जनगणनाको नतिजा तत्काल नआउने

काठमाडौं ।
राष्ट्रिय तथ्यांक कार्यालयले यसै साता सार्वजनिक गर्न लागेको राष्ट्रिय जनगणना २०७८ को नतिजा तत्काललाई पछाडि धकेलिएको छ । कार्यालयका महानिर्देशक नेबिनलाल श्रेष्ठले प्रधानमन्त्री फेरिएसँगै पुस १३ गते तय गरेको सार्वजनिक गर्ने कार्यक्रम तत्कालका निम्ति रद्द भएको जनाए ।
जनगणनाको तथ्यांकमा जातजाति, भाषा र धर्मबारे यकिन हुन बाँकी छ । ‘नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएकाले अहिलेका निम्ति राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूको समय समय लिएर चाँडै सार्वजनिक गर्नेछौं ।’
श्रेष्ठले तत्काल सार्वजनिक गर्ने तयारी गरिएको जनगणना नतिजामा जातजाति, भाषा र धर्मको संख्या सार्वजनिक नहुने सुनाए । ‘राष्ट्रिय तथ्यांक कार्यालय कुनै पनि जातजाति निर्धारण गर्ने निकाय होइन, जनगणनाको लगतमा जसरी जातजाति भरेका छन्, त्यसलाई सैद्धान्तिक रूपमा सार्वजनिक गर्नेमात्र हो,’ महानिर्देशक श्रेष्ठले भने, ‘यसअघिकै संरचनाअनुसार राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्यांक विभागले जनगणना कार्यसम्पन्न गरेको हो ।
आयोगका सचिवज्यू संयोजक रहनुभएको समितिले जातजाति, भाषा, धर्मको विषयमा अध्ययन गरी अन्तिम टुंगामा पुग्ने हो । विभिन्न आयोग र विज्ञसँग परामर्श गर्न बाँकी रहेकाले तत्काल नतिजामा त्यो समेटिने छैन ।’
तथ्यांक कार्यालयले मुस्लिम आयोग, थारु आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, आदिवासी जनजाति आयोग, महिला आयोग, दलित आयोग र अन्य सरोकार निकायसँग परामर्श गर्न बाँकी रहेको जनाएको छ ।
‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित २०७८ कात्तिक २५ देखि मंसिर ९ गते सम्पन्न जनगणनामा ८० भन्दा बढी प्रश्नावली सोधिएका थिए । ‘घर तथा घरपरिवार सूचीकरण प्रश्नावली’, ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ ३ किसिमका प्रश्न सोधिएका छन् ।
तपाईको प्रतिक्रिया