सम्पादकीय: कांग्रेसको हठले नयाँ परिस्थिति

समाधान संवाददाता २०७९ पुष १३ गते १२:०४

आम निर्वाचनमा बहुमतको नजिक पुगेका नेपाली कांग्रेसको नेतृत्वका पाँच दलीय गठबन्धनले सरकार गठनको लागि प्राथमिकता पाउनुपर्ने थियो । गत महिना भएको निर्वाचनबाट संसद्को सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले गठबन्धन दललाई प्रमुख पद नदिने आफ्नै अडानका कारण सत्ताबाट बाहिरिनु परेको छ ।

Advertisement

प्रधानमन्त्री, राष्ट्रपति लगायतको पद बाँडफाँडमा कुरा नमिल्दा बिच्किएको नेकपा (माओवादी केन्द्र)ले नाटकीय ढंगले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग गठबन्धन गरेर सरकारको नेतृत्व गर्न पुगेको छ ।

काँग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद नछोड्ने अडान लिएको कारण माओवादी केन्द्र उछिट्टिएर एमालेको कित्तामा पुगेको छ । माओवादी केन्द्रले आम निर्वाचनमा सरकार गठनको म्यान्डेट नपाएको तथा सरकार बनाउने काम प्राथमिकता नभएको भन्दै आएको एमालेको साथ पाएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनले २ सय ७५ सदस्य हुने प्रतिनिधि सभामा १ सय ३६ सिट जितेको थियो । नयाँ सरकार बनाउनको लागि बहुमत पुर्‍याउन २ सिट पुग्ने थिएन । राजनीतिक रुपमा अहिलेको निर्वाचनमा सत्ता गठबन्धन जनताबाट अनुमोदित भएन । यद्यपि सोही गठबन्धनले नै सरकार गठनका लागि प्राथमिकता पाउनुपर्ने हो ।

प्रतिनिधिसभामा एमालेको ७८, राप्रपाको १४ र जसपाको १२ सिट छ । बहुमत १ सय ३८ पु¥याउन थप ३४ सिट चाहिन्छ । किनभने प्रतिपक्षी दलहरूले बनाएको गठबन्धनले यो भन्दा कम सिट पाएको छ ।

Advertisement

प्रतिनिधि सभामा जितेको संख्याको आधारमा फेरि पनि सरकार बनाउन अहिलेको सत्ताधारी शक्ति नै सहज अवस्थामा थियो । तर पछिल्लो क्रममा कांग्रेसकै कारण त्यस्तो वातावरण बनेन । माओवादी केन्द्रलाई राष्ट्रपति या प्रधानमन्त्री दिने सन्दर्भमा नेपाली कांग्रेसले संस्थागत निर्णय गरेको भए बढी व्यवहारिक र प्रजातान्त्रिक हुने थियो ।

सभापति देउवाको व्यक्तिगत हठ र स्वार्थले अहिलेको परिस्थिति बनेको कतिपय कांग्रेस जनको विश्लेषण छ । कांग्रेसले सामूहिक र संस्थागत निर्णय गर्नका लागि ध्यान नदिए अहिलेको जस्तो नियति फेरी पनि व्यहोर्न पर्छ । त्यसैले पार्टीको नेतृत्वले पार्टी पदाधिकारी तथा केन्द्रीय समिति बैठक बसेर आवश्यक निर्णय गर्नु पर्छ ।

भने त्यस्तो निर्णय समयमै गर्न नसक्नु कांग्रेसको कमजोरी हो । गठबन्धनदललाई एकाकार बनाउन ख्याल नगरेको कांग्रेस नेतृत्वले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन ध्यान दिएको भएता पनि त्यसलाई केही हदसम्म जायज मान्न सकिन्थ्यो ।

प्रतिनिधि सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले गठबन्धन बाहेकका अन्य पार्टीलाई पनि विश्वासमा लिएर वातावरण बनाउन सक्थ्यो । चौथो ठूलो दलसँग समेत सम्बाद गरेर गठबन्धनलाई थप बलियो बनाउन कांग्रेसले ध्यान पुर्‍याएन । अन्यदलसँग बसेर कुराकानी गरेको भए पनि परिस्थिति अर्कै बन्न सक्ने आंकलन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया