स्याउ बगैंचा स्याहार्दै किसान

जोमसोम ।
अहिले मुस्ताङमा कृषकलाई स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याई नभ्याई छ । स्याउ बगैचामा रहेका स्याउ बोटका सबै पात झरेर नांगो बनेपछि मुस्ताङमा स्याउको हाँगाबिगा काँटछाटसहित समग्र स्याउ बगैचा व्यवस्थापन थालिन्छ ।
बर्सेनि भदौदेखि कात्तिक मसान्तसम्म मुस्ताङका स्याउ टिप्ने काम हुन्छ । यसरी बगैचाबाट टिपिएका स्याउ संकलन गरी बजारीकणका लागि स्थानीय बजार र पोखरा, काठमाडौंसम्म पठाइन्छ ।
अहिले जिल्लाका ५ वटै स्थानीय तहमा उत्पादन भएका स्याउ बजारमा बिक्री भइसकेको छ । बोटबाट स्याउ टिपेर रिक्तिएपछि यहाँका स्याउ बगैचा उजाड बनेका हुन् ।
स्याउ टिपेर बजार पठाएपछि किसान अहिले बोट काँचछाँट, मलजल र अन्य व्यवस्थापनमा जुटेका छन्
अक्सर हिउँद यामको पुस र माघ महिना हिउँ पर्ने सिजन हो । हिउँ पर्ने समयमा स्याउ बगैचाको उचित व्यवस्थापन हुन सक्यो भने गुणस्तरीय फल र राम्रो आम्दानी लिन सकिन्छ ।
मुस्ताङमा बर्सेनि पुसको पहिलो सातादेखि माघ महिनाको अन्तिम महिनासम्म स्थानीय कृषकले धमाधम आफ्नो स्याउका बोटमा फैलिएका अनावश्यक हाँगाबिगा काटछाँट, प्रकोप नियन्त्रणका लागि सर्वो आयल र बोरो पेस्ट लगाउने गर्छन् ।
फलविहीन रित्ता र उजाड स्याउ बगैचामा कृषकले गोरु, झोपा र भेडा, च्यांग्राको मल हालेर मलजल गर्छन् । यसरी बगैचा व्यवस्थापन गर्दा हिउँ पर्यो भने त्यो झनै बरदान साबित हुन्छ । स्याउ बगैचामा अनाधिकृत रुपमा फैलिएका हाँगाबिगा काँटछाट नगर्दा बोटमा स्याउ धेरै फल्ने तर साना दाना र कम गुणस्तरको स्याउ फल्ने हुन्छ ।
स्याउ बोटमा पालुवा र कोपिला पलाउनुअगावै बोटका अनावश्यक बाँक्ला हाँगाबिगा काँटछाँट गर्नुपर्ने भएकाले मुस्ताङका कृषक यतिखेर स्याउ काँटछाँटमा जुटेका हुन् । मुस्ताङमा स्याउ बगैंचा व्यवस्थापन कार्यसँगै खेर गएका र बाँझो जग्गामा समेत स्याउका बिरुवा लगाउन किसान जुटेका छन् ।
स्याउ बिरुवामा अन्य जातका स्याउ बिरुवालाई ग्राफ्टिङ गर्ने गरेको पाइएको छ । यसरी स्याउ बिरुवा ग्राफ्टिङ गर्दा स्याउ बोटमा फरक फरक जातको स्याउ फल्ने गर्छ ।
घरपझोङ गाउँपालिकाको कृषि शाखाले पालिकाका ५ वटै वडाका स्याउ कृषकलाई बिहीबारदेखि स्याउ काँटछाट तथा स्याउ बगैचाको उपयुक्त व्यवस्थापनसम्बन्धी तालिम दिन सुरु गरेको छ ।
स्थानीय स्याउ कृषकलाई बगैचामा गएर स्याउ विज्ञले बगैचा व्यवस्थापनबारे तालिम दिन सुरु गरेको घरपझोङ गापाका कृषि शाखा प्रमुख रोशन थकालीले जानकारी दिए । घरपझोङले स्याउ तथा फलफुल विज्ञ डा. खेमबहादुर शाहीलाई मुस्ताङ झिकाएर तालिम दिइरहेको शाखा प्रमुख थकालीको भनाइ छ ।
घरपझोङले पालिकाका कृषकलाई स्याउ सम्वन्धित विभिन्न औषधि अनुदानमा उपलब्ध गराउँदै आएको छ । स्याउ बोटका बिना तालिम र अनुभव बिना जथाभावी हाँगाबिगा काँटछाँट गरेमा उत्पादन क्षमता र गुणस्तरमा समेत हस आउन सक्ने कृषि शाखा प्रमुख थकाली बताउँछन् ।
स्याउका बोटमा अनाआवश्यक हाँगाबिगा फैलिएमा सूर्यको प्रकाश सिधै बोटमा नपुग्ने भएकाले स्याउ बोटको काँछाट अनिवार्य रहेको घरपझोङका स्याउ कृषक अजित थकालीले बताए । यो समय स्याउ बोटमा प्रकोप नियन्त्रण गर्न सर्वो आयल डर्मिन आलय छर्किने र बोटको फेंदमा बोरो पेष्ट लगाउनुपर्ने थकालीको भनाई छ ।
मुस्ताङको मार्फामा पनि स्याउ बगैचा व्यवस्थापन गर्ने भइरहेको स्याउ कृषक दीपक लालचनले बताए । मार्फा स्याउ उत्पादनको मुख्य क्षेत्रसमेत हो । त्यहाँका अधिकाँश घरधुरीले स्याउ खेती गरेका छन् ।
बगैंचामा स्याउ रित्तिएसँगै मार्फाका कृषक पनि अहिले धमाधम स्याउ बगैचा व्यवस्थापनमा जुटेको कृषक लालचनले बताए । मार्फामा प्रत्येक घरधुरीले बर्सेनि ५ लाखदेखि करोडसम्मको स्याउ बिक्री गर्ने गरेको कृषक लालचनले जानकारी दिए ।
चालु वर्ष मुस्ताङका किसानले स्याउ बिक्री गरेर ५९ करोड आम्दानी लिएका छन् । यस वर्ष मुस्ताङमा १८ प्रतिशत स्याउ उत्पादन वृद्धि भई ६ हजार ५९७ मेट्रिक टन स्याउ फलेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
मुस्ताङका ५ स्थानीय तहमा कुल १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ । जसमध्ये ५ सय ८० हेक्टर जमिनमा लगाईएको स्याउ बोटले मात्र उत्पादन दिने गरेको छ ।
३८ हेक्टर जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिमा आधारित स्याउ विरुवा लगाइएको छ । जसबाट यस वर्ष ४ सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउ फलेको छ । थोरै जमिनमा धेरै र छिटो छरिता रुपमा स्याउ उत्पादन गर्न सकिने भएकाले मुस्ताङका कृषक उच्च घनत्व प्रविधिको स्याउ खेतीतर्फको आर्कषण बढेको पाइएको छ ।
तपाईको प्रतिक्रिया