हिसान स्पोर्टस मिट आज सकिने

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट शनिबार तेस्रो दिन पनि विभिन्न खेल जारी छन् ।
पोखरा रंगशालामा जारी १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, बास्केटबल, टेबुल टेनिस र व्याडमिन्टनका खेलमध्ये ब्याडमिन्टनका सम्पूर्ण स्पर्धा सकिएका हुन् ।
टेबुल टेनिसको फाइनल खेल तथा बास्केटबल र भलिबलको सेमीफाइनल र फाइनल खेल आइतबार समापनका अवसरमा हुने हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले जानकारी दिए ।
भलिबलमा छात्र–छात्रा भलिबलमा स्पाइरल ग्यालेक्सीले फाइनलमा स्थान बनाएको छ । स्पाइरलले शनिबार भएको छात्रतर्फको पहिलो सेमीफाइनलमा केफलाई २४–२६, २५–१८ र २५–१३ ले जित्दै फाइनलमा स्थान बनाएको भलिबलका संयोजक किरण सापकोटाले जनाएका छन् । यसअघि स्पाइरलले सिर्जनालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।
यसै गरी दोस्रो सेमीफाइनल खेल भने प्रतिभा र युनभर्सकाबीच आइतबार हुनेछ । तेस्रो स्थानका लागि समेत आइतबार नै खेल हुने संयोजक सापकोटाले जनाएका छन् ।
यता छात्रातर्फको फाइनलमा गुरुकुल र हिल पोइन्ट आमनेसामने हुनेछन् ।
गुरुकुलले पश्चिमाञ्चललाई २–० को सोझो सेट र हिल पोइन्टले मदरल्याण्डलाई २–० को सोझो सेटमा सेमीफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् । तेस्रो स्थानका लागि पश्चिमाञ्चल र मदरल्याण्डबीच खेल हुने आयोजकले जनाएको छ ।
बास्केटबल प्रतियोगिताका खेल शनिबार पनि जारी रहेको बास्केटबल खेलका संयोजक खिम गुरुङले जनाएका छन् । शनिवार प्लस टु छात्र–छात्रा र युनिभर्सिटी छात्र–छात्रातर्फ गरी १९ खेल भएका छन् ।
प्रतियोगिता अन्तर्गत छात्र बास्केटबलको सेमीफाइनलमा न्यू ग्यालेक्सी र हिल पोइन्टका बीच पहिलो खेल हुनेछ । दोस्रो खेल प्रतिभा र मनकामनाबीच हुनेछ । न्यू ग्यालेक्सीले बालल्याणलाई ४४–८ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्दा हिल पोइन्टले सगरमाथालाई ३४–२९ ले पराजित गर्दै न्यू ग्यालेक्सीसँग भेट पक्का गरेको थियो ।
त्यसै गरी मनकामनाले जेसिएलाई ४०–२१ ले तथा प्रतिभाले मास ५०–४८ को स्कोरले पराजित गरी अन्तिम ४ मा स्थान बनाएका छन् । प्लस टु छात्रातर्फ प्रतिभा र ग्लोबल, मेरीगोल्ड र भाष्करका बीच सेमीफाइनल खेल हुने पक्का भएको छ ।
युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेस्रो भएको छ । छात्रातर्फ पेकलाई हराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
ब्याडमिन्टनमा फाइनलका खेल भएको ब्याडमिन्टनतर्फका संयोजक पुरन कुँवरले बताएका छन् । प्लस टु छात्र सिंगल्सतर्फ प्रगतीका शंशाक अधिकारी प्रथम, प्रगतिका आयुस थापा द्वितीय, सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतीय भएका छन् ।
छात्रातर्फ मदरल्यान्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोस्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समिीक्षा गुरुङ र सगरमाथाकी सविना रानामगर तेस्रो भएका छन् ।
छात्र डबल्सतर्फ प्रगति पहिलो, सगरमाथा दोस्रो, पिकेजी र प्रतिभा तेस्रो भएका छन् । छात्रातर्फ सगरमाथा पहिलो, दोस्रो कास्की मोर्डनाइज, गुरुकुल विद्यासदन र ज्योतिकुञ्ज तेस्रो भएका छन् ।
युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो, इन्फरमेटिक्सका थमन सिंह थापा दोस्रो, पोखरा लिंकनका रिजन सूर्यवंशी र पेकका निशान थापा तेश्रो भएका छन् ।
छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोश्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेश्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोश्रो र पेक तेस्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोश्रो र तेश्रो भएको हिसान कास्कीले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फ सिंगल्स क्वाटरफाइनल खेल भएको टेबुल टेनिसका संयोजक आनन्दराज अधिकारीले जनाएका छन् । फाइनल खेल आइतबार सम्पन्न हुने अधिकारीले जनाए ।
हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् ।
तपाईको प्रतिक्रिया