सत्ता गठबन्धनमा उलटफेर: गण्डकीको मुख्यमन्त्रीमा एमाले, माओवादी दुवैको दाबी

समाधान संवाददाता २०७९ पुष १० गते १९:०४

पोखरा ।
कांग्रेस र माओवादीसहितको गठबन्धन टुटेसँगै नयाँ गठबन्धन बनेको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको नयाँ समीकरण बनेको हो । नयाँ समीकरणको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् ।

Advertisement


राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ प्रचण्डलाई ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् । प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १ सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।


केन्द्रमा नयाँ समीकरण बनेसँग प्रदेशमा पनि पुरानो समीकरण उथलपुथल भएको छ । सबै प्रदेशमा नयाँ गठबन्धनको स्पष्ट बहुमत देखिन्छ । ६० सांसद रहेको गण्डकी प्रदेश सभामा गठबन्धनको स्पष्ट बहुमत देखिन्छ । प्रदेश सभामा सरकार बन्नका लागि ३१ सांसद आवश्यक पर्छ । एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ सहित स्पष्ट बहुमत देखिन्छ । यो प्रदेशमा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ सांसद छन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै गण्डकीमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस भने प्रतिपक्षमा पुग्ने देखिएको छ ।


यससँगै गण्डकी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्न थालेका छन् । गठबन्धनमा प्रदेश भागबण्डा गर्दा गण्डकीमा कमजोर रहेको माओवादीले बलियो एमालेलाई छाड्ने र अधिकारी मुख्यमन्त्री बन्ने एमाले सांसदहरु दाबी गर्छन् । एक सांसदले भने, ‘अब खगराज मुख्यमन्त्री बन्नुहुन्छ, यहाँ माओवादीले दाबी गर्न सक्ने अवस्था छैन ।’

आइतबारै, नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत भएका छन् । गण्डकी प्रदेश सभा संसदीय दलको आइतबार पोखरामा बसेको बैठकले अधिकारीलाई सर्वसम्मत नेता चयन गरेको हो ।

Advertisement


अधिकारीलाई संसदीय दलका नेता चुन्न सांसद लीलाबहादुर थापा प्रस्तावक र रोशन गाहा मगर समर्थक थिए । अधिकारी संसदीय दलका नेता चुनिए पनि उपनेता, प्रमुख सचेतक र सचेतक चुन्न बाँकी छ ।


संसदीय दलका नेता चुनिएपछि अधिकारीले अब सरकार दाबी गर्ने सुनाए । प्रदेशमा सरकार गठन गर्न प्रदेश प्रमुखले समय दिएपछि सरकार दाबी गर्ने अधिकारीको भनाइ छ । ‘सरकार गठनमा दाबी रहन्छ । माथिको भागबण्डा के हुन्छ, हेरौं न,’ अधिकारीले भने ।


गठबन्धनले केन्द्रमा नयाँ मोड लिएपछि प्रदेशमा पनि लिने माओवादी सांसद हरिबहादुर चुमान बताउँछन् । गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी रहने सांसद चुमानले सुनाए । ‘गठबन्धनले केन्द्रमा नयाँ मोड लिएपछि प्रदेशमा पनि लिने भइहाल्यो, यो बारेमा अलिअलि सामान्य छलफल हुँदै आएको हो । गण्डकीमा हाम्रो दाबी हुन्छ,’ उनले भने ।


माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा संसदीय दलको नेता छान्न बाँकी छ । संसदीय नेतामा सर्वसम्मत हुने सांसद चुमान दाबी गर्छन् । ‘स्वभाविक रुपमा म माओवादीको संसदीय दलको नेता बन्छु, र मुख्यमन्त्रीमा मेरो दाबी रहन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया