निर्वाचनको जनादेशः अपरिहार्य गठबन्धन संस्कृति

निर्वाचन–२०७९ बाट प्रतिनिधि सभा र प्रदेश सभामा आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छन् । निर्वाचन परिणामप्रति एकाध बाहेक राजनीतिक दल सन्तुष्ट देखिँदैनन् । तर, दलहरूका दाबी र जनआकांक्षाबीचको बढ्दो खाडल हेर्दा परिणाम अनपेक्षित लाग्दैन । यो खाडल बुझ्न निर्वाचन परिणाममा निहित संकेत पर्याप्त छन् ।
राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उभार, राष्ट्रिय स्वतन्त्र पार्टीको हस्तक्षेपकारी उदय र राष्ट्रिय प्रजातन्त्र पार्टीको पुनरागमन यो निर्वाचनका रोचक र समीक्षा गरिनुपर्ने पक्ष हुन् जसले भविष्यको राजनीतिक स्वरूपसम्मको केही संकेत गर्छन् । यस्तोमा विद्यमान राजनीतिक प्रणालीका हिमायती र आफूलाई मूलधारका ठान्ने दलहरूले आफ्नो सान्दर्भिकता जोगाउने विकल्प कठोर आत्मसमीक्षा, आन्तरिक लोकतन्त्रको अभ्यास, नेतृत्व हस्तान्तरणको द्रुतमार्ग निर्माण र संगठनको सुदृढीकरण हो ।
राजनीतिक चरित्रको गठबन्धन संस्कृति अबको एक मात्र विकल्प भए पनि दलहरूका गतिविधिले त्यस्तो सुधारलाई निषेध गर्ने देखिन्छ ।
अभिमत निर्माण र न्यून मतदान
एक अमुक मतदाता अन्य मतदातासँग कसरी जोडिन्छ र अन्तर्सम्बाद गर्छ भन्ने कुराले कसलाई र किन मतदान गर्ने भन्ने धारणा निर्माण गरिदिन्छ । जब संगठनमा आधारित दलहरू जनतामा आधारित बन्दै जान्छन् तब तिनका नेताको भनाइभन्दा पनि दैनिक जीवनमा उनीहरूप्रति कस्ता संकथन निर्माण भइरहेछन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
खास दल वा उम्मेदवारबारे मतदाताका स्मृतिहरू निर्वाचनमा निकै असरदार हुने रहेछन् । हिजो कांग्रेस भएकै कारण पारिवारिक पीडा खेपेकाहरूले आज गठबन्धन भन्दैमा माओवादीलाई भोट हालेनन् । बरु प्रतिनिधित्वको विकल्प रोजे ।
दल र उम्मेद्वारका समकालीन गतिविधि र तिनले देखाउने सपना अर्को महत्वपूर्ण पक्ष हो । दल वा उम्मेदवारको इतिहास, वर्तमान र भविष्यको कथा कसरी भनिएको वा बुझिएको छ, त्यसले पनि भोट दिने÷नदिने कुरा निर्धारण गर्दो रहेछ ।
यस निर्वाचनमा दलका आन्तरिक विवाद, वैचारिक विचलन र सैद्धान्तिक सीमाभञ्जन जस्ता विषयले पनि मतदानमा प्रभाव पारेको देखियो । निर्वाचन आयोगको अनुमान र स्थानीय चुनावको दाँजोमा कम मतदान हुनुमा पनि यस्तै कारण निहित छन् । यसबाहेक मतदानका लागि योग्य बनेका, १८ देखि २२ वर्ष उमेर समूहका उल्लेख्य व्यक्ति मतदाता नामावलीमा सूचीकृत नै छैनन् ।
अर्को कुरा, स्थानीय निर्वाचनको दाँजोमा कमै मात्र मतदाता गाउँ फर्किए । रोजगारी र अध्ययनका लागि विदेशिनेको संख्या पनि उल्लेख्य रह्यो। साथै, निर्वाचन आयोगको प्रक्षेपणभन्दा पाँच गुणा बढी मत बदर ठहरियो । कम मतदानको सीधा अर्थ हो, निर्वाचितहरूले सीमित जनताको मात्र प्रतिनिधित्व गर्न सक्नु ।
सुखद परिदृश्य एउटै अवस्थामा मात्र सम्भव छ– निश्चित र साझा मान्यतामा आधारित गठबन्धनको संस्कृति र स्थायी सरकार ।
सम्भावित परिदृश्य
सरकारमा साझेदार दलहरूले चुनावी गठबन्धनलाई निरन्तरता दिने भन्दै आए पनि गठबन्धन पुनर्गठनको सम्भावना समेत उत्तिकै छ। सम्भावित सत्ता साझेदारका अनेक भनाइले नै यस्तो संकेत गरिरहेछन् ।
पछिल्लो निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ दलसामु आफूलाई व्यवस्थित राजनीतिक दलका रूपमा विकास र वैचारिक धरातल निक्र्योल गर्ने चुनौती छ । यससँगै पुराना दलभित्र आन्तरिक शुद्धीकरणका बहस हुनेछन् । यद्यपि, सकारात्मक परिणाम अपेक्षा गर्नु अलिक हतारो हुनेछ ।
पाँच वर्षभित्र सम्भवतः अधिकांश दल सरकारमा सहभागी हुनेछन् र आफूलाई असफल प्रमाणित गर्नेछन् । सबै दलका घोषणापत्र वस्तुगत नभई आदर्शबाट प्रेरित देखिन्छन् । तसर्थ, ती असफल हुन अभिशप्त हुनेछन् । निर्वाचितहरूले गरेका प्रतिबद्धता पूरा गर्न झन् धेरै संरचनागत अप्ठ्यारा पार गर्नुपर्ने देखिन्छ ।
संसदमा धेरै दल उपस्थित हुँदा आपसी वैरभावका कारण राष्ट्रिय महत्वका सवालमा एकजुट हुन गाह्रो पर्नेछ । कर्मचारीतन्त्र झनै ‘हावी’ हुनेछ। फलस्वरूप अपेक्षित कार्यसम्पादन र सेवा प्रवाहमा जटिलता थपिनेछन् ।
सुखद परिदृश्य एउटै अवस्थामा मात्र सम्भव छ– निश्चित र साझा मान्यतामा आधारित गठबन्धनको संस्कृति र स्थायी सरकार। यस्तो संस्कृतिले भविष्यमा समेत पुराना दलप्रतिको आकर्षण ब्युँताउन सक्छ ।
प्रतिनिधित्वको संकट
निर्वाचनमा देखिएको प्रतिनिधित्व गर्ने र गरिनेको बीचको खाडलले इङ्गित गर्छ कि दलहरूमा प्रतिनिधित्वको संकट छ । दलहरू कसका प्रतिनिधि हुन् भन्ने अस्पष्टता बढ्दो छ । जस्तै– नेकपा एमाले देखिने नै गरी वर्गीय धरातल स्थानान्तरणमा लागेको छ ।
पाँचतारे होटलमा घोषणापत्र विमोचन, कार्यक्रममा अभिजात वर्गीय ‘सेलेब्रिटी’ हरूको उपस्थिति, लर्ड अफ ड्रिंक्स जस्तो नाइट क्लबमा पार्टी अध्यक्षद्वारा ¥याप गीतको लोकार्पण, कमल थापालाई सूर्य चिह्न र राजेन्द्र लिङ्देनसँग सहकार्य आदि केही उदाहरण हुन् ।
एमालेको अहिलेको परिदृश्य हो– मानिसका स्मृतिमा एउटा चित्र, वर्तमानमा त्यसभन्दा भिन्न गतिविधि र आकारविहीन भविष्य । पुरानो वर्गीय धरातल छुटिसकेको वा छोड्न चाहेको, नयाँ वर्गले स्विकारिनसकेको अर्थात् यता न उताको स्थितिमा देखिन्छ एमाले ।
माओवादीले पनि हिजो आफूले गर्व गर्ने इतिहासप्रतिको दायित्व र साख जोगाउन सकेको छैन । उसले अझै संसदीय प्रणालीमा पूर्ण विश्वास आर्जन गर्न सकेको देखिँदैन । उसले न हिजोका खरा र प्रामाणिक कार्यकर्ता क्रमशः टाढिँदै जाने क्रम रोक्न सकेको छ न त नयाँ समूहलाई प्रतिनिधित्व गर्ने सामथ्र्य बनाएको छ ।
अहिलेका सबै दल प्रतिनिधित्वको सङ्कटमा छन् । उनीहरू कसलाई र किन प्रतिनिधित्व गर्न चाहन्छन् भन्ने स्पष्ट सैद्धान्तिक जवाफ छैन । निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल नेपाली कांग्रेसको संकट मूलतः आन्तरिक छ । आग्रह गर्ने तर विद्रोह गर्न नसक्ने नयाँ पुस्ता र अपेक्षा गर्ने तर विश्वास आर्जन गर्न नसक्ने पुरानो पुस्ताको मनोदशाबाट पार नपाउँदासम्म उसलाई सबैभन्दा ठूलो दलको हैसियत कायम राखिरहन मुश्किल पर्नेछ ।
यद्यपि, वर्गीय र वैचारिक प्रतिनिधित्वको सवालमा कांग्रेस खासै संकटमा देखिँदैन । तर, सत्ताप्राप्तिका लागि जस्तोसुकै गठबन्धन र निर्णयका लागि तयार हुने चरित्रले उसको राजनीतिक चतुर्याइँभन्दा निरीहता प्रदर्शन गर्छ ।
पुराना ‘मधेशवादी’ दलहरूले मधेशका मुद्दा र आवेगलाई प्रतिनिधित्व गर्न नसक्दा जनमत पार्टी राष्ट्रिय दलका रूपमा उदायो। यस क्रममा महन्थ ठाकुर, उपेन्द्र यादव जस्ता ‘सिजन्ड’ राजनीतिज्ञले चुनाव त हारे नै, तिनले नेतृत्व गरेका दलले अपेक्षित सफलता पनि पाउन सकेनन् । नागरिक उन्मुक्ति पार्टी पनि विद्यमान दलहरूमा रहेको प्रतिनिधित्वको संकटबाटै उदाएको हो ।
हालका राजनीतिक उपलब्धिलाई अस्वीकार गर्दै आएको राप्रपा राजतन्त्र, हिन्दू धर्मसापेक्ष र एकात्मक राज्य व्यवस्था चाहन्छ । यिनै अजेन्डाको निरन्तरता नै उसको सीमितता हो । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दलको स्वरूप ग्रहण गर्नुअघि नै हस्तक्षेपकारी भूमिका पाएको छ । सत्तामोहमा फस्ने सम्भावना तथा अभियन्ताको जोश र व्यावहारिक राजनीति एवं संसदीय पद्धतिबीचको खाडल बुझ्न आलटाल गरे उनीहरू छिट्टै संकटग्रस्त बन्नेछन् ।
पार्टीलाई वैचारिक, सैद्धान्तिक धरातलसँगै कस्तो प्रतिनिधित्व चाहेको हो भन्ने स्पष्ट पार्नुपर्ने चुनौती पनि छ । अन्यथा, अहिलेको शानदार उपस्थिति काकताली सावित हुनेछ ।
अहिलेका सबै दल प्रतिनिधित्वको संकटमा छन् । उनीहरू कसलाई र किन प्रतिनिधित्व गर्न चाहन्छन् भन्ने स्पष्ट सैद्धान्तिक जवाफ छैन । यस्तो प्रतिनिधित्वको संकट फरक स्वरूपमा देखा पर्ला, तर केही अवधिसम्म निरन्तर रहने सम्भावना छ ।
अबको बाटो
प्रतिनिधित्व संकटकोे वर्तमान अवस्थामा केही व्यक्तिले वकालत गरे जस्तो दुई दलीय व्यवस्था सम्भव देखिन्न । दुई वा सीमित राष्ट्रिय दलको परिकल्पना त्यति वेला मात्र सम्भव हुन्छ जब दलहरू सहभागितामूलक, पूर्ण समावेशी, लोकतान्त्रिक, पारदर्शी, कार्यकुशल बन्दै जनताका आवश्यकता, पहिचान र आवेग बुझ्ने सामथ्र्य राख्छन् । सैद्धान्तिक एवं व्यावहारिक रूपमै तिनको प्रतिनिधित्व गर्न सक्छन् ।
संगठन निर्माण प्रक्रिया, लोकतन्त्रप्रतिको अल्पनिष्ठा, नेतृत्वको अलोकतान्त्रिक र परम्परावादी सोच र वैचारिक दिवालीयापनको वर्तमान परिदृश्यमा दलहरू देशका विविध पहिचान, क्षेत्रीय आयाम, आवेग, मुद्दा र सपनाको प्रतिनिधित्व गर्न समर्थ देखिँदैनन् । तसर्थ, दुई वा सीमित दल मात्रको परिकल्पना यथार्थमा आधारित छैन ।
गठबन्धनलाई सत्ता आसक्तिबाट बढेर राजनीतिक संस्कृति निर्माण र विकासमा उपयोग गर्नुकोे विकल्प हाललाई उपलब्ध छैन । विडम्बना, दलहरूकै गतिविधिले त्यस्तो अपेक्षित सुधारलाई निषेध गर्ने देखिन्छ । दलहरूमा हुने सत्ताको छटपटी तर अस्तव्यस्त पार्टी पंक्ति र वैचारिक असहमतिप्रति चरम असहिष्णु प्रवृत्ति निरन्तर रहँदासम्म उनीहरू झनै साँघुरिनेछन् । यो सबै दलको हकमा उत्तिकै सत्य हो ।
यद्यपि, सुध्रिन र सुदृढ हुने अधिकतम अवसर, सम्भावना र सुविधा नेपाली कांग्रेस र नेकपा (एमाले)लाई जति अरूलाई छैन । उनीहरूप्रतिको हालको वितृष्णा वा नेताप्रतिको असन्तुष्टि र आक्रोश न उनीहरूले अवलम्बन गर्छौं भनेको विचारप्रतिको अविश्वास हो न त हालको राजनीतिक उपलब्धिप्रतिको असन्तुष्टि । आगामी पाँच वर्षका लागि राजनीतिक चरित्रको गठबन्धन संस्कृतिको अवलम्बन नै एक मात्र विकल्प हाे।
ढकाल मानवशास्त्री हुन्
तपाईको प्रतिक्रिया