वाचन आयोगको रेकर्ड अनुसार टीकाकुमारी बस्यालको उमेर ३१ वर्ष हो । कांग्रेसको समानुपातिक सूचीबाट निर्वाचित टीका गण्डकी प्रदेश सभामा सबैभन्दा कान्छी हुन् ।


पोखरा ।
सुदूर पश्चिम प्रदेशको डोटी जहाँ टीकाकुमारी बस्याल जन्मिएकी थिइन् । टीका ३ वर्ष भएपछि परिवार धनगढी बसाइँ सर्यो । बाल्यकाल धनगढीमा बित्यो । पारिवारिक पृष्ठभूमि राजनीतिक थिएन । बुबा कांग्रेसमा आस्था राख्थे । बुबाकै कारण राजनीतिमा आउन टीकालाई पनि प्रेरणा मिल्यो । सक्रिय रुपमै राजनीतिमा लागिन् । त्यही सक्रियताको प्रतिफल टीका गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएकी छन् ।
कांग्रेसले लमजुङबाट टीकालाई समानुपातिक सूचीमा राखेका थियो । कांग्रेसले गण्डकीमा समानुपातिकबाट ९ जनालाई सांसद बनाउने मत पायो । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसले निर्वाचन आयोगमा समानुपातिकबाट सबै ९ जना महिलाको नाम पठाउनुपर्यो । त्यसैमध्ये दलित समुदायबाट टीका चुनिइन् ।
डोटीमा जन्मिएर धनगढीमा हुर्किएकी टीका वैवाहिक सम्बन्धपछि लमजुङ आइपुगेकी हुन् । निर्वाचन आयोगको रेकर्डमा टीकाकुमारी बस्यालको उमेर ३१ वर्ष हो । उनको नागरिकताले पनि त्यसै भन्छ । सोही आधारमा टीका गण्डकी प्रदेश सभामा निर्वाचित सांसदमध्ये सबैभन्दा कान्छी हुन् ।
टीका ७ कक्षा पढ्दै राजनीतिमा आकर्षित थिइन् । सक्रिय हुन थालेको भने दशक नाघ्यो । बुवा सक्रिय राजनीतिमा नभए पनि राजनीतिक चेतमात्रै उनीसँग थिएन, सामाजिक चेत पनि थियो । त्यसैले छोराछोरीमा विभेद गरेनन् । छोरीलाई पनि पढ्न स्कुल पठाए ।
जब कि टीकाको स्कुले उमेर हुँदा सुदूर पश्चिमका गाउँठाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने चेत खुल्न धेरै बाँकी थियो । उनका बुबा छोरीलाई पनि पढाउनुपर्छ, छोराछोरीलाई हरेक कुरामा समान व्यवहार हुनुपर्छ विचार राख्थे त्यसैले टीकाले सजिलै पढ्न पाइन् । भन्छिन्, ‘मेरो जीवनको पहिलो गुरु नै बुवालाई मान्छु ।’
टीकाले १० कक्षासम्म धनगढीको ठेकराज माध्यमिक विद्यालयमा पढिन् । उनी पढ्नमा मेहनती थिइन् । पढाइ राम्रो भएकै कारण उनले विद्यालय तह छात्रवृत्तिमा पढ्न पाएकी थिइन् । स्नातक कैलाली बहुमुखी क्याम्पसमा पढिन् ।
चाहना त उनको स्टाफ नर्स पढ्ने थियो । स्टाफ नर्स पढ्न खुलामा नाम निस्किएको पनि हो । छात्रवृत्तिमा नाम निस्किएन । पैसै तिरेर पढ्न सक्ने अवस्था थिएन । चाहँदा चाहँदै स्टाफ नर्स पढ्न सकिनन् । उनलाई लाग्छ—सक्षम, योग्य हुँदा पनि पहुँचवाला, राजनीतिक हस्तक्षेपले नाम निस्किएन । अहिले भने त्यही विषय पढ्न नपाएकोमा पछुतो मान्दिनन् ।
पछुतो मान्नु पनि किन ! राजनीतिको जुन बाटो समातिन्, सफलतातिरै लम्किइन् ।
राजनीतिक र सामाजिक जीवनको प्रेरणा उनी आफ्ना बुबालाई मान्छिन् । ‘बुवा समाजमा परिवर्तन गर्नुपर्छ, अन्यायका विरुद्ध आवाज उठाउनुपर्छ, नेतृत्व गर्नुपर्छ भन्नुहुन्थ्यो,’ उनी भन्छिन् ।
कक्षा ७ मा पढ्ने बेला २०५८ सालतिर धनगढीको ठेककराज माविको इकाइ समिति उपसभापति भएकी थिइन् । राजनीतिक यात्राको पहिलो खुट्किलो त्यही थियो । त्यस बेलाका नेविसंघका जिल्ला सभापति पुष्पकुमार शाही संगठन विस्तार गर्न थेकराज माविमा आएका थिए । टीका शाहीलाई राजनीतिक जीवनको दोस्रो तथा सबैभन्दा ठूलो प्रेरणा मान्छिन् ।
अतिरिक्त क्रियाकलाप, ज्ञानवद्र्धक कार्यक्रममा सहभागी हुन पाइने र गाउँठाउँ घुम्न पाइने लोभमा उनी समितिमा प्रवेश गरेकी थिइन् । राजनीतिको खास ज्ञान नहुँदै राजनीतिमा प्रवेश गरेकी बस्याल समानुपातिक सांसद बन्नुमा शाहीको ठूलो साथ सहयोग रहेको बताउँछिन् ।
इकाइ उपसभापतिबाट टीका २०६० सालमा नेविसंघको जिल्ला कार्य समिति सदस्य भइन् । ०६२/६३ सालको जनआन्दोलनमा सक्रिय भएर लागिन् । ०६५ सालमा कांग्रेसकै भातृ संगठन नेपाल सांस्कृतिक संघको जिल्ला कोषाध्यक्षको भूमिकामा रहेर काम गरिन् ।
सोही वर्ष दलित संघमा पनि आवद्ध भइन् । ०६८ सालमा कान्तिपुर पब्लिकेसन अन्तर्गत नेपाल छापाखाना श्रमिक संघको महिला उपाध्यक्ष भइन् । उनी त्यति बेला दिन काठमाण्डू पोस्टका लागि मार्केटिङ गर्थिन् ।
कैलालीमा सिर्जनशील समाजको सिर्जना (सिपिएस) मा पनि उनी आवद्ध रहेर काम गरिन् । कैलाली क्याम्पसमा पढ्दै गर्दा नेपाल परिवार संघमा पनि उनी कार्यरत रहिन् । ०६८ सालमा लमजुङका तेजु नेपालसँग उनको मागी बिहे भयो । घर, परिवारका सदस्य र नातापाताबीच कुरा चलेपछि धनगढी नै पुगेर लमजुङे तेजुले टीकाको साथ मागे । बिहेपछि के गर्ने ? श्रीमान्ले भने, ‘तिमीलाई जे कुरामा लगाव छ र जुनमा लगानी पनि गरेकी छौं, त्यसैमा लाग ।’ त्यसपछि टीका राजनीतिक रुपमै सक्रिय भइन् ।
लमजुङको बेसीसहर वडा नम्बर १ को कांग्रेस वडा कार्यसमिति सदस्य भएर राजनीतिक यात्रा पुन सुरु गरिन् । स्थानीय तहमा रहेर काम गर्दा स्थानीयका समस्या र मागलाई नजिकबाट नियाल्न सकिने हुनाले उनले लमजुङको वडा कार्यसमितिबाटै राजनीतिअघि बढाइन् ।
०७२ सालमा टीका कांग्रेसको क्षेत्रीय प्रतिनिधि भइन् । ०७३ सालमा दलित संघको महाधिवेशन प्रतिनिधि भइन् । सोही वर्ष कांग्रेसको लमजुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य चुनिइन् । ०७४ सालमा स्थानीय निर्वाचनमा दलित महिला सदस्यमा अत्यधिक मतले निर्वाचित भएकी थिइन् ।
०७६ सालमा अन्तर पार्टी महिला सञ्जालको कांग्रेसका तर्फबाट जिल्ला सचिव भइन् । ०७८ सालमा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइन् । यसै वर्ष नेपाल दलित संघ गण्डकी प्रदेश उपसभापति र कांग्रेसको महासमिति सदस्य निर्विरोध निर्वाचित भएकी थिइन् ।
टीका स्कुल पढ्ने समयमा जातीय विभेद चर्को थियो । तर उनले जातकै कारण भेदभाव सहनुपरेको थिएन । हक्की स्वभाव, नेतृत्व गर्ने क्षमता र निडर भएकाले प्रत्यक्ष रुपमा विभेदको सामना गर्नु नपरेको उनको अनुभव छ । साथी तथा शिक्षकबाट भेदभाव भएन । प्रधानाध्यापकले समेत हक्की स्वभावका कारण ‘टीका दिदी’ भनेर सम्बोधन गर्ने गरेको उनले सम्झन्छिन् ।
सार्वजनिक स्थलमा जातीय भेदभाव हटे पनि समाजमा हट्न नसकेको उनको भनाइ छ । बाहिर खाने, बास बस्ने कुरामा असजिलो महसुुुस गर्ने गरेको उनी बताउँछिन् । ‘पार्टीभित्रै पनि कताकता त्यो (जातीय) भेदभाव देखिइरहेको हुन्छ । हामी प्रतिकार गर्छाैं पनि तर अप्रत्यक्ष रुपमा भेदभाव भइरहेको अन्य पार्टीका सदस्यले पनि भन्नुभएको थियो,’ उनी भन्छिन् ।
महिला भएकै कारण राजनीतिमा कठिनाइ रहेको उनको अनुभव र बुझाइ छ । ‘महिलाले प्रत्यक्षमा चुनाव जित्न सक्दैनन् भन्ने मानसिकता नेताहरुमा छ । महिलाले गर्न नसक्ने होइन, महिला क्षमतावान् छन् तर पार्टीले नै महिलालाई अवसर दिन कन्जुस्याइँ गर्छ, जसले हुनुपर्ने जति सफल हुन सकेका छैनन्,’ उनी भन्छिन्, ‘समानुपातिकबाट निर्वाचित हुँदा हेर्ने दृष्टिकोण पनि फरक छ । सक्षम, योग्य हुँदा पनि नेताको नजिक भएर समानुपातिकमा छानिएको हो भन्ने सोच रहेको मलाई भान भएको छ ।’
टीकालाई प्रत्यक्ष चुनाव लड्ने चाहना थियो । ‘गत वैशाखको स्थानीय निर्वाचनमा बेसींसहर नगरपालिकाको उपमेयरमा आकांक्षा राखेकी थिएँ । टिकट पाउनेमा विश्वस्त पनि थिएँ तर गठबन्धनका कारण पाउन सकिनँ,’ उनले सुनाइन् ।
सांसद भइसकेपछि मुख्यतः ३ क्षेत्रका लागि काम गर्ने टीकाको योजना छ । महिलाको क्षेत्रमा, दलित समुदायका लागि र युवाका लागि काम गर्ने उनको प्रतिबद्धता छ । ‘म महिला भएकाले महिलाको प्रतिनिधित्व गर्नेछु । महिला हिंसा, महिलाका मुद्दा संसदमा उठाउनेछु । म युवा भएकाले युवाका समस्या, जिज्ञासा, युवाले के चाहन्छ, उनीहरुको माग के हुन् मैले अनुभूति गरेकी छु ।
युवाका समस्या मागमा सधैं साथ रहनेछु,’ उनी भन्छिन्, ‘दलित समुदाय र पछि पारिएका समुदायका मानिसले कति समस्या फेस गर्नुपर्छ, त्यो मैले राम्रोसँग बुझेकी छु । राजनीतिमा मात्र होइन, हरेक क्षेत्रमा अगाडि आउन कति संघर्ष, कठिनाइ पार गरेर आउनुपर्छ, त्यो मैले भोगेकी छु । जातीय विभेद भोग्नुपर्दाको पीडा मैले महसुस गरेकी छु । संसदमा दलितका मुद्दा लिएर जानेछु ।’
संसदीय यात्राको खुटकिलोमा पुगेकी टीका यी सफलताको जस श्रीमान्सँग पनि बाँड्छिन् । ‘राजनीतिमा सक्रिय रुपमा लाग्न सासूससुराले पनि धेरै सहयोग गर्नुभएको छ । उहाँहरुले मेरो कुरा नबुझ्ने भएको भए म सफल हुन सक्दिनथें ।’

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया