सम्पादकीय: जाडोको तयारी

पुस सुरु भएको छ, चिसो ह्वात्तै बढेको छ । चिसोले मानिसको दैनिकीसमेत प्रभावित भएको छ । अब देशका हिमाली भेग, उच्च पहाडी भेगमा हिउँ पर्न सक्छ भने तराईमा शितलहरको जोखिम हुन्छ । छोटा दिन, चिसो मौसम र सुख्खा वातावरणले हिउँदको आभास भइरहेको छ । जाडोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धालाई प्रभावित बनाउँछ ।
गरिब, जाडोका लागि आवश्यक कपडा किन्न नसक्ने, आवश्यक खानेकुराको जोहो गर्न नसक्नेका लागि यो कहर नै बन्छ । हिमाली भेगमा हुने असाध्य जाडो छल्न त्यहाँ बासिन्दा बेंसी झर्ने गरेको पाइन्छ । उच्च पहाडी र अरु क्षेत्रका बासिन्दाले पनि जाडोका लागि आवश्यक प्रबन्ध गरेका छन्, गर्दै छन् । जाडोमा निमोनियाँ, दम जस्ता रोग भएकालाई कठिन हुन्छ । खानपान र जीवनशैलीमा ध्यान दिन नसके जाडोले ज्यानै पनि लिन सक्छ ।
गएका वर्षहरुमा जाडोले कठ्याग्रिएर मानिसको मृत्युसमेत भएको देखिन्छ । थोरै ख्याल गर्न नसक्दा जो कोही पनि बिरामी बन्न सक्छ, त्यसैले समयमै सचेतना अपनाउन जरुरी छ । हिटर, आगो ताप्ने, उमालेर पानी पिउने, न्यानो लुगा लगाउने, बढी जाडो हुने बिहान, बेलुका घरबाहिर कम निस्कने चिसोबाट जोगिने उपाय हुन् ।
सामान्यतया युवालाई यस्ता क्रियाकलापले जाडोबाट जोगाउन सक्छ । बालबालिका र वृद्धवृद्धाको लागि भने विशेष ख्याल नै गर्नुपर्छ । नेपालमा अझै पनि धेरै मानिस गरिबीकोे रेखामुनि छन्, जसले न्यानो लुगा लगाउनै पाएका छैनन् ।
सडक मज्दुर, सडक बालबालिका, आर्थिक अवस्था कमजोर भएका मानिसको ठूलो संख्या न्यानो लुगाबाट बन्चित छन् । उनीहरु जाडोले सबैभन्दा बढी प्रभावित हुन्छन् । यस समयमा उनीहरुलाई सहयोग आवश्यकता पर्दछ ।
मानिसले जाडोका लागि आवश्यक तयारी त गरेकै छन् । तर सबैले यसको तयारी गर्न सक्दैनन् । जाडो हरेक वर्ष आउँछ, जान्छ । यो नियमित प्रक्रियामात्र हो भनेर जिम्मेवार निकाय पन्छिन मिल्दैन । गाउँ गाउँका सिंहदरबार भनिएका स्थानीय तहरु सक्रिय हुन जरुरी छ । घटना भइसकेपछि राहत लिएर जानुभन्दा पहिले नै तयारी गरी घटना नै रोक्न सके बुद्धिमानी हुन्छ ।
जाडोको समयमा सर्वसाधारण पनि सजग बन्नु जरुरी छ । रातभर बन्द कोठामा हिटर बालेर छाड्दा निस्सासिएर ज्यान गएका घटना पनि छन् । आगो ताप्ने क्रममा आगलागीको जोखिम पनि हुन्छ । धेरै जाडो हुने बिहान र बेलुका यथाशक्य बाहिर ननिस्कने, न्यानो कपडा लगाउने, आगो ताप्ने, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्ने गर्नुपर्छ । चिसोकै एलर्जी, दम, निमोनिया हुनेहरुले अरु भन्दा बढी सहग हुन जरुरी छ ।








थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन
केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया