सम्पादकीय: सडक सुरक्षा परिषद् गठन गर

समाधान संवाददाता २०७९ पुष ६ गते ११:५१

चालकको लापर्वाही, सडक पूर्वाधार तथा सवारी साधनको अवस्था, यात्रु तथा चौपायाको कारण सडक दुर्घटना हुन्छ । नेपाल प्रहरीको तथ्यांकमा नेपालमा सडक दुर्घटना बढेर गएको छ । सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या समेत बढेको छ । नेपालमा पछिल्लो एक वर्षमा सडक दुर्घटनामा २ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।

Advertisement

सडक दुर्घटनामा परी २५ हजार ७ सय २२ सामान्य घाइते भएका छन् । गत आर्थिक वर्ष २०२१/२२ मा देशभर करिब २४ हजार ५ सय २६ सडक दुर्घटनामा ७ हजार २ सय ८२ जना गम्भीर घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

नेपाल प्रहरीका अनुसार दुर्घटनाका कारण सबभन्दा बढी चालकको लापरवाही (२१ हजार ६ सय ७५), यात्रुको लापरवाही (१ हजार ३१), सडकको अवस्था १ हजार १४ र सवारी साधनको अवस्था (६ सय ३५) रहेका छन् ।

सडक दुर्घटनामा सबैभन्दा बढी दुईपांग्रे सवारीसाधनको संलग्नता रहेको छ । आर्थिक वर्ष २०२१/२२ मा १९ हजार ९ सय ७४ दुईपांग्रे ५ हजार ९ सय ७५ चारपांग्रे २ हजार ७ सय ८६ बस र २ हजार ४ सय ७६ ट्रक दुर्घटना भएका छन् ।

नेपालको हिमाली पहाडी क्षेत्रमा साँघुरो तथा घुमाउरो सडकको कारणले दुर्घटना हुने गरेको छ । तर अहिले पछिल्लो क्रममा मध्य पहाडी लोकमार्ग अन्तर्गतको हेमजा फेदी घट्टेखोलादेखि याम्दीसम्मको फराकिलो र सिधा सडक पनि सडक दुर्घटनाका कारक बनेको छ ।

Advertisement

६ लेनको सडकमा ६ महिनाको अवधीमा भएको सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार गएको जेठयता मात्रै यो खण्डमा भएका ११ सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।

त्रिब्र गती ‘ओभर स्पिड’मा सवारी साधन कुदाएको कारण सो खण्डमा सवारी दुर्घटना बढेको हो । यो सडक खण्डमा प्रतिघन्टा १ सय ३५ किलोमिटरको गतिमा गाडी हुइँकिने गरेको छ । सडक दुर्घटना रोक्न चेकिङ, ट्राफिक नियमको उल्लंघन गर्नेलाई जरिवाना, सरोकारवालालाई ट्राफिक सचेतनामुलक कार्यक्रम बढाउन जरुरी छ ।

सडक सुरक्षा ऐन, नीति तथा कार्यविधिमा सुधार, सुरक्षित सडक निर्माण, सुरक्षित सवारी साधनको प्रयोगमा प्रोत्साहन, सडक प्रयोगकर्तामा सुरक्षा चेतना अभिवृद्धि र अभिवृद्धि गर्ने सामूहिक प्रतिक्रियाबाट मात्रै सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । सवारी दुर्घटनाको रोकथाम तथा नियन्त्रणको लागि सडक सुरक्षा परिषद गठन गरेर काम अगाडी बढाउनु पर्छ ।

तपाईको प्रतिक्रिया