सम्पादकीयः लिटरेचर फेस्टिभलको भव्यता

समाधान संवाददाता २०७९ पुष ८ गते १३:५४

प्रकृतिले लेखेको सुन्दर साहित्य हो पोखरा । खोलानाला, ताल तलैया, हिमाल, पर्वत, वनपाखाका काव्यात्मक कीर्ति पोखरालाई प्रकृतिले दिएको छ । त्यसैमाथि मानवीय कर्मले थप सिगार्न केही वर्षयता नेपाल लिटरेचर फेस्टिभल पोखरामा हुँदै आएको छ । देश, विदेशका लेखक, साहित्यकार, पत्रकार, राजनीतिकर्मी, अर्थशास्त्र, समाजशास्त्री लगायत विद्वानहरुको जमघटमात्रै यो फेस्टिभलको विशेषता होइन ।

Advertisement

समकालीन विषयमाथि विशद छलफल र विमर्श अनि विचार र दृष्टिकोणको निर्माणमा यो फेस्टिभलको विशेष भूमिका र योगदान छ । पुसको ६ गते सुरु भएर ११ गते समापन हुन लागेको यो वर्षको फेस्टिभल पोखरामा पाँचौं पटक आयोजना भए पनि यसको दसौं संस्करण हो । काठमाडौंमा सन् २०११ मा सुरु फेस्टिभलले आयोजनास्थल पोखरा रोजेर यो सहरलाई गुन लगाएको छ ।

यो फेस्टिभल ज्ञान उत्पादन र प्रचारका माध्यम हो । पढ्न भोक जगाउने मञ्च हो । पढ्नेहरुलाई हुटहुटी वृद्धि गर्ने मञ्च हो । देशदेशावरका विराट व्यक्तित्वहरुलाई पोखरामा एकसाथ भेला गराउँदा पर्यटनमा यसले पु¥याउने योगदान यो सहरका लागि सौभाग्य हो । यसले पोखरालाई घुमफिरको मात्रै नभई ज्ञानको गन्तव्य बनाउन पनि सघाएको छ । पछिल्लो समय लिटरेचर फेस्टिभलको सहरका रुपमा कतिपयले चिन्न र बुझ्न थाल्नु त्यसैको द्योतक हो ।

लोकतन्त्रलाई बलियो बनाउने शक्ति भनेको जनता हो । सचेत र बौद्धिक जनताले नै लोकतन्त्रलाई शसक्त बनाउन सक्छन् । जनतामा सचेतना भर्ने, ज्ञान विचारको प्रवाह गर्न लिटरेचर फेस्टिभलमा हुने जस्तै बौद्धिक मन्थन र विचार विमर्श खाँचो हुन्छ । विचारले प्रष्ट जनताले नै सही निर्णय गरेर लोकतन्त्रको सार्थकता देश र आफूमा साकार पार्न सक्छन् ।

यस्ता फेस्टिभलको भव्यता त्यसैमा निर्भर हुन्छ । लिटरेचर फेस्टिभल जस्तै मञ्चहरु जति धेरै हुन सक्यो, त्यति नै समृद्ध नेपालको यात्रामा सघाउ पुग्छ । तसर्थ यस्ता फेस्टिभललाई थप परिमार्जन गर्दै समानुकुल बनाउँदै समायनुकुल ज्ञानका विचारका मञ्चका रुपमा स्तरोन्नति गर्नु श्रेयस्कर हुन्छ । राज्यकै तर्फबाट स्थापित प्रज्ञा प्रतिष्ठानहरुमा प्रज्ञा बेपत्ता भएका बेला गैरसरकारी क्षेत्रबाट भएका प्रयास सह्रानीय छ ।

Advertisement

तपाईको प्रतिक्रिया