प्रचण्ड प्रधानमन्त्री

समाधान संवाददाता २०७९ पुष ११ गते १०:४२

काठमाडौं ।
प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को (२) अनुसार नियुक्त गरेकी हुन् ।

Advertisement

प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित ७ दल र ३ स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए । नयाँ गठबन्धनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको साथ छ ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् । शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेता पुगेका थिए ।

पाँच दलीय गठबन्धन भत्किएर ७ दलीय गठबन्धन बन्दा संघसहित सबै प्रदेशमा नयाँ गठबन्धनकै सरकार पक्का

यसवाहेक स्वतन्त्र सांसद अमरेश सिंह र प्रभु साह पनि शीतल निवासमा पुगेका थिए ।
कांग्रेससँग मिलेर सरकार बनाउन सहमति नजुटेपछि माओवादी अध्यक्ष प्रचण्ड आइतबार दिउँसो नै एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेर आफू प्रधानमन्त्री बन्न नयाँ सहमति गरेका थिए । सहमति अनुसार आगामी साढे २ वर्षका लागि उनलाई प्रधानमन्त्रीमा समर्थन गर्ने र त्यसपछिको बाँकी कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने छ ।

Advertisement

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ गर्ने भएका छन् । उनी यसअघि २०६५ / २०७३ मा ९/९ महिना प्रधानमन्त्री बनेका थिए । एमाले नेतृत्वको नयाँ गठबन्धनसँग केन्द्रसहित सातवटै प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत देखिएको छ ।

तपाईको प्रतिक्रिया