प्रदेशस्तरीय भलिबलको तयारी

पोखरा ।
गण्डकी प्रदेश भलिबल संघले पोखरामा आयोजना गर्ने प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । संघले सोमबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
उक्त प्रतियोगिता पुस ६ देखि १० गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुनेछ । गण्डकी प्रदेश स्तरीय स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकीका १० जिल्लाको सहभागिता हुने संघका महासचिव टहलसिंह थापामगरले जानकारी दिए ।
‘पुस २४ देखि काठमाडौंमा एनभिए कप र माघ ८ देखि पोखरामा टाइगर कपलाई मध्यनजर गर्दै गण्डकी प्रदेशका जिल्लाबाट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरेका हौं,’ महासचिव थापामगरले भने, ‘पत्राचार ११ जिल्लालाई नै गरेका हौं, मनाङबाट उपस्थिति नहुने खबर पाएका छौं, मनाङबाहेक १० जिल्लाको सहभागिता रहन्छ ।’
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्ने छन् । यस्तै विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिब्रो, स्पाइकर र कोचले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालन गर्न ३१ लाख १० हजार रुपैयाँ खर्च हुने गण्डकी प्रदेश भलिबल संघले अनुमान गरेको छ । गण्डकी प्रदेशका मुस्ताङ, पर्वत, बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखा जिल्लाबाट खेलाडीले सहभागिता जनाउने छन् । आयोजकले प्रतियोगिता अवलोकन गर्न सेमिफाइनल र फाइनल खेलमा २ सय बाँकी खेलमा १ सय रुपैयाँ टिकटको दर कायम गरेको छ ।
प्रतियोगिताबाट संकलित रकमले खेलाडीलाई लक्षित गरी महिला तथा पुरुष भलिबल एकेडेमी स्थापना गर्ने लक्ष्य लिइएको महासचिव थापामगरले सुनाए ।
तपाईको प्रतिक्रिया