पारिजात मसँग खूब रिसाउनुभयो

खगेन्द्र संग्रौला २०७९ पुष ११ गते १२:३९

पारिजात दिदीसँगको परिचयको मसँग सानो कथा छ । म तेह्रथुमको चुहानडाँडामा आइए पढ्थेँ । त्यो बेला पारिजात नामको कुनै पात्रले मदन पुरस्कार प्राप्त गरेकी थिइन् । मेरो क्याम्पस चिफ वामदेव पहाडी, ठूला लेखक तथा समीक्षक पारिजातको पुरस्कार प्राप्त कृतिबारे उहाँको टिप्पणी, मान्छे भनेको टोपी हो कि टाउको ?

Advertisement

आशय के भने, शंकर लामिछानेको भूमिकाको व्यापक आलोचना भयो, त्यो त टोपी हो । त्यसको चर्चा यसरी भयो मानौं टोपी पनि त्यै हो । टाउको पनि त्यै हो । २०२३ सालको बीचमा आइएको परीक्षा दिन काठमाडौं आएँ । काठमाडौं आएपछि पारिजातबारे अरु कुरा सुनियो ।

पछि, मैले बिएको जाँच दिएपछि, त्यो बेला राल्फा आन्दोलन चलिरहेको थियो । पारिजात दिदी राल्फाको नायिका हुनुहुन्थ्यो । पारिजातको नजिकको बिमल भन्ने मान्छे, उहाँले भन्नुहुन्थ्यो पारिजात तपाईंको रचना नियमित पढ्नुहुन्थ्यो । तपाईंलाई रुचाउनु हुन्छ, तपाईं राल्फामा किन नआउने ?

उहाँ मेरो दिदी हुनुहुन्थ्यो । मेरो साथी हुनुहुन्थ्यो र मेरो कमरेड पनि हुनुहुन्थ्यो ।

राल्फाको घोषणापत्र मकहाँ पु¥याउनुभो । त्यो घोषणापत्रको शीर्षक गजब थियो, ‘सेतो वन, नीलो जुन, आकाशका नुनिला निश्वासहरु ।’ केही बुझिन्थ्यो, केही बुझिँदैनथ्यो । त्यसपछि बिमलको पछि लागेर पारिजात दिदीकहाँ म पहिलो पटक पुगेँ ।

Advertisement

दुर्भाग्यवश बिमलको होइन, अरु कोही अरुको पछि लागेर । दुर्भाग्यवश पारिजात र बिमलको बीचमा प्रेम सम्बन्ध थियो । त्यही दिन वा त्यो दिनभन्दा अगाडि बिमलले पारिजातलाई धोका दिएका थिए ।

मलाई पारिजातको अगाडि पुर्‍याइयो । पारिजात दिदी एकदम उद्घिन हुुनुहुन्थ्यो । अत्यन्तै निराश हुनुहुनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो, ‘तपाईंलाई भेट्न पाएकोमा मलाई खुसी लाग्यो । फेरि आउनुहोला । मेरो पहिलो भेट त्यही हो ।’

पारिजात दिदीसँग मेरा केही रोचक र तीता संस्मरणहरु छन् । पहिला त मीठा संस्मरण नै सुनाउनु पर्ला । काठमाडौंको ल क्याम्पसमा साहित्य सन्ध्या भन्ने एउटा कार्यक्रम हुन्थ्यो । एक दिन त्यो कार्यक्रममा जानुअघि, म अलि ढिला पुगेँ । पारिजात दिदी हरिवंश राय बच्चनको मधुशाला क्यासेटमा सुनिरहनुभएको थियो ।

वहाँको वरिपरि मधुशालाका फ्यानहरु थिए । म जानेबित्तिकै दिदीले भन्नुभयो, ‘संग्रौलाजी आउनुभयो है । उहाँलाई यो मधुशाला मन पर्दैन । उहाँ त बडो शुद्ध मान्छे हो ।’ त्यो सुनेपछि मलाई के लाग्यो भने पारिजातको नजरमा म बाहुनजस्तै शुद्ध रहेछु जस्ले प्रेमगीत सुन्नु हुँदैन ।

प्रत्येक शुक्रबार पारिजात दिदीकोमा गुड फ्राइडे हुन्थ्यो । ललिजन रावल भन्ने एक जना गजलकार हुनुहुन्थ्यो । उहाँ सोल्टीमा काम गर्नुहुन्थ्यो । सोल्टीमा काम गर्दा त्यहाँ कहिलेकाहीँ दारु प्राप्त हुन्थ्यो, त्यो पनि स्कच रक्सी ।

कहिले आधा बोतल, कहिले एक पेग, कहिले एक क्वार्टर । हरेक शुक्रबार पारिजात दिदीको महफिलमा गुड फ्राइडे हुन्थ्यो र स्कच खाइन्थ्यो । संजोगले एक दिन स्कच चलिरहेको बेला म पुगेँ ।

पारिजात दिदीले भन्नुभयो, ‘ए, संग्रौलाजी आउनुभो, गिलास लुकाऊ । उहाँ त बडो चोखो माक्र्सवादी हुनुहुन्छ ।’ मलाई के लाग्यो भने पारिजात दिदीको नजरमा म विशुद्ध टुप्पी, जनै पालेको, दारु छुँदा जात जाने ।

पछि मैले पनि एउटा अभिनय गरेँ । खुकुरी रम एक बोतल बोकेर म दिदीकोमा गएँ । त्यो देखेपछि पारिजात दिदी जिल पनुभयो ।
संग्रौला के गरेको यो ?
उपहार टक्र्याउन ल्याएको ।
आफू त खाने होइन के रे ?

अनि मैले दिदीकै अगाडि बोतल खोलेँ । दुइटा गिलास ल्याएँ । अनि उहाँसँगै मैले मदिराको मोर्चा खोलेँ । त्यसपछि दिदीलाई के विश्वास भयो भने बाहुन त बाहुन हो, धेरै शुद्धचाहिँ रहेनछ ।

पारिजात दिदी त कुजिँनुभएको थियो । साहित्य सन्ध्या वा कुनै कार्यक्रममा लैजाँदा स्नेह सायमी अथवा मुरारी अर्याल वा कसैको मोटरसाइकल वा ट्याक्सीमा लगिन्थ्यो । मेरो त्यो बेलामा जापानी होन्डा थियो, त्यो पनि फेन्सी टाइपको । म गोराहरुलाई नेपाली भाषा दान गर्थें । तिनले भनेको बेला तिनको घरमा जानुपर्ने भएको हुनाले मैलो जापानी होन्डा किनेको थिएँ ।

दिदीले गुनासो गर्नुभएछ । संग्रौलाको त्यस्तो राम्रो होन्डा छ । त्यसले कार्यक्रममा जाँदा वा आउँदा मलाई त कहिले चढाएन । पारिजात दिदीको जीवन यति मूल्यवान छ । मैले कतै जाँदा वा आउँदा मैले मोटरसाइलमा राख्दा कदाचित दुर्घटना भयो भने मलाई ठूलो अबगाल पर्नेछ ।

त्यसैले पारिजात दिदीलाई मोटरसाइकलमा बोक्न मलाई कहिल्यै पनि आँट आएन । पछि, ल क्याम्पसको बाहिरपट्टि कसैले उहाँलाई पुर्‍याउँथ्यो । ल क्याम्पसको तलामाथि प्रतिभा प्रवाह भन्ने कार्यक्रम हुन्थ्यो महिनैपिच्छे । पारिजात दिदीलाई बोकेर तलबाट माथि लैजानु पथ्र्यो ।

एक दिन मैले नै काँध थापेँ । दिदी, तपाईंलाई बोक्न मलाई अनुमति चाहियो । दिदीलाई बोकेर माथि लगेँ। अनि भनेँ, यो क्षतिपूर्ति हो । मैले तपाईंलाई मोटरसाइकलमा त बोक्न सकिनँ । त्रास थियो, डर थियो । त्यसको क्षतिपूर्ति हो यो ।

त्यसपछि हरेक कार्यक्रममा बाहिर आएपछि संग्रौलाजी क्षतिपूर्ति त बाँकी छ नि ? अनि मेरो काम उहाँलाई बोकेर माथि लैजाने भयो । हामीले वामपन्थी साहित्य र चिन्तनलाई प्रवर्धन गर्न भनेर स्रष्टा प्रकाशन खोल्यौं । स्रष्टा प्रकाशनअन्तर्गत कृष्णमणि पुरस्कार राख्नुभएको थियो । पारिजात दिदीले उपन्यास लेख्न थाल्नुभयो ।

लेख्न थालेपछि ढोका बन्द गरेर चुकुल लाएर बस्ने उहाँकै बानी थियो । अनि लेखिएको चिज प्रकाशित हुनुअघि कसैलाई पनि नदेखाउने । सप्र्राइज दिने भन्नुहुन्थ्यो । हामीलाई के लाग्यो भने पारिजात दिदीको उपन्यास त हामीले छाप्ने हो । किनभने हाम्रो उद्देश्य वामन्थी साहित्य र सिर्जना प्रवर्धन गर्ने हो । पारिजात दिदी त हाम्रो सम्पत्ति हो ।

हामीले बुक गर्यौं । पारिजात दिदीको उपन्यास हाम्रो हातमा पर्‍यो । अध्यक्ष थिएँ । साहित्यसम्बन्धी हाम्रा केही मानकहरु थिए । ती मानक त्यो बेला अलि कडै थिए भन्ने लाग्छ । हाम्रा शुद्धताका केही आग्रह थिए ।
प्रगतिशील के हो ? प्रगतिशील के होइन ?

पुस्तक पढेपछि मैले र मुरारी अर्यालले .. पारिजात दिदीको जुन प्रवृत्तिसँग हामी सहमत थियौं । त्यो उपन्यासमा पारिजात दिदीको त्यो प्रवृत्तिभन्दा फरक चिज थियो । हामीलाई के लाग्यो भने हाम्रो प्रकाशनको मापदण्ड अनुसार छैन ।

पारिजातसँग त हामीले नै अतिरिक्त अनुरोध गरेर पुस्तक मागेको हो । हामीलाई संकट भयो । अब त्यो टार्ने कसरी ? म त स्रष्टा प्रकाशनको अध्यक्ष । मलाई धेरै अप्ठ्यारो भयो । मैले कसैको हातमा सानो चिठी लेखेर त्यो पाण्डुलिपी फर्काएँ ।

यो यो कारणले तपाईंको पुस्तकसँग हामी सहमत हुन सकेनौं । माफ गर्नुहोला दिदी दुर्भाग्यवश हामी यो छाप्न सक्दैनौं । पारिजात दिदी खूब रिसाउनुभयो । पारिजात दिदी आफ्नो सिर्जनमाथि, चिन्तन र व्यक्तित्वमाथि भएका टिप्पणी र समीक्षालाई त्यति सहज किसिमले पचाउने मान्छे होइन ।

हामी सबै त्यस्तै होला, सबैलाई मन पर्ने त प्रशंसै हो । टिप्पणी, समीक्षा, आलोचना प्रायः मन पर्दैन । पारिजातमा टिप्पणीप्रति, आलोचनाप्रति सहिष्णुता थिएन । दिदीसँग बोलचाल नै बन्द त भएन तर केही समय सम्बन्ध अत्यन्तै तिक्त भयो ।

यस्ता अरु पनि सन्दर्भ पनि छन्, जसमा पारिजात दिदीसँग मतान्तर र तिक्तता भएका छन् । सँगै काम गरेपछि ती जब व्यक्त भयो केही समय दूरी पनि बढ्यो । आइजाइ पनि कम भयो । तथापि त्यो मतान्तर र दूरीको आयु सधैं लामो रहेन । केही समय बितेपछि हाम्रा सम्बन्ध पुनस्र्थापित भए । सहकार्य पुनः प्रारम्भ भयो ।

म जुन बेला प्रगतिवादमा प्रवेश गरेँ, त्यो बेलाका धुरन्धर प्रगतिवादीमा स्खलन आएको थियो । ताना शर्मा विचलित भइरहेका थिए । कृष्णचन्द्रसिंहको बाटो फरक भएको थियो । डिपी अधिकारी लगभग राजावादीजस्ता भएका थिए । त्यो वैचारिक संकटको बेलामा नेपालको वामपन्थी प्रगतिशील साहित्यको पारिजातबाटै भएको थियो, प्रत्यक्ष रुपमा वा अप्रत्यक्ष रुपमा ।

वैचारिक दृष्टिकोणबाट, सिर्जनाको दृष्टिकोणबाट, अभिनयको दृष्टिकोणबाट र नयाँ पुस्तालाई प्रशिक्षण दिने कोणबाट पारिजात दिदी आफ्नो समयको नायिका हुनुहुन्थ्यो । उहाँ मेरो दिदी हुनुहुन्थ्यो । मेरो साथी हुनुहुन्थ्यो र मेरो कमरेड पनि हुनुहुन्थ्यो ।

उहाँको विचारप्रतिको निष्ठा, जिद्दीको हदसम्मको जुन दृढता थियो, मैले त्यसबाट धेरै सिकेको छु । म जिद्दीवाल मान्छे हो, मलाई छुचो मान्छे भन्छन् । कुनै कुरा मलाई लागेपछि त्यसमा के के जोखिम होला म त्यो कहिले पनि सोच्दिनँ ।

आफ्नो निष्ठाको निम्ति लड्ने हो । तपाईं न्यायको पक्षमा, सत्यको पक्षमा उभिनुहुन्छ भने आलोचित हुनमात्र होइन, निन्दित हुन पनि तयार हुनुपर्छ । पारिजात दिदी तयार हुनुहुन्थ्यो । मैले उहाँबाट धेरै सिकेको छु ।

तपाईको प्रतिक्रिया