विज्ञान प्रदर्शनी गर्दै अटोवेज

पोखरा ।
पोखरामा टोयटा र आइसर गाडीको आधिकारिक बिक्रेता अटोवेज प्रालिको आयोजनामा विज्ञान प्रदर्शनी हुने भएको छ । पोखराको नयाँबजारस्थित अटोवेज सोरुमको भवनमा यही पुष ११ देखि १४ गतेसम्म विज्ञान प्रदर्शनी हुन लागेको अटोवेजकी निर्देशक सन्ध्या पौडेलले जानकारी दिइन् ।
४ दिनसम्म चल्ने प्रदर्शनीमा हालसम्म यस क्षेत्रका २५ वटा विद्यालयले सहभागिताका लागि दर्ता गरिसकेका छन् । प्रत्येक विद्यालयबाट १ टिम सहभागी हुने प्रदर्शनीको अवलोकन निःशुल्क रूपमा सर्वसाधारणसहित जो कोहीले गर्न पाउने छन् ।
विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्दै र उनीहरूको आविष्कार र प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको पौडेलले बताइन् । प्रदर्शनीमा सहभागीमध्ये उत्कृष्ट टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएको कम्पनीले विद्यार्थी लक्षित गर्दै विभिन्न प्रदर्शनी गर्दै आएको छ । केही समयअघि चित्रकला प्रदर्शनी आयोजना गरेको कम्पनीले गोविन्द कलावती फाउन्डेसनमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोगसमेत गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया