नयाँ गठबन्धनलाई गण्डकीमा बहुमत

समाधान संवाददाता २०७९ पुष ११ गते १०:३०

सञ्जय रानाभाट, पोखारा ।
नेकपा माओवादीले सत्ता गठबन्धन छाडेसँगै प्रतिनिधिसभामा सबैभन्दा ठूलो बनेको नेपाली कांग्रेस सत्ताबाहिर पुगेको छ । सत्ता गठबन्धनमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैंले पाउनुपर्ने अडान राखेपछि नयाँ गठबन्धन बनेको हो ।

Advertisement

नयाँ ७ दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४४ देशको औैं प्रधानमन्त्रीमा नियुक्ति भएका हुन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेर एमाले—माओवादीसहितको ७ दलीय समीकरण बनेपछि गण्डकीमा पनि नयाँ गठबन्धनको सरकार बन्ने पक्का भएको छ ।

केन्द्रमा माओवादी र एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । गण्डकीमा २७ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्ने निश्चित देखिएको छ ।

मुख्यमन्त्रीमा खगराजको सम्भावना, माओवादीको पनि दाबी

नयाँ सत्ता समीकरण अनुसार अब गण्डकीमा एमाले, माओवादी र राप्रपाको सरकार बन्नेछ । ६० सदस्यीय गप्रदेश सभामा मंसिर ४ गते सम्पन्न निर्वाचनबाट ५ दलको प्रतिनिधित्व भएको छ । जसमा नेपाली कांग्रेस २७ सिटसहित पहिलो, नेकपा एमाले २२ सिटसहित दोस्रो, माओवादी केन्द्र ८ सिट सहित तेस्रो शक्ति हुन् ।

Advertisement

समानुपातिकमा २ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको समर्थनमा अब गण्डकी सरकार बन्नेछ । गण्डकीमा १ सिट पाएको एकीकृत समाजवादीले सरकारमा जाने÷नजाने निर्णय गरिसकेको छैन ।

गण्डकीमा एमाले, माओवादी र राप्रपा मिल्दा ३२ जना सांसद पुग्छन् । यो सरकार गठन गर्न पुग्ने स्पष्ट संख्या हो । गण्डकीमा सरकार गठन गर्न ३१ सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनबाट १ जना सभामुख चयन हुँदा पनि बाँकी ३१ जना सांसद पुग्छन् ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन हुँदा गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने बहस सुरु भएको छ । गण्डकीमा एमाले माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । एमाले नेताहरु केन्द्रमा माओवादी नेतृत्वमा सरकार बन्दा प्रदेशमा आफूहरूले स्वतः पाउने दाबी गर्छन् । एमालेबाट निर्वाचित एक प्रदेश सांसद केन्द्रीय समीकरणले प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने स्पष्ट भएको बताउँछन् ।

उनी भन्छन्, ‘गण्डकीमा मात्र हैन, ७ वटै प्रदेशमा अब एमाले माओवादीको सरकार बन्छ । यसरी हेर्दा सत्ता गठबन्धनमा ठूलो भएको एमालेले सरकारको नेतृत्व गर्छ भन्ने कुरा दुई मत छैन ।’ पूर्व प्रदेश सांसद तथा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीले एमाले नेतृत्वका सरकार बनाउन आफूहरूले माओवादी र राप्रपासँग छलफलमा सुरु गरेको जानकारी दिए । उनका अनुसार एमालेबाट मुख्यमन्त्री खगराज अधिकारी हुने छन् ।

‘एमाले प्रदेश कमिटीले आइतबार संसदीय दलको नेतामा खगराज अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । उहाँकै नेतृत्वमा अब गण्डकीमा सरकार बन्छ,’ दवाडीले भने । केन्द्रको भागबन्डाले गण्डकीमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको विश्वास छ ।
माओवादी नेताहरु पनि गण्डकीमा माओवादीकै नेतृत्वका सरकार बन्ने दाबी गर्छन् ।

उनीहरूले केन्द्रमा जस्तै यस पटक आफूहरुलाई एमालेले समर्थन गरेर गण्डकीमा सरकार बन्ने बताएका हुन् । ०७४ सालमा वाम गठबन्धनबाट आफूहरूले पृथ्वीसुब्बा नेतृत्वको सरकार बनाएकाले यस पटक आफूहरुलाई एमालेले समर्थन गर्नुपर्ने उनीहरु बताउँछन् ।

गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागेको छैन । माओवादी केन्द्रले अझै पनि प्रदेशमा संसदीय दलको नेता चयन गरेको छैन । छिट्टै आफू संसदीय दलको नेतामा सर्वसम्मत हुने माओवादी सांसद हरिबहादुर चुमान बताउँछन् । उनी भन्छन्, ‘मुख्यमन्त्रीमा हाम्रो स्वाभाविक दाबी रहन्छ । हामी छिट्टै सर्वसम्मत दलको नेता चयन गर्छौं ।’

कोरला–त्रिवेणी जोडिनेछन्ः खगराज
आइतबार गण्डकी प्रदेश संसदीय दलको नेता चयन भएपछि खगराज अधिकारीले आफू नेतृत्वका संसदीय दलले भ्रष्टचार नगर्ने र सबैभन्दा उत्कृष्ट बन्ने प्रतिवद्धता गरेका छन् । एमाले गण्डकी प्रदेश समितिले आइतबार दलको नेतामा चयन गरेपछि अधिकारीले शासक होइन, सेवक भएर काम गर्ने उल्लेख गरे ।

अधिकारीले भने, ‘हामी भन्ने छौं । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भनेर कसैले थप सपथ खाएको देखें । हामी यसलाई पनि मान्छौं । हाम्रा २२ जना सांसद कुनै भ्रष्टचारमा सहभागी हुने छैनौं ।’ अधिकारीलाई संसदीय दलका नेता चुन्न सांसद लीलाबहादुर थापा प्रस्तावक र रोशन गाहामगर समर्थक थिए । अधिकारी संसदीय दलका नेता चुनिए पनि उपनेता, प्रमुख सचेतक र सचेतक चुन्न बाँकी छ ।

अधिकारीले गण्डकी प्रदेशलाई कोरोला नाकादेखि त्रिवेणीसम्म जोड्ने योजना सुनाए । ‘हामी नवलपुर र मुस्ताङ नजोडिएसम्म प्रदेश जोडिएको ठान्ने छैनौं । यस अर्थमा प्रदेशको केन्द्र पोखरालाई सबैतिरबाट सुगम बनाएर अगाडि बढ्ने छौं,’ उनले भने, ‘हामी घोषणा पत्रको मार्गदर्शन अनुसार काम गर्र्छाैं ।’ अधिकारीले पोखराको फोहोरमैला व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्म एमालेले जिम्मेवारी निर्वाह गर्ने बताएका हुन् ।

‘लोकतन्त्रमा सबैको विचारलाई हेक्का राखेर काम गर्छाैं। जहाँ हामीले जित निकाल्न सकेनौं, यहाँ पनि विकास, निर्माणका काम गरी आगामी ५ वर्षमा जित हात पाछौैंं,’ उनले भने । एमालेबाट निर्वाचित सांसदले आफूलाई योग्य बनाउन प्रदेशका नियमावली, प्रदेशको ऐन काननु र देशको संविधान अनुसार काम गर्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया