सम्पादकीय: युवाले कहिले पाउँछन् नेतृत्व ?

नयाँ निर्वाचनले केही नयाँ र धेरै पुराना अनुहारलाई अनुमोदन गर्यो । जनताले अलोकप्रिय अनुहारहरुलाई छानी छानी हराए, ऊर्जावान् र आशा गरिएकाहरु एकाधबाहेक सबैले जिते । आम निर्वाचनपछि अब प्रदेशहरु र संघमा नेतृत्व चयन, सरकार गठनको गृहकार्य अहिले भइरहेको छ ।
प्रमुख दलहरुले पुरानै नेतृत्वलाई संसदीय दलको नेता चुनिसकेका छन् । अर्थात् देशले पुरानै अनुहार प्रधानमन्त्रीमा दोहोर्याउने पक्का भइसकेको छ । भर्खरै कांग्रेसको संसदीय दलको चुनाव भयो । महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवासँग पराजित भए ।
अरु दलमा यस्तो अभ्यास भएन । नेपालको राजनीतिमा युवापुस्ताले हस्तक्षेप गर्न नसकेको विषयमा बेला बखत बहस हुन्छ । राजनीतिक दलभित्र पनि युवा पुस्ताका नेताले नेतृत्वमा दाबी गरेको देखिन्छ, सुनिन्छ । तर प्रमुख राजनीतिक दलमा अहिले पनि युवाले अवसर पाएको देखिँदैन ।
राजनीतिक दलहरुभित्र दशकौंंदेखि हालीमुहाली गरिरहेका पुरानै नेताको दबदबा छ । नेपाली कांग्रेसमा नेतृत्वको पुस्तान्तरणको कुरा बारम्बर उठे पनि त्यो सार्थक भएको देखिँदैन । एकाधबाहेक नेतृत्वमा पुगेकाले जीवनपर्यन्तसम्म पद हस्तान्तरण नगर्ने गरेको देखिन्छ ।
पाका नेतालाई बाध्य बनाउन युवा नेताले हस्तक्षेपकारी भूमिका खेल्न सकेको देखिँदैन । देशको राजनीतिमा उठ्ने गरेको युवा पुस्ता र पुरानो पुस्ताबीचको संर्षको प्रतिनिधित्व पनि यो संसदीय दलका नेता चयनले गर्यो । तर, देउवाको विजयसँगै कांग्रेसभित्र अझै परिवर्तन पक्षधरको पकड छैन र फेरि पनि उही पुरातन शैलीकै राजनीति हाबी हुन्छ भन्ने देखिएको छ ।
राजनीतिमा युवाको नेतृत्व भएमात्र देशको विकास अघि बढ्छ भन्ने मान्यता राख्नेहरूलाई यसले निराश बनाउन सक्छ । देशको विकास, समृद्धि र रुपान्तरणका लागि समग्र देशको राजनीतिमा युवाको नेतृत्व आउनु जरुरी छ । समाजका सबै पक्षमा युवाले सार्थक हस्तक्षेप र नेतृत्व लिने पहल गर्नुपर्छ ।
वर्षौंंदेखि एउटै व्यक्ति संसदीय दलको नेता भएर प्रधानमन्त्रीको उम्मेदवार बन्ने चलन सबै दलमा देखिएको छ । उनीहरूले देशका लागि के कति गरे भन्ने त अहिलेसम्म राजनीति बुझ्नेहरूले बुझिसकेका होलान्, फेरि पनि उनीहरूकै हातमा देशको तालाचाबी सुम्पनुले देश परिवर्तन हुन अझै समय लाग्छ भन्ने देखिन्छ ।
अब युवा पुस्ताले योजनासहित अघि बढ्नु जरुरी छ । अग्रज र अनुभवको कुरा काटेरमात्र अघि बढ्न सकिन्न । पछिल्लो पुस्तालाई अघि बढाउँदा र उनीहरुले नेतृत्व गर्दा संरक्षक, सल्लाहकारको भूमिकामा बस्न पनि पुरानो पुस्ता तयार हुनुपर्छ । राजनीतिक क्रान्ति सकिएर अहिले देश आर्थिक उन्नतिको राजमार्गमा प्रवेश गर्दै छ, यो समयमा ऊर्जावान्, आशावादी, लोकतान्त्रिक र इच्छाशक्ति भएको नेतृत्व जरुरी छ ।
तपाईको प्रतिक्रिया