सम्पादकीय: नयाँ विमानस्थलबाट अपेक्षा

अंग्रेजी नयाँ वर्षबाट नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल थपिँदै छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ वर्षबाट व्यवसायिक उडान सुरु गर्ने तयारी छ । यो देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको केही महिनापछि नै पोखराको विमानस्थल तयार भएको हो ।
अब सबै आन्तरिक उडानसमेत नयाँ विमानस्थलबाट नै हुने छन् । साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट भने पुरानै विमानस्थलबाटै चल्ने छन् । जोमसोम केन्द्रीत साना स्टल जहाज पुरानो एअरपोर्टबाट नै चल्ने छन् । विमानस्थलका लागि जग्गा अधिग्रहण भएको करिब ५ दशकपछि विमानस्थल तयार भएको छ ।
विमानस्थल निर्माणको काम सकिए पनि अरु केही संरचना बन्नै बाँकी छ । आयल निगमको डिपो, नेभिगेसन उपकरण पनि पुरानै विमानस्थलमै रहनेगरी उडान थाल्ने तयारी भएको छ । । केही संरचना पुरानै एयरपोर्टमा रहेकाले पुरानै विमानस्थल पनि सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ ।
पुरानो एअरपोर्टका सबै उडान नयाँमा सार्न स्थानको समेत अभाव हुने देखिएको छ । त्यहाँ हेलिकप्टरका लागि स्थानको रहेको र ह्याङगरहरु बनाउने ठाउँहरु पनि नभएको बताइन्छ । पोखरामा विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ उडान अन्यत्र सार्नुपर्ने बताउँदै आए पनि यसबारे निर्णय भइसकेको छैन ।
प्याराग्लाइडिङको विषयमा भने नेपाल नागरिक उड्डयन प्राधिकरण टुंगोमा पुग्न बाँकी छ । विमानस्थलमा गरिएको क्यालिब्रेसन उडानको प्रारम्भिक प्रतिवेदनले उडानका लागि विमानस्थल उपयुक्त भएको जनाएको छ । प्रतिवेदनको पूर्ण विवरण भने आइसकेको छैन ।
पूर्ण विवरण आएपछि पोखराको प्याराग्लाइडिङसहित अन्य विषयबारे निर्णय गर्ने प्राधिकरणको तयारी छ । नयाँ विमानस्थलबाट बिहीबार परीक्षण उडान गरिँदै छ । नयाँ विमानस्थलमा एटीआर ७२ जहाज परीक्षण उडानपछि आन्तरिक उडानका लागि कुनै प्रक्रिया बाँकी रहने छैनन् ।
चिनियाँ ऋण सहयोग २२ अर्बमा पोखरा विमानस्थल बनेको हो । नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्छन् ।
करिब ३ हजार ९ सय रोपनीमा फैलिएको यो विमानस्थलमा २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ । नयाँ विमानस्थल सञ्चालनमा आएपछि पोखरा सिधै विदेशी सहरसँग जोडिन्छ । देशको वैकल्पिक विमानस्थल बन्ने यो विमानस्थल सञ्चालनबाट गण्डकी प्रदेशको पर्यटन र समृद्धिमा टेवा पुग्ने अपेक्षा छ । ठूलो लगानीमा निर्माण भएको राष्ट्रिय गौरवको यो परियोजनालाई प्रभावकारी रुपमा सञ्चालन गर्नु जरुरी छ ।
तपाईको प्रतिक्रिया