४० सडक बालकको संरक्षण

पोखरा ।
बाल हितकारी परियोजना (सिडब्लुएसएन)नेपालले ४० सडक बालकलाई अस्थायी संरक्षण सेवा प्रदान गरेको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्बाट सूचीकृत भएको अस्थायी संरक्षण केन्द्रमार्फत ती बालकलाई अस्थायी संरक्षण तथा सामाजिकीकरण सेवा प्रदान गरेको संस्थाका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए ।
संस्थाको सामाजिक परिक्षण कार्यक्रममा अध्यक्ष पहारीले विक्रम संवत २०६१ सालदेखि सडक बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका अधिकार सुनिश्चितता तथा उनीहरुको सामाजिक पुनस्र्थापनाका लागि ज्योति संरक्षण तथा विकास कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
पोखरा १५ सहरी स्वास्थ्य केन्द्र( आशा क्लिनिक) स्थित भवनबाट सडक बालकलाई अस्थायी संरक्षण तथा सामाजिकीकरण सेवा दिएको हो ।
‘सडकमा आश्रित र परिवारबाट उचित संरक्षण नपाएका बालकलाई आवासीय सेवा प्रदान गर्दै आएको संस्थामार्फत ४६ परिवारका ८४ बालबालिकाले पारिवारिक सहयोग कार्यक्रम मार्फत सहयोग पाएका छन्,’ अध्यक्ष पहारीले भने, ‘अस्थायी संरक्षण सेवा तथा पारिवारिक पुनर्मिलन तथा पुनस्थापना कार्यक्रम अन्तर्गत १ सय २ बाल बालिकाले विद्यालय सहयोग कार्यक्रममा समेटिएका छन् ।’
उनले सन २००४ देखि अहिलेसम्म ३ हजार बाल बालिकाले संस्थाले प्रदान गर्ने विभिन्न खालका सहयोग पाएको जानकारी दिए । संस्थाका कार्यकारी निर्देशक ठाकुरप्रसाद चापागाईले राष्ट्रिय बाल अधिकार परिषद्को बाल बालिका उद्दार तथा व्यवस्थापन मार्गनिर्देशिका २०७२ अनुसार आश्रित बालकलाई सबै सेवा प्रदान गरेको बताए ।
उनले सडक बालकको बाबु आमाको यकिन नहुँदा जन्मदर्ता लगायतका समस्या पर्ने भएकाले संस्थाले कानुनी पहिचानका लागि सहयोग गर्ने उल्लेख गरे ।
उनका अनुसार संस्थाले विक्रम संवत २०६२ सालदेखि सडक श्रमिक, तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरी बाल विकास योजना कार्यक्रम चलाएको छ । सबै प्रकृतिका बालबालिकालाई बचत गर्ने बानीको विकास गर्न कार्यक्रम गरिएको उनले उल्लेख गरे ।
संस्थाले ज्योति संरक्षण तथा विकास कार्यक्रमको लागि चालु आर्थिक वर्षका लागि ९० लाख ४२ हजार ४ सय ६ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले सामाजिक संघ संस्थाले बालबालिका, महिला, अपांग लगायत लक्षित समूहको शिक्षा स्वास्थ्यको अलवा मानवीय विकासको क्षेत्रमा काम गरेको बताए । उनले वडा कार्यक्रममा १३ सामाजिक संघ संस्थाले सूचीकृत भएर काम गरेको जानकारी दिए ।
पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले बाल हितकारी परियोजना सडक बाल बालिकाको संरक्षण र पुनस्थापनाका लागि राष्ट्रिय बाल अधिकार परिषद्बाट सूचिकृत गरेर काम गर्ने एकमात्र संस्था भएको जानकारी दिइन् ।
उनले बाल मैत्री पोखरा महानगर घोषणा गर्ने प्रतिवद्धता पूरा गर्न नसकेको अवस्थामा श्रमिक र सडक बालिका मुक्त बनाउने सबभन्दा कठिन सूचकलाई कार्यान्वयन गर्न संस्था सहयोगी भएको उल्लेख गरिन् ।
पत्रकार श्याम कुँवरले सहजीकरण गरेको कार्यक्रममा पोखरा महानगर बाल संरक्षण समितिका सदस्य तथा पोखरा १५ का सदस्य तारा सेवा परियार, गैसस महासंघ कास्की अध्यक्ष बुद्धिबहादुर थापा, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्य, लक्ष्मी आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराई, दातृ संस्था किडासाका वित्त व्यवस्थापक वसन्त पराजुली, राष्ट्रिय अपांग महासंघ नेपालका संघीय सदस्य विष्णुप्रसाद सिग्देल, सिविन पोखराका प्रतिनिधि कृष्णा गुरुङ, बालमञ्च पोखरा ९ का अध्यक्ष मौसमी कंडेल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया