पोखराको कायाकल्प हुने अपेक्षा

समाधान संवाददाता २०७९ पुष १० गते १०:३९

पोखरा ।
राष्ट्रिय स्तरमै स्थापित व्यवसायी हुन् पोखराका अञ्जन श्रेष्ठ, सुशील प्रधानांग र किरण केसी । अञ्जन लक्ष्मी ग्रुप, सुशील सेल्वेज किरण केसी ग्रुप हाँकिरहेका छन् । यी व्यवसायी शनिबार फेवाताल किनारमा एउटै स्टेजमा वक्ता थिए ।

Advertisement

दसौँ लिटरेचर फेस्टिबलको ‘घर हाम्रो पोखरा’ सेसनमा उनीहरुसँग सहजकर्ता सरिता सापकोटा थिइन् । सापकोटाले सुरुमा अञ्जनलाई सोधिन् – काठमाडौँ जानैपर्ने रहेछ ?

अञ्जनले जवाफ दिए, ‘पोखरा बसेरमात्र हुँदैन । राष्ट्रिय स्तरमा अघि बढ्न र अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन काठमाडौँ बस्नै पर्छ । आजको दिनमा त्यो परिस्थिति कम छ । डिजिटलाइजेसनले आज फरक परिस्थिति छ ।’

अघिल्लो पुस्ताले हालिदिएको जगमा उभिएका पोखरा युवा उद्यमी नयाँ विमानस्थल र डिजिटलाइजेसनले पोखराले आर्थिक रुपमा चाडै फड्को मार्ने विश्वासमा छन्

उनी पोखराबाटै व्यवसाय सुरु गरेकाले आफ्नो सबै सफलताको परिणाम पोखरा नै मान्छन् । श्रेष्ठ भन्छन्, ‘एउटै क्षेत्रमा बस्नु हुँदैन भनेर नयाँ क्षेत्रमा गयौँ । अटोमोबाइल, डेरी, पूर्वाधार र रोजगारका लागि हामी स्टिल व्यवसायमा पनि छौँ । अहिले लक्ष्मी ग्रुपअघि बढ्नु पोखराकै परिणाम हो ।’

Advertisement

व्यवसायी सुशील ठूलो जनसंख्या र सम्भावना भएकाले काठमाडौँमा अवसर बढी देख्छन् । तर, पछिल्लो समय प्रविधिले गर्दा व्यवसाय जुनसुकै ठाउँबाट पनि फस्टाउन सक्ने उनको भनाइ छ ।

‘काठमाडौँ ठाउँ ठूलो छ, मान्छे धेरै छन्, कमाइ बेसी छ, सबै केन्द्रीय कार्यालय त्यहीँ छन् । प्रदेश सरकार यहाँ छ तर राजधानी भनेको राजधानी हो,’ उनले भने, ‘पोखरामा होटल, रेस्टुरेन्ट, पसल चलाइराख्नुभएको छ । त्यसलाई चलाइराखे समस्या छैन ।’

पोखरेली भए पनि सुशील प्राय काठमाडौँ हुन्छन् । उनको सेलवेज डिपार्टमेन्टल स्टोर्स देशका विभिन्न सहरमा छ । अन्य व्यवसाय पनि भएकाले चाडपर्व र पारिवारिक जमघट हुँदामात्रै उनी पोखरा आउँछन् ।

उनी आफू हरेक पटक पोखरा आउँदा केही न केही परिवर्तन भइरहेको सुनाउँछन् । ‘म प्रत्येक पटक आउँदा पोखराको रुप परिवर्तन भएको देख्छु । पर्यटनमा पोखरा आजको स्टेजमा आएको छ भने पर्यटनमा नवीन कुरा आइरहेका छन् । प्रत्येक वर्ष पर्यटकीय हिसाबले पूर्वाधार बढेर आइरहेको छ,’ उनले सुनाए ।

किरण काठमाडौँलाई व्यवसायको लाइफलाइनका रुपमा अथ्र्याउँछन् । प्रदेश सरकारसँग अधिकार नभएको भन्दै उनले काठमाडौँलाई लाइफलाइनको रुपमा अथ्र्याएका हुन् । किरणले भने, ‘काठमाडौँको लाइफलाइन नभई व्यवसाय चलाउन गाह्रो छ ।

बैंक, हाइड्रोसँग सम्बन्धित काम काठमाडौँबाहेक अरु ठाउँबाट हुँदैन । प्रदेश सरकार देखाउनमात्रै राखिएको हो, कुनै अधिकार छैन । सबै काठमाडौँबाटै गराउनुपर्छ ।’
पोखरा विमानस्थल सञ्चालनको तयारीमा छ ।

विमानस्थल चलेपछि दशकभित्र पोखराको जीवनशैली नै परिवर्तन हुने उनको विश्वास छ । ‘पोखरा विमानस्थल आउँदै छ, त्यसले ५ वर्षदेखि दशकभित्र पोखराको लाइफस्टाइल परिवर्तन हुन्छ । काठमाडौँ आजजस्तो छ, १० वर्षपछि त्यो नहुन सक्ला । आत्मनिर्भर हुन सकौँ,’ किरणले सुनाए ।

बुवाहरुले हालिदिएको जगमा उभिएर यी तीनै जना स्थापित बनेका हुन् । तर, पहिले पुस्ताबाटै स्थापित भएको भए तीनै जना आजको अवस्थासम्म आउने थिएनन् । श्रेष्ठ आफू व्यवसायमा स्थापित हुनुलाई नाच्न तयार पारिदिएको स्टेजमा नाच्ने कला सिकेर उत्रिएको बिम्बात्मक जवाफ दिन्छन् ।

‘नवीनता जे गर्‍यौँ, त्यसले साथर्कता पायो । हामी पहिलो पुस्ताबाटै स्थापित भएको भए आजको अवस्थासम्म आउँथेनौँ होला,’ उनले भने, ‘लक्ष्मी ग्रुप देखिँदैनथ्यो होला । हामीलाई नाच्नलाई मञ्च तयार थियो । नाच्ने कला हामीसँग थिएन । बिजनेसलाई अगाडि बढाउने त्यसको लागि ज्ञान, सीप हासिल गर्‍यौँ ।’

काठमाडौँ बस्ती विस्तारले साँघुरिँदै गएको छ । त्यसैले पोखरालाई समयमै सोचेर व्यवस्थित ढंगले योजना बनाएरअघि बढाए यहीँ अवसर सिर्जना हुने अञ्जनको भनाइ छ । अब काम खोज्नेभन्दा पनि दिने गरी उद्यमी जन्माउन आवश्यक रहेको श्रेष्ठले बताए । त्यसका लागि प्रभावकारी सीप सिकाउने काम सरकारले गर्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया